हातहातमा मोबाइलले बालविवाह बढायो

नेपालगञ्ज – १५ वर्षकी बालिकाको १३ वषीय बालकसँग फेसबुकमा चिनजान भयो। चार महिनासम्म उनीहरुले फेसबुकमा खुब कुरा गरे। गहिरो माया बस्यो।

उनीहरुको फेसबुके मायाप्रीतिबारे घरका मान्छेले थाहा पाए। एक दिन बालकलाई अभिभावकले सामान्य कुटे। बालकलाई कुटेको कुरा बालिकाले थाहा पाइन्।

कक्षा ९ मा पढ्ने बालिका र ७ कक्षामा पढ्ने बालकले ‘भागेर विवाह गर्ने निष्कर्ष’ मा पुगे। केटापक्ष आर्थिक रुपमा अलि बलियो रहेकाले भागी विवाहमा केटीले बढी चासो देखाइन्। अभिभावकबाट कुटिएका बालक त्यसै आवेगमा थिए।

एक दिन तीन जोर कपडा र दुई हजार रुपैयाँ लिएर बालिका घरबाट निस्किइन्। बालक लगाएको एक जोर कपडामै निस्किए। दुवै जना भारत जान नाकातिर अघि बढे। मानव बेचबिखन तथा ओसारपसारको प्रमुख नाका बनेको नेपालगञ्जमा बालबालिका, किशोरी तथा महिलालाई अलि बढी निगरानी गरिन्छ।

बालिका निगरानीमा परिन्। सोधपुछ गर्दा वास्तविकता खुल्यो। दुवै जना भागी विवाह गरेर भारत जान थालेका थिए। केटाका केही आफन्त भारतको गुजरातमा काम गर्ने भएकाले त्यही जाने उनीहरुको योजना थियो।

उनीहरुलाई फर्काइयो। अभिभावकलाई बोलाएर जिम्मा लगाइयो।

खजुराकी १५ वर्षकी बालिका दश कक्षामा पढ्थिन्। उनी बाल क्लवमा सक्रिय थिइन्। नौ कक्षामा पढ्ने १४ वर्षका बालकसँग उनको गहिरो प्रेम बस्यो। सोसलमिडियाले उनीहरुको माया प्रेम जुराउन ठूलो भूमिका खेल्यो।

उनीहरुले भागी विवाह गरे। बालविवाह गर्नु हुँदैन, त्यसका चुनौती र असरका बारेमा जानेकी बालिका नै प्रेममा परेर सबै कुरा बिर्सिइन्। कुरा बाल कल्याण समिति हुँदै प्रहरीसम्म पुग्यो। उनीहरुलाई आफन्तको जिम्मा लगाउने कुरा साह्रै गाह्रो भयो।

बाल क्लव हुँदै किशोरी क्लव सञ्जालको नेतृत्व तहमा पुगेकी १८ वर्षकी किशोरीले प्रेम विवाह गरिन्। उनलाई बालविवाहका असर, चुनौतीलगायतका सबै कुरा थाहा थिए। भनौ, उनले अरुलाई पढाउदै हिँड्थिन्।

बालबालिकाको हातहातमा मोबाइल र फेसबुकले गर्दा बाँकेमा बालविवाह बढेको छ। बालविवाहविरुद्धका अभियान्ताहरुले पनि यसमा चुकेका छन्। बाल क्लव कि लभ क्लव भन्ने अवस्था आएको छ। बाल क्लवमा बस्ने, साथीहरु बढाउने, फेसबुकमा हिमचिम हुने र आफू को हुँ भन्ने बिर्सिने क्रम बढेको छ। बाल क्लवमा लागेका कतिपय अगुवाहरु पनि बाल विवाह या उमेर नपुग्दै मायाप्रिती गाँस्ने र उमेर पुग्ने क्रममा विवाह गरेका उदाहरण छन्।

बालबालिकाका क्षेत्रमा काम गर्ने सरकारी तथा संघ संस्थाका प्रतिनिधिहरु सोसलमिडियाको नकारात्मक असर र बाल अधिकारका कुरा गर्नेहरु आफैले बालविवाह गर्ने कार्यप्रति चिन्तित भएका छन्।

बाँकेमा दुई प्रकारले बालविवाह हुने गरेका छन् । एउटा सोसलमिडियाबाट माया प्रेम गर्ने र अर्को चाहि परम्पराका नाममा अभिभावकले नै विवाह गरिदिने । जसरी भएपनि बालविवाह भने बढिरहेका छन्।

सिविन, नेपालगञ्जका प्रमुख सिद्धराज पनेरु बालविवाहलगायतका कुराहरु हेल्पलाइनको फोनमा दिन प्रति दिन बढेर आइरहेको बताए ।

उनले बालविवाहले घरेलु हिंसा, वहुविवाहदेखि आत्महत्याको अवस्था आएको बताए । ‘पहिला–पहिला घरपरिवारले जबरजस्ती बाल विवाह गरिदिन्थे, अहिले बालबालिका आफै फेसबुकको माध्यमबाट विवाहसम्म पुगेका छन्, पनेरुले भने ।

गैरसरकारी संस्था स्याकका कार्यक्रम अधिकृत शेषकान्त शर्माका अनुसार, घरपरिवारमा अभिभावकको बेमेल भएका, अभिभावक बैदेशिक रोजगारमा गएका, गरीव परिवारका बालबालिका बालविवाहको जोखिममा रहेका छन् ।

एक तथ्यांक अनुसार, बाँकेमा १० वर्षमुनि २ सय ६५ बालक र एक हजार पाँच सय ८९ जना बालिकाले विवाह भएको छ । १० देखि १४ वर्षको उमेरमा बालक ६ हजार ४ सय ११ र बालिका २५ हजार ६ सय ६५, १५ देखि १९ वर्षको उमेरमा ४८ हजार ७ सय ४४ बालक र ८० हजार ३ स य ६ जना बालिकाको विवाह भएको छ । यो तथ्यांकले बालिकाको उमेरकासँग विवाह भएको देखिन्छ ।

नेपालमा अहिले ८२ प्रतिशत इन्टरनेटमा पहुँचमा छन् । ६० प्रतिशतले अन्जानमै साथी बनाएको पाइएको छ । ६७ प्रतिशतले कुनै न कुनै यौनजन्य सामाग्री हेर्ने गर्दछन् । अन्जानमै चिनजान भएकाहरु बढी छिल्लिएर बोल्ने र यस्तो जोखिममा पर्ने संभावना बढ्ने सम्बद्धहरु बताउँछन् ।

चैत २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्