मेक्सिकोसँगको सीमामा पहरा दिन टेक्सासले पठायो सुरक्षाकर्मी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा क्षेत्रमा पर्खाल बनाउने भनेपछि अमेरिका–मेक्सिको सम्बन्धमा तनाव आएको छ । तस्बिर : गेट्टी इमेज

अमेरिकाले मेक्सिकोसँगको सीमामा सुरक्षा निगरानी कडा बनाउने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहमा टेक्सास राज्यले मेक्सिकोसँगको सीमा क्षेत्रमा पहरा दिन नेशनल गार्डका सदस्यलाई पठाउन थालेको छ ।

अबको ७२ घण्टा भित्र सीमा क्षेत्रमा सुरक्षाका लागि २५० नेशनल गार्डका सदस्य तैनाथ हुने टेक्सासको नेशनल गार्डका प्रवक्ताले बताएका छन् । एरिजोना राज्यले पनि सीमा क्षेत्रमा १५० सुरक्षाकर्मी आउँदो हप्तासम्म तैनाथ गर्ने तयारी गरेको छ ।

राष्ट्रपति ट्रम्पले आफूले प्रस्ताव गरेको सीमा पर्खाल नबन्दासम्मका लागि चार हजार भन्दा धेरै सुरक्षाकर्मी तैनाथ गर्नु पर्ने बताउँदै आएका छन् । राष्ट्रपति ट्रम्पले न्यु मेक्सिको र क्यालिफोर्निया राज्यलाई पनि टेक्सास र एरिजोनाले जस्तै कमद चाल्न आग्रह गर्दै आएका छन् ।

ट्रम्पले मेक्सिको हुँदै अवैध रुपमा धेरै आप्रवासी अमेरिका भित्रिएको भन्दै सीमामा पर्खाल बनाउने बताउँदै आएका छन् । यो उनको चुनावी अभियानको प्रमुख नारा मध्ये एक हो ।

सीमा पर्खाल बलियो नहुँदा सुरक्षामा पनि खतरा भएको ट्रम्पको दाबी छ । तर ट्रम्पको यो योजनाको डेमोक्र्याटिक तथा रिपब्लिकन पार्टी भित्रै पनि विरोध हुँदै आएको छ ।

चैत २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्