सिसौंका गोलियासहित वडाध्यक्ष पक्राउ

नेपालगञ्ज-बाँकेको डुडुवा गाउँपालिका वडा नं-४ का वडाध्यक्ष सगीर खाँलाई प्रहरीले पक्राउ गरेको छ।

वन काण्डमा २६ दिन कैद भुक्तान गर्न बाँकी रहेका वडाध्यक्ष खाँलाई फैसला कार्यान्वयन टोलीले पक्राउ गरेको हो। अदालतको फैसला कार्यान्वयन गर्न गठन गरिएको टोलीमा अदालतका कर्मचारी र प्रहरी छन्।

घटना २०७१ असोज ३ गतेको हो। साविकको कम्दी गाविस वडा नं. ५ मा भे १ त २४६९ नम्बरको ट्याक्टरमा ६३.८० क्यूफिट सिसौंका गोलियासहित खाँलगायत पक्राउ परेका थिए। वन कार्यालयले उनीहरुलाई चार दिन हिरासतमा राख्यो।

अदालतले खाँलाई एक महिना कैद र ९६ हजार ५ सय १० रुपैया धरौटीको फैसला गर्‍यो।धरौटी बुझाएका खाँ न्यायका लागि पुनरावेदन अदालततिर लागे। पुनरावेदन अदालतले पनि जिल्लाकै फैसलालाई सदर गरिदियो ।

एक महिना कैदमध्ये चार दिन काटेका खाँको २६ दिन बाँकी थियो।उनी लुकीलुकी हिडेका थिए।स्थानीय प्रहरीले देखेपनि नदेखेको जस्तो गरिदिएका थिए।

असार १४ गते स्थानीय निकायको निर्वाचन भयो।खाँ संघीय समाजवादी फोरमबाट वडाध्यक्षको प्रत्यासी भए।चुनाव पनि जिते।कानून त, फरार अभियुक्त चुनावमा भाग लिन पाउनु हुन्थेन।कसैले उजुरबाजुर गरेनन्।फरार अभियुक्त वडाध्यक्ष बने।

फैसला कार्यान्वयन टोलीको नजर शनिबार साँझ खाँमाथि पर्‍यो।कम्दीको व्यस्त बजार मिलनचोकबाट उनी पक्राउ परे।सादा पोशाकमा रहेका फैसला कार्यान्वयनको टोलीले उनलाई नियन्त्रणमा लिएर जिल्ला ल्यायो।जिल्लाले खाँलाई अदालत पठाइसकेको छ ।

बाँकेमा फैसला कार्यान्वयन टोली गठन गरेपछि अदालतले आदेश गरेका अभियुक्तहरु शुरुमा धमाधम पक्राउ परेका थिए।बीचमा टोली सुस्तायो।अदालतका अधिकृत र प्रहरीका सईको कमाण्डमा रहने टोलीले साधन स्रोत बिना नै धेरै अभियुक्तलाई पक्राउ गरेर कारागार पठाएको सम्बद्धहरु बताउँछन्।

प्रहरीले फैसला कार्यान्वयन टोलीमा खटिने व्यक्ति परिवर्तन गरिरहने र त्यस्तो गर्दा लामो समयसम्म नेतृत्व नै नरहने गर्दा काममा प्रभाव परेको कर्मचारीहरु बताउँछन्।शुरुवाती चरणमा आदेशको लिष्ट हेर्दै प्रहरीले घरघरमा गएर अभियुक्तहरुलाई समातेको थियो।

‘टोली बीचमा सेलायो।साधन स्रोत अभावले गर्दा टोलीले खासै काम गरेनन्, एकजना सई भन्छन्, शुरुवातमा धमाधम समातेपछि धेरै जना भागे।केही आफै सम्पर्कमा आएर जेल गए।बचेकुचेकालाई अहिले खोज्दै समात्दै गरिएको छ।’

पेश्की पछ्र्यौट नभएको या विभिन्न शिर्षकको बक्यौता फरफार नगरेका व्यक्ति चुनावमा अयोग्य मानिएको छ।खाँ त अदालतबाट अभियुक्त नै तोकिएका व्यक्ति हुन्।चुनाव नै लड्न नपाउने व्यक्ति वडाध्यक्ष जितेपछि जेल जानु पर्ने अवस्था आएको छ।जिल्लाका अरु जनप्रतिनिधिहरु प्नि पेश्की पछ्र्यौटमा चुकेको स्रोतहरु बताउँछन्।

चैत २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्