कोरियाकै रोजगार, कोरियामै घरबार

उदय राई र उनकी कोरियाली श्रीमती। तस्बिर: देशसञ्चार

काठमाडौँ- कोरियामा भौँतारिन थालेको डेढ वर्षपछि सिओलको एउटा कपडा कम्पनीमा काम गर्न पुगेका थिए, खोटाङका उदय राई। यो उनको तेस्रो कम्पनी थियो। छेउकै अर्को कम्पनीमा काम गर्थिन्, नाजम वुन, कोरियाली युवती।

यसअघि दुईवटा कम्पनीमा उदयको बसाइ सुखद थिएन। सुरुमा फालम कम्पनीमा काम गर्दा तीन महिनासम्म तलब पाएनन्। त्यसपछि छाला कम्पनीमा सरे। तर, १० महिना काम गरेपछि त्यो कम्पनी पनि बन्द भएको थियो।

कोरियामा बेसहारा बनेका उदय छिमेकी कम्पनीकी नाजमसँग नजिकिन थाले। उनलाई कोरियन भाषा खासै आउँदैनथ्यो, जसोतसो सामान्य शब्दहरु बोल्थे।

नाजमका परिवारलाई उदयसँग नजिकिएको निको लागेको थिएन। कोरियालीहरु विदेशीलाई मन पराउँदैनन्। त्यसमा पनि विवाह गर्ने कुरा त पर।

नाजमका परिवारले जे चाहन्थे, उदयका परिवारको पनि चाहना त्यो भन्दा फरक थिएन। कमाउन गएको छोरो बुहारी लिएर फर्कियोस्, यो उदयका पनि परिवारको चाहना थिएन।

तर, दुबै परिवारले जे चाहँदैनथे, उदय र नाजम त्यही चाहन्थे,‘विवाह’।

दक्षिण कोरिया पछिल्लो समय नेपालीको आकर्षक रोजगारीको गन्तव्य बन्दै छ। सन् २००८ देखि रोजगार अनुमती प्रणाली (इपिएस) मार्फत सरकारले नै नेपालीलाई काम गर्न पठाउन थालेको छ। तर त्यसअघि पनि त्यहाँ नेपाली विभिन्न माध्यमबाट पुगेका थिए।

उदय सन् १९९१ मा कोरिया पुगिसकेका थिए। भिजिट भिसामा कोरिया पुगेका राईले त्यहीँ काम खोजे। कोरियामा गर्नुपर्ने कामको बारेमा उनलाई पहिले केही थाहा थिएन। न त कोरियाली भाषा नै जानेका थिए।

पुगेको केही समयपछि उदयले फलाम कम्पनीमा काम सुरु गरे। फलामका पाता कुट्ने र बोक्ने कामबाट सुरु भयो उनको कोरियाको रोजगारी। त्यसमाथि कोरियाली सहकर्मीहरुको व्यवहार उनलाई राम्रो लाग्दैनथ्यो। गाली गर्थे, काम रफ्तारमा गर्नुपर्छ भन्थे। उदयलाई उनीहरुले भनेको रफ्तारमा चल्न गाह्रो थियो। तीन महिना काम गर्दा पनि तलब भने हात लागेन।

त्यसपछि उदयले काम गरेको तलब माग्न थाले। पटकपटक माग्दा पनि उनले काम गरेको तलब पाएनन्। तलब पाएकै भएपनि उनलाई त्यो कम्पनीमा लामो समय काम बस्न मन थिएन। कम्पनीले तलब नदिएपछि उनले त्यो कम्पनी छाडे।

त्यो कम्पनी छाडेका उदयसँग अर्को कम्पनी नभए पनि काम गर्नुको विकल्प भने थिएन। त्यसपछि निक्कै टाढा थेजन भन्ने ठाउँमा छाला कम्पनीमा काम गर्न गए।

त्यहाँ उनले ८/१० महिना काम गरेपछि कम्पनी नै बन्द भयो। त्यसपछि फेरि सिओल आए। पहिले फलाम र छालाको कम्पनीमा काम गरेका उदयले सिओलमा कपडाको कम्पनीमा सुरु गरे। त्यही टोलको अर्को कम्पनीमा भेटिइन् नाजम।

