शिक्षा क्षेत्र सुधारका लागि संघ र प्रदेशबीच छलफल

काठमाडौं-शिक्षा क्षेत्रको सुधारका लागि संघीय सरकार र प्रदेश सरकारबीच छलफल भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सातै प्रदेशका सामाजिक मामिलामन्त्रीसँग सार्वजनिक शिक्षाको सुधारका विषयमा सिंहदरबारमा छलफल गरेका हुन्।

नयाँ कानून, विद्यार्थी भर्ना अभियान तथा शिक्षा क्षेत्रमा सुधार र समन्वयलाई संघीय र प्रदेश सरकारबीच कसरी सामजस्य गर्ने भन्ने विषयमा कुराकानी भएको शिक्षामन्त्री पोखरेलले जानकारी दिए। उनले प्रदेश सरकारलाई काम गर्नका लागि शिक्षासम्बन्धी नमूना कानून चाँडै उपलब्ध गराइने बताए।

शिक्षाका मौलिक हकअन्तर्गतका कानून पाँच महिनाभित्र बनाइसकिने प्रतिबद्धता जनाए। वैशाख २ गतेदेखि हुनथालेको विद्यालय भर्ना अभियानलाई समेत प्रभावकारी रुपमा सञ्चालन गर्न प्रदेशमन्त्रीलाई आग्रह गरे।

वैशाखभित्र विद्यालय बाहिर रहेका सबै बालबालिकालाई पाठ्यपुस्तकसहित विद्यालयमा भर्नासमेत गरिने, शिक्षा क्षेत्रमा काम गर्ने जनशक्तिलाई व्यवस्थापन गर्नका लागि ६ महिनाभित्र जनशक्ति प्रक्षेपण गर्ने तयारीमा सरकार रहेको मन्त्री पोखरेलले जानकारी दिए।

चैत २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्