हिन्दू धर्मगुरुमाथि गोली हानेको आशंकामा दुई समातिए

धर्मगुरु श्री निवासाचार्यमाथि गोली हानेको विरोधमा विराटनगरमा निकालिएको जुलुस। तस्बिर: देशसञ्चार

विराटनगर- धर्मगुरु श्री निवासाचार्यमाथि गोली प्रहार गरेको आशंकामा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी अरुण बीसीका अनुसार, दुवै जनालाई घटना भएको जतुवा क्षेत्रबाै पक्राउ गरिएको हो। घटनाको सुक्ष्म छानबिन गरिरहेको प्रहरीले पक्राउ गरेका दुवै शंकास्पद ब्यक्तिमाथि गम्भीरतापूर्वक छानबिन भइरहेको जनाएको छ। उनीहरु दुवैलाई प्रहरीले शंकास्पद अवस्थामा अवस्थामा नियन्त्रणमा लिएको हो।

यसैबीच, धर्मगुरु श्री निवासार्चामाथि गोली प्रहार भएपछि सरोकारवालाले विरोध जनाएका छन्। उनीहरुले घटनामा संलग्नलाई पक्राउ गर्न माग गर्दै बजार क्षेत्रमा प्रदर्शन समेत गरेका छन्। आइतबार बिहान २ बजे भएको उक्त घटनाको बिषयमा ओमकार परिवारले आयोजना गरेको पत्रकार सम्मेलनमा घटनामा संलग्नलाई तत्काल पक्राउ गर्न माग गरिएको छ।

पत्रकार सम्मेलनका क्रममा विराटनगरस्थित लक्ष्मीनारायण मन्दिर पाञ्चालीका पीठाधिश स्वामी अच्युत प्रपन्नाचार्यले घटनाका कारण धर्मगुरुहरुले असुरक्षा बढेकोमा चिन्ता ब्यक्त गरे। उनले भने, ‘यस किसिमको घटनाले सबै जना त्रासमा छौँ। यसको निन्दा गर्छौ।’

पत्रकार सम्मेलनपछि आयोजक धार्मिक महिला जागरण, ओमकार परिवारले विरोधका क्रममा महानगरपालिकामा जुलुस निकालेको थियो। यसैबीच, बजार बन्द गराउन नारा लगाउँदै हिँडेको समूह मध्येबाट स्थानीय ब्यापारीको पसलमा ढुंगा प्रहार गरिएको थियो। यसपछि, केही समय ब्यवसायी तथा प्रदर्शनकारीबीच भनाभन समेत परेको थियो। यद्धपि प्रहरीले उक्त घटनालाई नियन्त्रण लिँदै स्थिति सामान्य बनाएको थियो।

अर्कोतर्फ, छातीमाथि कुममा गोली लागि घाइते भएका गुरु श्रीनिवासाचार्य खतरामुक्त रहेको न्यूरो अस्पताल विराटनगरले जनाएको छ।
बौद्धिक सनातन संघर्षसमितिका संयोजक रहेका गुरु श्रीनिवासाचार्यले हिन्दू राष्ट्रको पक्षमा प्रचारप्रसार र अभियान चलाउँदै आएका थिए।

चैत २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्