काठमाडौं – यात्रा, जीवनलाई फरक आँखाले वा अरुको नजरबाट नियाल्ने माध्यम । नयाँ ठाउँ घुम्दा रमाइलो मात्रै हुँदैन, जिन्दगी स्वादिलो बनाउने अनुभव पनि मिल्छ । यस्तै स्वादिलो जीवन बाँचिरहेका छन्, प्रमेश प्रधान ।

उनको पेशा नै घुम्ने । अर्थात उनले पाइताला नापेको बाटो धेरै भइसके । उनी पेशाले गाइड हुन्, जसले अरुलाई घुमाउँछन् र आफू पनि घुम्छन् । समाजशास्त्रको विद्यार्थी पनि भएकाले उनीसँग घुम्नेले नयाँ ठाउँमात्रै देख्दैनन्, नयाँ जनजीविका पनि थाहा पाउँछन् ।

अरुलाई नयाँ जीविकाको पाटो देखाउँदै आएका प्रधानले लेखेको पुस्तक जसमा नेपालका त्यस्ता गन्तव्य समेटिएको छ, जहाँ घुम्दा घुमाइ मात्रै हुँदैन, सिकाइ बनिदिन्छ ।

उनको पुस्तक ‘टप ट्वेन्टी डेस्टिनेसन्स इन नेपाल’ यो नयाँ वर्ष अनि आउँदो समयका लागि पनि घुम्ने ठाउँको रोजाइका लागि सहयोगी बन्न सक्छन् ।

पुस्तकमा समेटिएका २० गन्तव्यलाई काठमाडौं उपत्यका, काठमाडौं उपत्यका बाहिर र ट्रेकिङ गन्तव्य गरी विभाजन गरिएको छ ।

काठमाडौं उपत्यकामा भक्तपुर दरबार क्षेत्र, बौद्ध स्तुपा, पशुपतिनाथ मन्दिर, स्वयम्भू स्तुपा, पाटन दरबार क्षेत्र, हनुमानढोका दरबार क्षेत्र, चाँगुनारायण मन्दिर, कीर्तिपुर, नगरकोट र बुँगमती रहेका छन् ।

यस्तै उपत्यका बाहिरका क्षेत्रमा पोखरा, बन्दिपुर, लुम्विनी, चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र अरु क्षेत्रहरु, धुलिखेल, जनकपुर, बुढानिलकण्ठ, कोशी टप्पु, दामन, इलाम, शंखु, दक्षिणकाली, पाल्पा, ककनी, गोदावरी, गोरखा, टोखा, मनकामना, भालेश्वर, सुक्लाफाँटा वन्यजन्तु आरक्ष, डोल्पा, नारायणहिटी र तान्सेन रहेका छन् । यसैगरी ट्रेकिङ्ग जान चाहनेका लागि सरगमाथा क्षेत्र, अन्नपूर्ण ट्रेकिङ्ग रिजन, लाङ्टाङ्ग ट्रेकिङ्ग रिजन र रारा ताल रहेका छन् ।

पुस्तकमा यी क्षेत्रका बारेमा जानकारीहरु पनि समेटिएकाले नयाँ वर्षमा घुम्ने र जीवनलाई थप फराकिलो बनाउने गन्तव्य रोज्नका लागि सहयोगी बन्न सक्छ ।

चैत २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्