महन्थ ठाकुर र राजेन्द्र महतोबीच मल्लयुद्ध

काठमाडौँ- गएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावले मधेसका सीमान्त वर्गलाई धेरै ठाउँ दिएको छ। उच्च जातिको ‘एलिट’ वर्गको हातमा रहेको तराई केन्द्रित दलको राजनीतिमा क्रमश: उच्च जातिको विस्थापनको प्रक्रिया देखा परेको छ, मध्यम तथा सीमान्तकृत समुदायद्वारा, प्रदेश सांसदमा सीमान्त वर्षका धेरै उम्मेद्वारले मात्र जितेनन्, २ नम्बर प्रदेशको मुख्यमन्त्री जस्तो महत्वपूर्ण जिम्मेवारी पाउने अवसर पनि सीमान्तकृत मुस्लिम समुदायका लालबाबु राउतले पाए।

६ वटा दल मिलेर बनेको राजपाको नेतृत्व अहिलेसम्म तत्कालीन तमलोपाका अध्यक्ष महन्थ ठाकुरले गरिरहेका छन्। उनी तराईको एलिट समुदायका व्यक्ति हुन्।

मधेस आन्दोलन र त्यसपछिका दिनमा धरमराउन थालेको एलिट समुदायको पडक पछिल्लो समय राजपामा पनि देखिएको छ।

कात्तिकभित्र एकता महाधिवेशन गर्ने तयारीमा रहेको राजपाभित्र यति बेला भावी नेतृत्वमा स्थापित हुन प्रतिस्पर्धा सुरु भएको छ।

प्रतिस्पर्धा एलिट वर्गका महन्थ ठाकुर र मध्यम जातिका राजेन्द्र महतोबीच सुरु भएको छ। यथार्थमा कात्तिकसम्म हुने एकता महाधिवेशनमा पार्टीको नेतृत्व कसले हत्याउने भन्ने होड भए पनि अहिले आवरणमा संसदीय दलको नेता को बन्ने भन्ने देखिएको छ।

नेपालको राजनीतिका धेरै उकाली ओराली खेपेका ठाकुरसँग महतो प्रतिस्पर्धामा उत्रन सक्नु नै मध्यम तथा सीमान्त समुदायले मधेस राजनीतिमा विस्तार गर्दै लगेको प्रभावको पछिल्लो कडीका भएको जानकारहरु बताउँछन्।

संसदीय दलको विधान बनाउने क्रममा रहेको राजपाभित्र वैशाख पहिलो हप्तासम्म दलको नेता चयनका लागि चुनाव नै हुने एक बताउँछन्।

किनकि ठाकुर र महतो दुवै एकले अर्कालाई दलको नेता छाड्ने मनस्थितिमा देखिन्नन्।

१७ जना सांसद रहको राजपामा महतोको पक्षमा ९ जना र ठाकुरको पक्षमा ८ जना सांसद छन् जसले राजपाको दलको नेतामा महतोको जित लगभग निश्चित जस्तै भएको उनी निकट नेताहरु बताउँछन्। दलको नेता चुनिएपछि महतोलाई अध्यक्षमा प्रतिस्पर्धा गर्न बल प्राप्त हुनेछ। यसले ठाकुर र महतोको व्यक्तिगत प्रतिस्पर्धा मात्र नभई तराई मधेसको राजनीतिमा देखिएका एलिट र सीमान्त वर्गको प्रतिस्पर्धालाई समेत झल्काउनेछ।

फोरम लोकतान्त्रिकको कांग्रेसमा विलयपछि मधेसमा अब राजपा र संघीय समाजवादी फोरम क्षेत्रीय शक्तिका रुपमा स्थपित भएका छन्।

फोरम स्थापना कालदेखि नै तराईको सीमान्त वर्गलाई प्रतिनिधित्व गर्दै स्थापित भयो । उपेन्द्र यादव आफैं फोरमको नेतृत्वमा रहिरहे र उसले सीमान्त तथा मध्यम समुदायबाटै धेरै मत पाउनुले ‘एलिट’ समुदायबाट अलि टाढा छ। ब्राह्मण र भूमियार, झा, मिश्र, ठाकुर, त्रिपाठी, कायस्थ कर्ण, श्रीवास्तव र राजपुत समुदाय तराई मधेसमा ‘एलिट’ वर्गका रुपमा रहँदै आएका छन्। शैक्षिक र चेतनाका दृष्टिले अघि रहेको यी समुदायले सकेसम्म अरु समुदायलाई मूल प्रवाहमा आउन दिँदैनन् भन्ने आम बुझाइ छ।

तराई मधेसको जनसंख्याको उपस्थितिका आधारमा हेर्दा पहिलोमा दलित दोस्रोमा यादव र तेस्रोमा मुस्लिम समुदाय पर्छन्। आर्थिक, राजनीतिक, सामाजिक र साँस्कृतिक रुपमा अघि रहेका एलिट समुदायको उपस्थित जम्माजम्मी एक प्रतिशत मात्र छ। तराईको राजनीतिमा प्रभुत्व जमाउँदै आएको एलिट वर्ग विस्तारै कमजोर हुँदै गएको दुई तहको चुनावले मात्र होइन मधेस केन्द्रित दलभित्रको आन्तरिक प्रतिस्पर्धाले पनि देखाउँदै आएको छ।

चैत २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्