आइपिएलमा कोहलीको टिमको खराब सुरुवात, कोलकातासँग ४ विकेटले हार्‍यो

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको कप्तानीमा खेलिरहेको रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको ११ औँ संस्करणमा खराब सुरुवात गरेको छ ।

आइतबार राति भएको आइपिएलको यो सिजनको पहिलो खेलमा बैंग्लोर कोलकाता नाइट राइडर्ससँग ४ विकेटले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा कोलकाताले बैंग्लोरले प्रस्तुत गरेको १७७ रनको लक्ष्य मात्रै १८ ओभर पाँच बलमा ६ विकेटको क्षतिमा भेट्टायो ।

कोलकाताका लागि सुनिल नरिनले अर्धशतक बनाए । उनले मात्रै १९ बलमा चार चौका र पाँच छक्काको मद्दतमा ५० रन बनाए ।

यस्तै दिनेश कार्तिकले २९ बलमा चार चौकाको सहयोगमा नटआउट ३५ तथा नितिश रानाले २५ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३४ रन बनाए । बैंग्लोरका क्रिस वोक्सले तीन, उमेश यादवले दुई तथा वासिङ्टन सुन्दरले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको बैंग्लोरले ६ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । उसका लागि एबी डी भिल्लियर्सले २३ बलमा एक चौका र पाँच छक्काको सहयोगमा ४४ तथा ब्रेण्डन म्याकुलमले २७ बलमा ६ चौका र दुई छक्काको सहयोगमा ४३ रन बनाए । यस्तै कप्तान कोहलीले ३३ बलमा ३१ रन बनाए पनि टिमलाई पहिलो खेलमै हारबाट जोगाउन सकेनन् ।

यसअघि आइतबार नै भएको खेलमा किंग्स इलाभेन पञ्जाबले दिल्ली डियरडेभिल्सलाई ६ विकेटले हराएको थियो ।

चैत २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्