प्रदेश नम्बर ७ को लोगो ।

धनगढी – प्रदेश ७ को आइतबार बसेको प्रदेशसभाको ११ औँ बैठकले यस प्रदेशको लोगो निर्धारण गरेको छ ।

प्रदेशसभा सदस्य बलदेव रेग्मीको संयोजकत्वमा रहेको लोगो निर्धारण समितिले संसदमा पेश गरेको लोगोको मस्यौदा ध्वनी मत मार्फत पारित भएको हो । संसद बैठकमा संयोजक रेग्मीले लोगो निर्धारण समितिको प्रतिवेदन र मस्यौदा प्रस्तुत गरेका थिए ।

लोगो निर्धारणका लागि मस्यौदा समितिले सार्वजनिक सूचना प्रकासित गरेर उत्कृष्ट लोगो बनाउनेलाई पुरस्कार दिने घोषणा गरेको थियो ।

सूचनापछि ५ वटा लोगो प्राप्त भएको र ती मध्ये एउटा लोगोलाई आंशिक रुपमा ग्रहण गरेर परिमार्जन गर्दै पूर्णता दिइएको लोगो निर्धारण समितिका संयोजक रेग्मीले संसद बैठकमा जानकारी गराएका थिए ।

प्रदेश ७ को लोगोमा नेपालको राष्ट्रिय झण्डामुनि दुईवटा हिमाल, ९ वटा लालीगुँरासका फूल, प्रदेशको नक्सा, तराईको फाँट र धानको बाला देखाइएको छ ।

नक्सामा देखाइएका चित्रले के के संकेत गरेका छन् ?


१) नेपालको राष्ट्रियझण्डाले राष्ट्रियतादेखाएको छ ।

२) राष्ट्रिय झण्डामुनि रहेको निलो र सेतो रंगको हिमालले यस क्षेत्रमा रहेका उच्च हिमाल अपी र सैपाललाई जनाउँछ ।

३) मध्य भागमा रहेको हरियो रंगको पहाडले प्राकृतिक श्रोतले सम्पन्न समग्र पहाडी भूभाग र चुरे पहाडलाई जनाउँछ । त्यसको तलपट्टी रहेको तराईको फाँटले प्रदेशको अन्नको भण्डारका साथै साँस्कृतिक विविधताले भरिएको तराईलाई अंकित गर्दछ ।

४) राष्ट्रिय झण्डाको दायाँ र बायाँ रहेका ९ वटा लालीगुँरासले प्राकृतिक, साँस्कृतिक सुन्दरता तथा विविधताले भरिपूर्ण यस प्रदेशका ९ जिल्लाको प्रतिनिधित्व गर्दछ ।

५) लोगोको अग्रभागमा रहेको नक्साले सात नम्बर प्रदेशको नक्सा जनाउँछ ।

६) नक्साको तलपट्टी रहेको सुनौलो रंगको क्रस धानको बालाले प्रदेश कृषि उपजको धनी रहेको सन्देश दिन्छ ।

७) प्राकृतिक, साँस्कृतिक र भौगोलीक रुपमा सम्पन्न ७ नम्बर प्रदेशको चालचलन रीति रिवाज, भेषभुषा तथा भाषालाई सम्मान गर्न तथा एकताको प्रतिकका रुपमा सुनौलो गोलो धेराभित्र प्रदेशको लोगो देखाईएको छ ।

चैत २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्