मेस्सीले गरे ह्याट्रिक, बार्सिलोनाले गर्‍यो ३८ वर्ष पुरानो कीर्तिमानसँग बराबरी

स्टार स्ट्राइकर लियोनल मेस्सीको ह्याट्रिकको मद्दतमा स्पेनिस ला लिगाका लिडर बार्सिलोनाले अपराजित यात्राको कीर्तिमानमा बराबरी गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले लेगानेसलाई ३–१ ले हरायो ।

बार्सिलोनाका लागि तीनै गोल मेस्सीले गरेका हुन् । बार्सिलोना ला लिगामा यो सिजनका ३१ तथा गएको सिजनका पछिल्ला सात गरी लगातार ३८ खेलमा अपराजित छ ।

यो ला लिगामा कुनै पनि क्लबले लगातार अपराजित यात्रा तय गरेको कीर्तिमानसँग बराबरी हो । बार्सिलोनाले ला लिगामा लगातार ३८ खेलमा अपराजित रहँदै रियल सोसिडाडले ३८ वर्ष अघि बनाएको कीर्तिमानसँग बराबरी गरेको हो ।

रियल सोसिडाडले सन् १९७८–७९ र १९७९–८० को सिजनमा गरी लगातार ३८ खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो । यो कीर्तिमानसँग बराबरी गरेको बार्सिलोना अब सिजनका सबै खेलमा अपराजित रहँदै नयाँ कीर्तिमान बनाउने ध्यानमा छ ।

त्यसका लागि उसले अब यो सिजन लिगमा बाँकी रहेका सात खेलमा हार बेहोर्नु हुँदैन । अबको एक खेल मात्रै जितेमा वा बराबरी गरेमा उसले लिगमा लगातार धेरै खेलमा अपराजित रहने कीर्तिमान भने पक्का गर्ने छ ।

घरेलु मैदानमा भएको खेलमा मेस्सीले २७ र ३२ औँ मिनेटमा गरी पहिलो हाफमा दुई गोल गरे । लेगानेसका लागि ६८ औँ मिनेटमा एल जहारले एक गोल फर्काए । मेस्सीले ८७ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । उनको यो खेल जीवनको ४५ औँ ह्याट्रिक हो ।

जितपछि शीर्ष स्थानको बार्सिलोनाको सात खेल बाँकी हुँदा ७९ अंक भएको छ । उ एक खेल कम खेलेको दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा १२ तथा तेस्रो स्थानको रियल मड्रिड भन्दा १६ अंकले अघि रहेको छ ।

चैत २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्