सन्दर्भ : विश्व स्वास्थ्य दिवस

आधा विश्व स्वास्थ्य सेवाबाट बाहिर, उपचार खर्चका कारण १० करोड मानिस गरिब बने

काठमाडौं – विश्व स्वास्थ्य दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा पनि मनाईंदैछ । विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ मा विश्व स्वास्थ्य दिवस मनाउने गरिएको छ ।

यो वर्ष स्वास्थ्य सेवामा मानिसको पहुँच केन्द्रित गरिएको छ । सबैका लागि स्वास्थ्य नारा अन्तर्गत, विश्वव्यापी स्वास्थ्य सेवा : सबैका लागि, सबै ठाउँमा भन्ने थिम तय भएको छ ।

सन् १९४८ को अप्रिल ७ मा विश्व स्वास्थ्य संगठनको स्थापना भएको थियो । त्यहि दिनको सम्झनामा यो दिवस मनाउने गरिएको छ ।

प्रयास लामो, आश लाग्दो सफलता


विश्वव्यापी रुपमा मानव स्वास्थ्यका लागि गरिँदै आएको प्रयासको अवधि लामो रहेको र यो अवधिमा धेरै आश लाग्दा सफलता हात लागेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

यो अवधिमा असम्भवलाई सम्भव बनाउँदै विभिन्न खोप, रोग विरुद्धका औषधि अनि सचेतना फैलाएको भए पनि बनेका खोप वा औषधि अनि सचेतना अझै सबैसम्म पुग्न नसकेकाले विश्वभरका मानिससम्म स्वास्थ्य सेवा पुर्‍याउनु अहिलेको चुनौती रहेको डब्लुएचओको भनाई छ ।

योसँगै देखिने नयाँ रोग अनि भएका पुराना रोग जसको उपचार अहिलेसम्म सम्भव भएको छैन, तिनीहरुको औषधि र उपचारका पक्षमा पनि काम गर्नु पर्ने खाँचो रहेकोमा जोड दिइएको छ ।

आधा विश्वमा आधारभूत स्वास्थ्य सेवा छैन


पछिल्लो तथ्यांक अनुसार विश्वका आधा जनसंख्यामा अझै पनि पूर्ण रुपमा आधारभूत स्वास्थ्य सेवा पुग्न सकेको छैन ।

विश्वमा १० करोड मानिस स्वास्थ्य सेवा लिँदा भएको खर्चका कारण गम्भीर गरिबीमा धकेलिएका छन् । उनीहरुको आय दिनको दुई अमेरिकी डलर भन्दा कम छ ।

विश्वमा अहिले रहेको जनसंख्याको १२ प्रतिशत भन्दा बढीले आफ्नो घरायसी खर्चको कम्तिमा १० प्रतिशत स्वास्थ्य सेवाका लागि खर्चिनु परेको छ ।

दीगो विकास लक्ष्य अनुसार संयुक्त राष्ट्रसंघको सदस्य रहेका नेपालसहित विश्वका सबैदेशले आफ्ना सबै नागरिक र क्षेत्रसम्म स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने लक्ष्य लिएका छन् । तर यसका लागि एकीकृत प्रयासको खाँचो रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

सन् २०२३ सम्ममा अहिले आधारभूत स्वास्थ्य सेवाको पहुँच भन्दा बाहिर रहेका एक अर्ब मानिसलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने लक्ष्य रहेको छ ।

चैत २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्