यतिबेलासम्म पनि उदयले कोरियन भाषा उतिसारो जानेका थिएनन्। भाषाका कारण धेरै समस्या झेलेका उदयले त्यसपछि भने कोरियन भाषा सिक्न सुरु गरे। कोरियाको बारेमा केही बुझ्न थाले। नेपाली कामदारसँग छिट्फुट भेट हुन थाल्यो, कोरियन नाजमसँगको भेटघाट बाक्लिन।

नाजम र उदयको भेटाघाट बाक्लिएको उनका परिवारलाई मन परेको थिएन। यता खोटाङको लफ्याङमा रहेका उदयका परिवारलाई भने यो थाहा थिएन। उनीहरुलाई यही लागेको थियो, कमाउन गएको छोरो कमाउँदैछ।

तर सन् २००२ मा उदय र नाजमले विवाह गरे। आफ्नो इच्छाविपरित भएको विवाहलाई पनि अन्तत नाजमका परिवारले स्वीकारे। कोरियाबाट ६ वर्षपछि र विवाह गरेको तीन वर्षपछि सन् २००५ मा नाजमलाई अघि लाएर उदय घर फर्किए।

छोराले बुहारी ल्याएपनि उदयका बाबु आमाले बुहारीसँग बात मार्न पाएनन्। बुहारीसँग भाषा मिलेन। उदयका परिवारले भन्थे, ‘जे भएनि विवाह त नेपाली नै गर्नुपर्थ्यो।’ उदय दुई वर्ष नेपालमा बस्दा मध्यस्तकर्ता बनेर परिवारसँग श्रीमतीको कुरा गराउँथे।

उदय राई।

यही बसाइका क्रममा नेपालमा पनि विवाहदर्ता लगायतका कागजात बनाएर कोरिया गए। यसअघि कोरियामा पनि उनीहरुले विवाहदर्ता लगायतका कागजात तयार गरेका थिए। आफ्ना देशका नागरिकसँग विवाह गर्नेलाई कोरियाले सहजै भिसा दिन्छ। त्यही भएर उदयका दम्पतिलाई पनि कोरियाबाट नेपाल आउजाउ गर्न मुस्किल छैन।

संगठनमा लाग्न जागिर छाडे

कोरियनले विदेशी कामदारलाई गर्ने व्यवहार हेपाहा खालको भएकाले आफ्ना कुरा उठाउन प्रवासीहरु विभिन्न उपाय खोज्न थाले। सुरुमा चर्चमा भेला भएर कुटपिट सहनु परेको र तलव नपाएका जस्ता समस्याका बारेमा छलफल गर्थे। उनीहरुलाई सहयोग गर्ने छुट्टै निकाय थिएन। सरकारी निकायमा गएर कुरा राख्ने हिम्मत जो कोहीले गर्दैनथे र भाषाको समस्या पनि उतिकै थियो।

उदयले पनि कोरियामा काम गर्दा धेरै पटक कुटाइ खाए, गालिगलौज सहनु पर्‍यो। कोरियामा सन् २००५ मा प्रवासी मजदुरहरुले संगठन बनाए। धेरै प्रवासी मजदुरहरुले त्यसको सदस्यता लिन थाले। उदयपनि संगठनमा आवद्ध भए।

धेरै प्रवासी कामदारका बिनाभिसा काम गर्नुपर्ने, नियमित तलव नपाउने, औद्योगिक दुर्घटनाको बिमा नपाउने समस्या थिए। प्रवासी मजदुर संगठनले यी समस्याको कुरा उठाउन थाल्यो। उदयले कामलाई भन्दा यतातिर बढी समय दिन थाले। उनको कोरियनसँगको सम्बन्ध थप बलियो बन्दै गयो। रोजगारी छाडेर अहिले उनी पूरै संगठनमा खट्छन्। प्रवासी मजदुर संगठन (एमटियु) को अध्यक्ष राई मजदुरकै समस्या उठाउँछन्।

नाजम भने अहिले पनि कपडा कम्पनीमा काम गर्छिन्। उदय मजदूर मै खट्छन् र समस्यामा परेका प्रवासी कामदारलाई सहयोग गर्छन्। गाह्रो काम भएपनि कमाई राम्रो भएकाले धेरैको रोजगारीको सपना बनेको छ दक्षिण कोरिया। हाल इपिएस मार्फत कोरिया पुग्नेको संख्या ५१ हजार नाघेको छ। ती मध्ये हाल ३५ हजार जति नेपाली कोरियामा कार्यरत छन्।

 

चैत २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्