प्रदेश २ को प्रदेसशभा बैठक : स्थायी राजधानीको टुंगो लगाउन सांसदको माग

जनकपुर – प्रदेश २ को प्रदेशसभा बैठकमा सत्तारुढ दलका सांसदले प्रदेशको स्थायी राजधानीबारे प्रस्ताव ल्याउन प्रदेश सरकारसँग माग गरेका छन् ।

आइतबार बसेको प्रदेशसभा बैठकमा राजपा सांसद मनिष सुमनले स्थायी राजधानीको विषयमा टुंगो लगाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । सुमनले भने, ‘नामको कुरापछि टुंगो लगाउनु होला मुख्यमन्त्रीजी पहिले राजधानीको टुंगो लगाउनुस् ।’

उनले अघि भने, ‘भाडाको घरमा लगाउने कार्पेट राजधानी अन्यत्र सारिँदा बिग्रिन्छ कि भनेर होटलमा बस्दैछु ।’ सांसद सुमनले सरकारले आफ्नो गतिमा तीब्रता ल्याउनु पर्ने बताएका थिए ।

एमालेका प्रदेश सभा सदस्य सुरेन्द्रबहादुर विश्वकर्माले समेत सरकारको काम सुस्त रहेको र नामाकरणको विषयमा जति सक्दो निर्णय गर्नु पर्नेमा जोड दिए ।

बैठकमा प्रदेशसभा सदस्यले किसानको समस्याप्रति प्रदेश सकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले यस प्रदेशको मुख्य आर्थिक विकासको मेरुदण्ड नै कृषि भएको भन्दै सरकारले कृषिलाई विशेष प्राथमकिता दिनुपर्ने बताए ।

संघीय समाजवादी फोरमका प्रदेशसभा सदस्य संजयकुमार यादवले मधेसका किसानको समस्यालाई प्रदेश सरकारले तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिए । यस्तै राजपाका अभिराम शर्माले जनकपुर भिठ्ठामोर सडकखण्ड भद्रगोल अवस्थामा रहेको भन्दै सरकारको ध्यानार्षण गराएका छन् ।

प्रदेशसभा बैठकमा माओवादी केन्द्रकी प्रदेशसभा सदस्य रुवीकुमारी कर्णले आगलागीका घटना रोक्न सचेतना अभियान सञ्चालन गरिनुपर्नेमा जोड दिएकी थिइन् ।

चैत २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्