विश्वकप जिते...

विराट कोहली इंग्ल्याण्डमा अर्धनग्न घुम्ने छन् : गांगुली

कोलकातामा भएको एक कार्यक्रममा सौरव गांगुली र विराट कोहली । तस्बिर : गेट्टी इमेज

भारतका पूर्व क्रिकेटर सौरव गांगुलीले आउँदो वर्ष इंग्ल्याण्डमा हुने विश्वकप क्रिकेटको उपाधि भारतले जितेमा कप्तान विराट कोहली अक्सफोर्ड स्ट्रीटमा आफ्नो लुगा (कमिज वा जर्सी) फुकालेर हिँड्ने बताएका छन् ।

गांगुली आफैले पनि यस्तो गरिसकेका छन् । १६ वर्ष पहिले सन् २००२ मा भारतीय टिमले लर्ड्समा भएको खेलमा जित निकाल्दै नेटवेष्ट सिरिज जितेपछि ड्रेसिङ्ग रुममा बसेका गांगुलीले आफ्नो जर्सी फुकालेर फहराएका थिए । त्यसबेला उनी कप्तान थिए ।

समाचार संस्था पिटिआईका अनुसार गांगुलीले भनेका छन्, ‘म ग्यारेन्टीका साथ भन्न सक्छु कि उनी (कोहली) २०१९ मा लर्ड्स मैदानमा विश्वकपको फाइनल जिते भने हामीले क्यामरा तयारी अवस्थामा राख्नु पर्छ किनकी उनीसँग सिक्स प्याक छ । अचम्मित हुनु पर्ने छैन कि उनी बिना जर्सी अक्सफोर्ड स्ट्रीटमा ट्रफी लिएर घुमे भने ।’

उनले अघि भने, ‘र उनको साथमा यसरी जर्सी फुकाल्नेमा साथमा हुने छन्, हार्दिक पाण्ड्या ।’

कोहलीले दिए संकेत


भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले यसमा सहमति जनाउँदै भने, ‘१२० प्रतिशत ।’

कप्तान कोहलीले भने, ‘मलाई लाग्दैन कि यस्तो गर्नेमा म एक्लै हुनेछु, किनकी टिममा अरु साथी पनि छन्, जसको सिक्स प्याक छ । हामी धेरैले जर्सी उतार्ने छौँ । यसमा हार्दिक पाण्ड्या, बुमराह अनि अरु केही साथी हुने छन् ।’

कोलकातामा भएको एक कार्यक्रममा सौरव गांगुली र विराट कोहली । तस्बिर : गेट्टी इमेज

गांगुली र कोहली शनिबार कोलकातामा भएको एक पुस्तक सार्वजनिक कार्यक्रममा उपस्थित थिए । यहि क्रममा यस्तो कुरा भएको हो ।
गांगुलीले १६ वर्ष अघि नेटवेस्ट सिरिज जितेपछि आफूले जर्सी उतारेको घटनाको सम्झना पनि गरे ।

उनले भने, ‘लर्ड्स मैदानमा भएको सबैभन्दा राम्रो कुरा यो थियो कि बज मैले जर्सी फुकाल्दै थिएँ, लक्ष्मणले त्यसलाई तल तान्दै थिए । त्यही बेला मेरो नजिकै रहेका हरभजन मैले के गरुँ भनेर सोधे, मैले तिमिले पनि फुकाल भनेँ ।’

कोहली त्यसबेला १३ वर्षका थिए । समाचार संस्था आईएएसएसका अनुसार कोहलीले त्यो घटनाको सम्झना गर्दै भने,

‘भारतले खेलमा राम्रो सुरुवात गरेको थियो । दादा र वीरुले राम्रो रन बनाएका थिए । हामीले जित्यौँ जस्तो लागेको थियो । किनकी त्यसबेला त्यो लक्ष्य मुश्किल मानिन्थ्यो । विशेष गरी इंग्ल्याण्डमा उसकै विरुद्ध फाइनल जस्तै भएको थियो । तर जब १५० रन बनाउँदा पाँच विकेट गयो अनि म सुतेँ किनकी निकै उदास भएको थिएँ ।’

भारतले जितेको थाहा पाउँदा त्यो सपना जस्तै लागेको कोहलीले बताए । गांगुलीले जर्सी फहराएको घटनाबारे कोहलीले भने, ‘जब मैले त्यस्तो हुँदै गरेको देखेँ … मानिसलाई बुझ्न मश्किल होला तर यस्तो कुरा स्वभाविक हो । मानिसले आफ्नो बारेमा के भन्लान् भन्ने नसोचिकन हुन्छ यस्तो कुरा ।’

गांगुलीको जस्तै आक्रामक खेलका लागि चर्चित विराटले खेलाडी जहिले रोबोट बनेर आफ्नो बारेमा अरुले के भन्लान् भनेर सोचिरहन नसक्ने बताए ।

गांगुलीले कोहलीको प्रशंसा गरे । सन् २०१४ मा इंग्ल्याण्ड भ्रमणको नमिठो अनुभावबाट कोहली अहिले निकै बलियो अवस्थामा आएको गांगुलीले बताए ।

कोलकातामा भएको पुस्तक विमोचन कार्यक्रममा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली । तस्बिर : गेट्टी इमेज
चैत २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्