ट्रम्प टावरमा आगलागी

अमेरिकाको न्युयोर्कमा रहेका ट्रम्प टावरमा आगलागी भएको छ । ट्रम्प टावरबाट धुवाँ तथा आगोको मुस्लो निश्किएको देखिएको छ । अग्नीनियन्त्रकले आगो नियन्त्रणमा लिएको बिबिसीले उल्लेख गरेको छ ।

ट्रम्प टावर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यवसायिक कारोबारको मुख्यालय हो । ट्रम्पले आफ्नो चुनावी अभियान तथा निर्वाचित भइसकेपछि पनि शपथ नहुन्जेल ट्रम्प टावरबाटै काम गरेका थिए ।

ट्रम्प टावरमा भएको आगलागीका कारण एकजना सर्वसाधारण नागरिक गम्भीर घाइते भएको न्युयोर्कको अग्नी विभागले जनाएको छ । यस्तै तीनजना अग्नीनियन्त्रक पनि घाइते भएको तर उनीहरुको अवस्था खतरा मुक्त रहेको जनाइएको छ ।

अहिले ह्वाइट हाउसमा बस्दै राष्ट्रपति ट्रम्पको घर तथा कार्यालय ट्रम्प टावरमै छ । ट्रम्प टावरको ५० औँ तलमा आगलागी भएको हो । झण्डै ४५ मिनेट भित्र आगो निभाउन सकिएको राष्ट्रपति ट्रम्पले ट्वीट गरेर जानकारी दिएका हुन् ।

ट्रम्प टावरमा ट्रम्पकी श्रीमती तथा प्रथम महिला मिलानिया ट्रम्प र छोरा ब्यारेन ट्रम्प बस्दै आएका थिए । तर आगलागी भएका बेला उनीहरु पनि वासिङ्टनमै रहेको पुष्टि भएको छ ।

चैत २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्