तयार भयो मेलम्चीको सुरुङ, पानी अब केही महिनामै

फाइल तस्बिर

काठमाडौं- राष्ट्रिय गौरबको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाअन्तर्गत २६ किलोमिटरको सुरुङ खन्ने काम सम्पन्न भएको छ। मेलम्चीदेखि सुन्दरीजलसम्मको सुरुङ तयार भएको हो।

२०५५ सालमा काम थालेको मेलम्ची खानेपानी विकास समितिले अब केही महिनाभित्र काठमाडौंमा मेलम्चीको पानी भित्र्याउने लक्ष्य राखेको छ। यस आयोजनाअन्तर्गत मेलम्ची, याङग्री र लार्के खोलाबाट पानी जम्मा गरी दैनिक ५१ करोड लिटर पानी काठमाडौं उपत्यकामा भित्र्याउने लक्ष्य राखिएको छ।

फागुन ६ गते खानेपानी मन्त्री नियुक्त भए लगत्तै विना मगरले मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम २५ दिनभित्र सम्पन्न गर्न निर्देशन दिएकी थिइन्।

सुरुङ खन्ने कामको अन्तिम चरणअन्तर्गत सिन्धु -ग्याल्थुम खन्डको साढे सात किलोमिटर बाँकी थियो। दशै‌ं अगाडि काठमाडौं ल्याइपुर्‍याउने लक्ष्य राखिएको मेलम्ची खानेपानीको सुरुङ खन्ने काम सम्पन्न भएको उपलक्ष्यमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा विषेश कार्यक्रमको आयोजना हुँदै छ।

सुरुङ खन्ने काम सम्पन्न भएपनि हेडवर्क्सको मुख्य संरचना, भेन्ट साफ्ट र सुरुङको फाइनल फिनिसिङको काम बाँकी रहेको जनाईएको छ।

चैत २७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्