सिरिया युद्ध

डुमामा विषालु ग्यास आक्रमण, कम्तिमा ७० जनाको मृत्यु

पूर्वी गुटाको डुमा बिद्रोहीको कब्जामा रहेको अन्तिम शहर हो । अहिले पनि सरकारी सेनाले त्यहाँ बम खसाल्ने क्रम जारी राखेको छ । तस्बिर : एएफपी/गेट्टी इमेज

युद्धग्रस्त सिरियाको डुमा शहरमा विषालु ग्यासबाट गरिएको आक्रमणका कारण कम्तिमा ७० जनाको ज्यान गएको उद्धारकर्मी तथा स्वास्थ्यकर्मीले बताएका छन् ।

बिद्रोहीको कब्जामा रहेको पूर्वी गुटाको डुमामा विषालु ग्यास खसालिएको र त्यसका कारण त्यहाँ फसेका सर्वसाधारणको ज्यान गएको डुमामा काम गर्दै आएका उद्धारकर्मी तथा स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

महत्वपूर्ण सफलता
पूर्वी गुटाको डुमा क्षेत्रबाट भाग्दै स्थानीय बासिन्दा । तस्बिर : इपिए

गएको फेब्रअरीदेखि पूर्वी गुटामा सिरियाली सेनाले रुसको सहयोगमा बिद्रोही विरुद्ध भन्दै कारवाही अभियान चलाएको छ । डुमा पूर्वी गुटाको अब एक मात्र यस्तो शहर हो, जुन बिद्रोहीको कब्जामा छ ।

सरकारी सेनाले आफ्नो आक्रमण बिद्रोही विरुद्ध लक्षित रहेको भने पनि निशानामा सर्वसाधारण नागरिक पर्ने गरेका छन् ।

डुमाका उद्धारको काम गर्दै आएको स्वयम्सेवी समूह ह्वाइट हेलमेट्सले विषालु ग्यास आक्रमणका कारण ज्यान गुमाएका मानिसको शव रहेको बेसमेन्टको ग्राफिक तस्बिर ट्वीट मार्फत सर्वाजनिक गरेको छ ।

पूर्वी गुटामा खाद्यान्नसहितका अत्यावश्यक सामग्रीको अभाव छ ।

विषालु ग्यास आक्रमणका कारण ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने ह्वाइट हेल्मेट्सले जनाएको छ । तर यसको स्वतन्त्र पुष्टि भने भएको छैन ।

सिरिया सरकारले ग्यास आक्रमण गर्दै आएको आरोप छ । तर उसले यस्तो आरोप झुठ रहेको बताउने गरेको छ ।

पूर्वी गुटाको डुमा बिद्रोहीको कब्जामा छ भने सरकारी सेनाले बाहिरी घेराबाट नाकाबन्दी गरेको छ । यसले गर्दा त्यहाँका मानिस बाहिर निस्किन पाएका छैनन् । उनीहरुलाई खाद्यान्न, औषधि तथा पानीको पनि चरम अभाव भएको छ ।

चैत २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्