विराटनगरमा बिहानै गोली चल्यो, आचार्य श्रीनिवास घाइते

विराटनगर – धर्मगुरु श्री श्री शिरोमणि श्री श्री निवासाचार्यमाथि विराटनगरको जतुवामा गोली प्रहार भएको छ। आइतबार विहान २ को समयमा गुरुमाथि गोली प्रहार भएको मोरङ जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ ।

विराटनगरको वडा नम्बर १४ स्थित जतुवाको रामजानकी मन्दिर परिषरमा आइतबारदेखि सुरु हुन लागेको श्रीमद्भागवत महापुराण साप्ताहिक कार्यक्रममा सहभागी हुन शनिबार बेलुका गुरु शिरोमणि कार्यक्रमस्थल पुगेका थिए । सुनसरीको चक्रघट्टीबाट शनिबार बेलुका ८ जना गुरु र ५ जना संगीतकर्मीसहित गुरु जतुवा पुगेका थिए ।

मोरङका प्रहरी प्रमुख अरुण बिसिका अनुसार, बिहान करिब २ बजे गुरुमाथि गोली प्रहार भएको हो । गुरुलाई हाल विराटनगरको न्यूरो अस्पतालमा उपचारका लागि राखिएको बताएका प्रहरी प्रमुख बिसिले भने, ‘उहाँमाथि दुई राउण्ड गोली प्रहार भएको थियो । जसमा एक गोली गुरुको कुममा लागेको छ ।’

घटना बारे स्पष्ट पार्दै प्रहरी प्रमुख बिसीले भने, ‘आइतबार कार्यक्रम हुने बारे प्रहरीलाई औपचारिक जानकारी भए पनि, गुरुको आउनु भएको भन्ने सन्दर्भमा आयोजकले कुनै खबर गरेका थिएनन् ।’

घटनापछि प्रहरीले हाल छिमेकी जिल्लाका सुरक्षाका निकायमा समेत अलर्ट बनाएको छ । घटनामा को संलग्न थिए भन्ने कुराको बारेमा यकिन नभएको बताएको प्रहरीले अपराधमा संलग्न रहनेको खोजी तीव्र रुपमा जारी रहेको जनाएको छ ।

घटनास्थलमा धार्मिक खलल पुराउने प्रकारका पर्चा पनि भेटिएको प्रहरीले जनाएको छ । जसमा राजसंस्था र राजाको आवश्यकता अझै पनि रहेको छ भन्नेहरुप्रति तिखो आलोचना गरिएको छ ।

स्थानीय तथा गुरुका अनुयायी महिलाको समूहद्धारा आयोजित उक्त साप्ताहिक कार्यक्रमका लागि रामजानकी मन्दिरमा गुरुको पहिलो प्रवचन कार्यक्रम रहेको थियो ।

आयोजक टोली धार्मिक महिला जागरण परिवारका सदस्य अनिता ढकालका अनुसार, शनिबार बेलुका १०–११ बजेसम्म आइतबार सुरु हुने कलश यात्रा र प्रवचनका विषयमा छलफल भएको थियो । त्यसपछि बिहानीपख मन्दिर परिषरमा रहेको शौचालय प्रवेश गर्ने क्रममा गुरुमाथि गोली प्रहार भएको सदस्य ढकालले जानकारी दिइन् ।

जतुवामा यसअघि तीनपटक गुरु धार्मिक कार्यक्रममा सहभागी भइसकेका थिए । यद्धपी रामजानकी मन्दिरको नाममा भने उनी पहिलोपटक सहभागी हुने क्रममा थिए । केही दिन अघि रामनवमीको अवसरमा आचार्य श्रीनिवासलाई भेट्न पूर्वराजा विराटनगरमा रहेको राम मन्दिर गएका थिए ।

चैत २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्