मोदीको घोषणा–काठमाडौंबाट भारत जोड्ने रेल मार्ग, ओलीलाई भने–फेरि भेटौँला

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकासमा भारतको साथ र सहयोग निरन्तर रहने उल्लेख गरेका छन् ।

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तापछि भएको संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपालको विकासमा भारतको सहभागिताको लामो इतिहास रहेको र त्यसले निरन्तरता पाउने बताएका हुन् ।

उनले भने, ‘मेरो सबका साथ सबका विकास तथा ओली जीको समृद्ध नेपाल भन्ने नारा दुवै जनकेन्द्रित छन् । हामी यो विकासको साझा लक्ष्य पूरा गर्नका लागि साथमा हिँड्न तयार छौँ ।’

उनले आउँदो समयमा नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा विकासमा भारतीय सहभागिता रहनेमा विश्वास दिलाएको पनि बताए । यस्तै अब नेपाललाई समुद्रसम्म पहुँच बढाउनका लागि भारतीय पक्ष तयार रहेको उनले बताए ।

मोदीले भने, ‘समुद्रको आधार हिमाल रहेको देश अब ल्याण्ड लक होइन समुद्रसँग जोडिने भएको छ । यो घोषणा गर्न पाउँदा खुशी लागेको छ ।’

यस्तै दुईदेश बिचको सम्बन्ध विस्तारका लागि काठमाडौंबाट भारतसम्मका लागि रेल मार्ग बनाउने विषयमा पनि अब काम सुरु गर्ने सहमति भएको मोदीले बताए । यो काम नेपाल र भारतले संयुक्त रुपमा गर्ने उनको भनाई छ ।

यसैगरी रक्सौल–वीरगञ्जमा इन्ट्रिग्रेटेड चेकपोस्ट, पेट्रोलियम पाइप लाइन, कृषि क्षेत्रमा सुधार लगायतका विषयमा पनि सँगै मिलेर अघि बढ्ने विषयमा सहमति बनेको उनले बताए ।

यसैगरी उर्जा सम्बन्धी परियोजनाको मूल्यांकन गरी त्यसको कामलाई गति दिने विषयमा पनि सहमति बनेको मोदीको भनाई छ । अरुण तेस्रो, पञ्चेश्वर, सप्तकोशी, सुनकोशीसहितका परियोजनाको कामले अब गति लिने उनले बताए ।

नेपाल तथा भारतको संघीय व्यवस्था बलियो बनाउनका लागि अनुभव साटासाट गर्नका लागि पनि मोदीले आग्रह गरे । उनले सम्बोधनको अन्त्यमा नेपालीमा, ‘फेरि भेटौँला’ भनेका थिए ।

चैत २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्