मसला बेचेरै तीर्थयात्रा ५८ वर्षीया दिनो

काँकडभिट्टा-आर्थिक अभावका कारण धेरै व्यक्तिले चाहेर पनि इच्छाअनुसार तीर्थयात्रा गर्न सकेका छैनन्। मेचीनगरकी एक वृद्धा भने स्थानीय बजारमा घरेलु मसला बेचेर भएको आर्जनले विदेशसम्मका विभिन्‍न धार्मिकस्थलको दर्शन गर्दै आएकी छिन्।

मेचीनगर-१० धुलाबारीकी ५८ वर्षीया दिनो राजवंशी विगत एक दशकदेखि घरेलु मसला बेचेको कमाइले तीर्थयात्राको इच्छा पूरा गर्दै आएकी हुन्। वर्षमा दुईपटक तीर्थ यात्रामा निस्कने गरेकी राजवंशी एकपटकको यात्रामा रु ५० हजारदेखि रु ६० हजारसम्म खर्च हुने गरेको बताउँछिन्।

गत माघ महिनामा उनी भारतको मायापुरी, वृन्दावन, जगनाथपुरीलगायत धार्मिकस्थलको दर्शनमा गएकी थिइन्। अब चाँडै अर्को तीर्थस्थलको भ्रमणमा जाने उनको तयारी छ। तीन छोरी र एक छोराकी आमा राजवंशी सीमावर्ती भारतको नक्सलबाडीबाट सुकेको खुर्सानी, जिरा र धनियाँ किनेर ल्‍याउँछिन्। मसलामा प्रयोग हुने बेसार भने गाउँघरबाटै जुटाउँछिन्।

परम्परागत रुपमा घरमै प्रयोग हुँदै आएको काठको ओखलमा मुसलले कुटेर उनी मसला बनाउँछिन्। यसरी खुर्सानी, बेसार, जिरा तथा धनियाँको मिश्रित र अलग अलगसमेत मसला बनाएर राजवंशी स्थानीय धुलाबारी बजारमा दैनिक बिक्री गर्छिन्।

‘मेसिनमा भन्दा ओखलमा पिसेको मसला बढी स्वादिलो हुन्छ,’ उनले भने। घरमै पिसेको मसला बढी स्वादिलो हुने र अखाद्य पदार्थ मिसावट नहुने भएकाले स्थानीयवासी मसला किन्‍न आउने गरेका छन्। उनले बनाउने मसला बजारमा निकै लोकप्रिय छ।

उनी मसला बोकेर आफै बजार धाउँछिन्। नगरपालिकाले बनाएको एउटा टहरामा बसेर राजवंशीले मसला बिक्री गर्दै आएकी छिन्।दैनिक करिब पाँच किलोसम्म मसला बिक्री हुन्छ।’एक हजारदेखि पन्ध्र सयसम्म मुनाफा हुन्छ,” उनले भने। मसलाको कमाइले घरपरिवारको भरणपोषणमा खर्च गर्ने गरेको राजवंशी बताउँछिन्।

‘आम्दानीको अधिकांश हिस्सा तीर्थयात्रामा खर्च हुन्छ,’ उनले भने। तीर्थयात्रामा जान अहिलेसम्म कसैसँग पैसा माग्नु नपरेको उनको भनाइ छ। घरमा एक्लै बस्दा दिग्दारी लाग्ने हुँदा सानोतिनो काममा लाग्दा आम्दानी पनि हुने भएकाले उनी अरुलाई मसला बेच्‍न सल्लाह दिँदै आएकी छिन्। राजवंशीको सल्लाहमा गाउँका अरुदे पनि मेचीनगरका विभिन्‍न बजारमा मसला बेच्‍न थालेका छन्।

राजवंशीलाई घर परिवारबाट पर्याप्त सहयोग पाइएको छ।’हजुरआमाको तीर्थयात्रामा गइरहने बानी छ’, बिर्तामोडको मनकामना कलेजमा स्नातक अध्ययन गर्दैआएकी नातिनी मनिषाले भनिन्, ‘हामीले उनलाई मसला व्यापारमा सहयोग गर्दैआएका छौँ।’

चैत २७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्