५५ लाख रुपैयाँ कुम्ल्याएको घटनामा किन आलटाल गर्दैछ बाँके प्रहरी?

पत्रकार सम्मेलनमा पीडित परिवार। तस्बिर: देशसञ्चार

नेपालगञ्ज– शिक्षक र साथीहरुले बारम्बार धम्क्याएर बालकमार्फत घरबाट चोरेर ५५ लाख रुपैयाँ लिएको घटनामा प्रहरीले फितलो अनुसन्धान गरेको पीडित परिवारले गुनासो गरेको छ।

नेपालगञ्जको एक स्कूलमा कक्षा ६ मा पढ्ने आदित्य साहलाई ‘फेल गराइदिन्छु’ भन्दै कम्प्यूटर शिक्षक सुशील साहु र भन्नेबित्तिकै पैसा ल्याउने थाहा पाएपछि आधा दर्जन सहपाठीले ५५ लाख रुपैया चोर्न लगाएर लिएको पीडित परिवारको भनाइ छ।

‘करिब दुई वर्षदेखि घरबाट पैसा हराइरहेको थियो । छोराले पैसा नलैजाने बित्तिकै मार्ने धम्की दिन थालेपछि बल्ल हामीले घटना थाहा पायौं,’ बुवा विन्देश्वर साहले भने, ‘ठूलो रकम हराएपछि घरपरिवार विखण्डनको अवस्था आएको छ। हाम्रो घटनामा प्रहरीले राम्रो अनुसन्धान गरिदिएन। मुद्दा फितलो गराएर अदालतमा पेश गरेको छ।’

सुरुमा आदित्यलाई सहपाठीहरु शिवम, एजाजले पैसा चोर्न लगाए। पछि त्यो कुरा कम्प्यूटर शिक्षक सुशीलले थाहा पाए। उनले पनि आफूलाई पैसा नदिए घरमा भनिदिने, फेल गरिदिने धम्की दिन थाले। र, एकैपटक आठ लाख रुपैयाँ मागे। सुरुमा एक लाख दिए। त्यसपछि ५० हजार, ८० हजार, ७८ हजार, ५६ हजार, १० र २० हजार पटक–पटक दिए।

प्रहरीको बयानमा एजाजले चार लाख रुपैयाँ लिएको बताएका छन्। शिवमले तीन लाखभन्दा बढी लगेपछि सुशीलले थाहा पाएका थिए। घरबाट ठूलो रकम चोर्दै दिन थालेपछि आदित्यको पछि अंकित प्रजापति, मोहित गुप्ता र अक्षेत सिंह पनि लागे। उनीहरुले पनि ठूलो रकम लिइरहे।

बालकलाई दुहुनो गाई कतिसम्म बनाए भने शिवमको आमाले समेत घरमा रहेको गहना ल्याइदिन भनिन्। आदित्यले पैसा र गहना उनीहरुलाई दिइरहे।

बालकका अनुसार, शिक्षक सुशीलले बिहान र बेलुका फोन गरेर पैसा माग्ने गर्दथ्यो। सुशीलले फोन गरेर आदित्यलाई घरमा मान्छे छन् भने ‘कापीमा कति पन्ना छन् भनेर सोध्ने र कोही नभए कति लाख छ’ भन्ने गर्दथ्यो।

विन्देश्वर साहका पाँच छोराछोरी छन्। त्यसमा जेठो छोरा र छोरी डाक्टर छन्। दुई जना एमबीबीएस र सीए पढ्दै छन्। कान्छो छोरा आदित्य ६ कक्षामा पढ्छन्। हुनेखाने परिवारका सदस्य भएकाले आदित्यबाट शिक्षक, साथी र साथीकी आमाले समेत पैसा र गहना चोरेर ल्याउन लगाएका थिए। विन्देश्वरका अनुसार, बालकमार्फत चोरेको पैसाले अभियुक्तहरुले घर बनाएका छन्।

विन्देश्वरले शनिबार पत्रकार सम्मेलन गरेर यति ठूला घटनालाई प्रहरीले हल्का पाराले अनुसन्धान गरेको बताए। ‘शुरुमा प्रहरीले बच्चाका सहपाठीविरुद्धको उजुरी लिन नै मानेन, सरकारी वकीलले भनेपछि बल्ल लियो,’ विन्देश्वरले भने, अभियुक्तहरु पावरफूल भएकाले मेरो मुद्दा फितलो गरेर अदालतमा पेश गरिएको छ।’

उनकी श्रीमती दुई वर्षदेखि तनावमा छिन्। कम्प्यूटर इन्जिनियर बुहारीलाई शुरुमा चोरीको आरोप लगाइयो। छोराको घरबार नै विखण्डन हुने अवस्था आयो  बुहारी माइती गएर बसिन्। त्यसबेला पनि पैसा हराइरहेपछि ज्योतिषकहाँ गए। पैसा आफै उड्ने कुरा बताइयो। कति दिन त उनीहरुले पैसा कम्मरमा बाँधेर सुते। समय भएको बेलामा बैंकमा लगेर राखिहाले।

घरको सबैभन्दा कान्छो छोराप्रति कसैले शंका गरेनन्। कतै जाँदा उसलाई नै ताला चाबी दिइन्थ्यो। आदित्यलाई शिक्षक, सहपाठीमात्रै होइन, डन भन्दै र साथीका आमाले समेत सुनको डिमाण्ड गर्ने र नदिएमा मार्ने धम्की दिन थालिएपछि घटना बाहिर आएको थियो।

प्रहरीले शुरुमा बालकका सहपाठीहरुसँग लिएको बयानमा स्पष्ट रुपमा चार लाख, तीन लाख, गरहना लिएको स्पष्ट भनिएको छ। तर, त्यसलाई पछि प्रहरीले बंग्याएको घरपरिवारले आरोप लगाएका छन्। पत्रकार सम्मेलनमा पीडित परिवारले बालकहरुको बयानको भिडियो देखाएका थिए।

चैत २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्