भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदी । तस्बिर : दीपा दाहाल/देश सञ्चार

नयाँ दिल्ली- नेपालको विभिन्न क्षेत्रको विकासका लागि पूर्व सम्झौता तथा प्रतिवद्धता तीव्र रुपमा कार्यान्वयन गर्न भारत सहमत भएको छ।

प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दिल्लीको हैदराबाद हाउसमा भएको भेटमा उक्त सहमति भएको हो।

त्यसपछि भारतीय विदेश मन्त्रालयले ओली र मोदीबीच भएको सहमतिलाई १२ बुँदे संयुक्त वकत्व्यका रुपमा सार्वजनिक गरेको छ। र, उसले रेलमार्ग, जलमार्ग र कृषि क्षेत्रमा दिने सहयोगलाई प्राथमिकता दिएर छुट्टै तीन वटा वक्तव्य पनि जारी गरेको छ।

नेपालका लागि भारत के के सहयोग गर्न तयार भयो?

१) नेपालको आर्थिक विकास र समृद्धिका लागि सहकार्यलाई निरन्तरता दिन

२) नेपाल र भारतको मित्रवत सम्बन्ध अझ बलियो बनाउन

३)नेपाल सरकारको ‘समृद्ध नेपाल खुसी नेपाली’ भन्ने नारा कार्यान्वयनमा साझेदारी गर्न

४)नेपाललाई भारतसँग जोड्न काठमाडौंदेखि रक्सौलसम्म एक वर्षभित्र रेल मार्ग विस्तार गर्न र त्यसमा आफैले सर्वेक्षण गरी दुई पक्षीय सहमतिमा लगानी मोडल र परियोजन निर्माण अघि बढाउन

५) जयनगर– विजलपुरा– बर्दिवास र जोगबनी विराटनगरसम्मको रेलमार्ग विस्तारलाई तिव्रता दिन

६) नेपाल भारत क्रस बोर्डर लिङ प्रोजेक्ट (न्यु जलपाइगुडी–काकरभित्ता, नौतनवा–भैरहवा, र नेपालगञ्ज रोड–नेपालगञ्ज) लाई तिव्रता दिन

७)नेपाल भारतको संयुक्त कार्यदलले निर्माणाधीन सीमापार रेल परियोजनामा रेल सेवाका लागि गरिरहेको काम सन्तोजनक रहेको र त्यसमा सहयोग गर्न

८) जलमार्ग मार्फत कार्गो ढुवानीमा नेपाललाई समुन्द्रसम्मको पहुँच दिन

९) दुई देशबीच व्यापार तथा पारवहन सम्झौता संशोधनका लागि आवश्यक गृहकार्य गर्न

१०) भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी कामलाई थप तीव्रता दिन

११) कृषि क्षेत्रको विस्तारका लागि पनि साझेदारी गर्न

१२) अर्गानिक फार्मिङ, माटो परीक्षण, पशुपालन, कृषि अनुसन्धान, कृषि शिक्षा क्षेत्रमा सहयोग गर्न

१३) हुलाकी राजमार्ग विस्तार गर्न

१४) थप प्रसारण लाइन विकास गर्न

१५) सप्तकोसी, सुनकोसी र पञ्चेश्वर तथा अरुण तेस्रो जलविद्युत आयोजना विस्तार गर्न

ओली र मोदीले दिल्लीबाटै संयुक्तरुपमा भारतद्धारा निर्मित वीरगञ्जको एकीकृत भन्सार जाँच चौकी आईसीपीको उद्घाटन र मोतियारी–अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइनको शिलान्याससमेत गरेका छन्।

तर, नेपालमा बहुचर्चित विषय ओली र मोदीबीचको छलफलमा प्रवेश गर्न सकेनन्। सार्क सम्मेलन,बुढीगण्डकी जलविद्युत परियोजना, भारतीय नोटबन्दीको नेपालमा प्रभाव, माथिल्लो कर्णाली परियोजना, ग्यास बुलेट समस्यालगायत विषयमा भने ओली र मोदीबीच कुनै छलफल भएन।

चैत २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्