संसद र सांसद

कान्छा मध्येका एक सांसद अमनलाल मोदी : अनुभव र योजना

सांसद अमनलाल मोदी

प्रतिनिधिसभाका कान्छा सांसदमध्येका मोरङ क्षेत्र नम्बर–४ बाट निर्वाचित अमनलाल मोदी पनि एक हुन् । २०४२ साल असोज ५ गते डंग्राहा ३ मोरङमा  जन्‍म भएको हो ।

संविधानसभामा समानुपातिकबाट सांसद बनेका मोदीले गएको प्रतिनिधिसभा चुनावमा नेपाली कांग्रेसका नेता महेश आचार्यलाई पराजित गरेका थिए ।

विद्यार्थी राजनीतिबाट मूलाधारको राजनीतिमा छिरेका मोदीसँग प्रतिनिधिसभामा खेल्ने भूमिकाबारे देश सञ्चारका प्रकाश ढकालले कुराकानी गरेका छन् ।

संविधानसभाको सदस्य सांसदका रुपमा निर्वाचित भएर आउँदा कस्तो अनुभुति भइरहेको छ ?

सांसदका रुपमा निर्वाचित भएर आउँदा निरन्तरता जस्तै लागि रहेको छ । संविधानसभामा संविधान बनाउन रहँदा जुन ऊर्जाका साथ काम गरियो । अहिले व्यवस्थापिका संसदमा आउँदा पहिलेको भन्दा पनि ऊर्जा र जोश फरक छ ।

भर्खर निर्वाचित भएर आएको छु । संसदमा अहिलेसम्म बोलेको छैन । संसदीय अभ्यास र गतिविधिलाई बुझ्ने कोसिस गरिरहेको छु । संसदलाई भूमिका खेलेर जनताको प्रतिनिधिका रुपमा काम गर्ने सोचिरहको छु ।

संविधानसभा र संसद फरक हुन् । त्यति बेलाको संविधान निर्माण र अहिले कानुन निर्माण फरक विषय हुन् । परिवर्तित भूमिकाअनुसार जिम्मेवारी पूरा गर्छु भन्ने लागिरहेको छ ।

चुनावमा विकास दिन्छु भनेर जितेर आउनुभएको छ, यता भूमिका चाहिँ कानुन निर्माणमा केन्द्रित गर्नुपर्ने अवस्था छ, यसलाई कसरी समन्वय गर्नुहुन्छ ?

स्वभाविक रुपमा हाम्रो भूमिका कानुन निर्माता भए पनि जनताका विकास निर्माणका आकांक्षालाई पनि ध्यान दिनुपर्ने अवस्था छ । विकासको चाहना सबै नागरिकमा देखिएको छ ।

अहिलेसम्म विकासमा पछि परिहरको अवस्थालाई तीव्र गतिमा परिणत गर्नुपर्नेछ । अब हामीले कानुन निर्माणसँगै विकासका गतिविधिलाई पनि सँगसँगै अघि बढाउनुपर्ने हुन्छ । जनताले हामीलाई विश्वास गर्न पनि विकासमा उत्तिकै ध्यान दिनुपर्ने बेला छ ।

किनकी अहिलेसम्म हामीले विकासका बारेमा कुरा गरे पनि काम गर्न सकेका छैनौं । हामी कानुन निर्माणसँगै विकासका गतिविधिलाई अघि बढाउनुपर्ने हुन्छ ।

जनताले हामी जस्ता निर्वाचित प्रतिनिधिहरुसँग के अपेक्षा गरेको छ भने, दैनिक आफ्ना कुरा उठाओस्, हाम्रा लागि लडोस् भन्ने चाहिरेका छन् ।

अहिलेसम्म संसद प्रभावकारी भएन, उठाइएका विषयको सम्बोधन हुँदैन विषय उठाउनका लागि उठाइन्छ सरकारले पनि गम्भीर रुपमा लिदैन भन्ने गुनासो सुनिन्छ नि ?

भर्खर संसद सुरु भएको छ । अहिले नै त्यतातिर नजाऔं । एक महिना पनि संसद नचली विगतलाई मात्र हेरेर निराशा र कुण्डा व्यक्ति नगरौं । दु्रत गतिमा संसदले आफ्नो जिम्मेवारी पूरा गर्छ । एक महिनामै सबै भइहाल्छ भन्ने होइन ।

संघीयता कार्यान्वयनका लागि संघीय संसदको भूमिका कस्तो रहला, प्रदेशसभाहरु अलमलको अवस्थाम देखिन्छन् ?

संघीयतालाई सफल बनाउन संसदले भूमिका खेल्नैपर्छ । संविधान कार्यान्वनका लागि स्थानीय तहदेखि राष्ट्रपतिसम्मको चुनाव भइसकेको छ । संविधान कार्यान्वयनका लागि संसदले भूमिका खेल्नैपर्छ ।

नाकको चालले संघीयता सफल पार्न संघीय संसद लाग्नै पर्छ । कुन पार्टी के ग¥यो भन्दा पनि संसदले के गर्‍यो भन्ने महत्वपूर्ण हुन्छ । संविधान कार्यान्वयनका लागि धेरै कानुन बनाउनुपर्नेछ । यस्तो बेला पनि प्रभावकारी भूमिका खेल्न सकेनौं भने हामीमाथि प्रतिप्रश्न उठ्न सक्छ ।

संसदमा प्रतिपक्षी कमजोर अवस्थामा छ, सरकारलाई सन्तुलनमा राख्न सत्ता पक्षकै सांसद भए पनि तपाईहरुको पनि भूमिका कस्तो हुन्छ ?

सरकारलाई सन्तुलनमा राख्न हामी भूमिका खेल्छौ । कुन पार्टी सरकारमा छ भन्ने हामी हेर्दैैनौं । जनताको पक्षमा सरकारले काम गर्छ कि गर्दैन ? हामी सत्ता पक्षकै भए पनि संसदमा जनजीविकको पक्षमा प्रतिपक्षको भन्दा राम्रो भूमिका खेल्छौं ।

सुशासनबारे चर्को आवाज उठे पनि संसदमै चाहिनेभन्दा बढी समिति बनाएर खर्च बढाउने कोसिस भइरहको छ नि ?

सुरु भर्खर भएको छ । अहिले नै त्यसो नभनौं । हामी सुशासनका पक्षमा संसदभित्र र बाहिरका विषयलाई उठाउँछौं ।

जब नियमित रुपमा संसद अघि बढ्छ मेरो भूमिका तपाईहरुले देख्नु नै हुनेछ । विश्वास गर्नुहोस्, संविधान निर्माणका बेला भूमिका खेले जस्तै अब पनि जिम्मेवारी पूरा गर्नेछु ।

चैत्र २७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्