को-को छन् राम्रा मान्छेहरु आजको संसारमा?

कृष्णभक्त राई र सुनिता थेगिम लिम्बूद्वारा गाइएको एउटा मिठो गीत छ:

घर राम्रो चुनले, भेडी राम्रो उनले 

चोली राम्रो तुनाले, मान्छे राम्रो गुनले

संसारलाई गुन लगाइरहेका राम्रा मान्छे लाखौँ होलान संसारमा। यसै पनि सम्पूर्ण रुपमा नराम्रा मान्छे त कमै हुन्छन्। त्यसैले भनिएको होला – “जुनसुकै बादलमा चाँदीको घेरा हुन्छ।”

सार्वजनिक सरोकारको क्षेत्र ठुलो हुन्छ; तर हाम्रो चासो सामाजिक आर्थिक वा राजनीतिक क्षेत्रसँग सम्बन्धित हो। भौतिक विज्ञान, रसायन शास्त्र, भूगोल, जीवशास्त्र, गणित इत्यादिको कुरा गर्न हाम्रो क्षमताले पुग्दैन। नसुनेको, नबुझेको वा नपढेको कारणले।

हालै बितेका वैज्ञानिक स्टिफेन हकिङ्गले तीन दशकअघि लेखेको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ भन्ने पुस्तक मसँग छ। तर त्यसबेला मैले पढ्न खोज्दा पढ्न सकेको थिएन। उनको मृत्युपछि मेडियामा कस्मोलोजीमा उनको योगदानको चर्चा भएका छन्। ब्रम्हाण्डमा ‘ब्ल्याक होल’ ले दिने विकिरण वा “हकिङ्ग रेडिएसन” उनले पत्ता लगाएका हुन्। तर यी कुराहरु बुझ्न ‘फिजिक्स’ को पृष्ठभूमि चाहिन्छ। हकिङ्ग नास्तिक थिए। उनको भनाइ थियो- विज्ञानका कानून इश्वरले नै कायम गरेका होलान, तर यी कानुन उल्लङ्घन गर्ने कार्यमा इश्वरले हात हाल्दैनन।” हकिङ्गका आफ्ना आधारहरु छन्। विज्ञान पढेकाले उनका कुरा बढी बुझ्नेछन्।

मैले अलिअलि बुझेको छु भन्ने विषयमा पनि “राम्रा मान्छे यी हुन्” भनी भन्दा पनि सुन्नेले ‘क्रिटिकल’ भएर सुन्नु पर्छ। सबैले आफ्नो परिवेशमा कुरा गरेको हुन्छन्। फराकिलो दृस्टिकोण हुदैन। आफ्नो घैंटोभन्दा धेरै पानी कसैले बोक्न सक्दैन। दाबी पुग्ने धेरै हुन्छन्। उत्कृष्ट को हुन् भन्न सकिँदैन। ठूलो ‘पुल’ मा ‘स्याम्पलिंग’ गर्न पनि गाह्रो हुन्छ। यसमा जोखिम धेरै हुन्छ। सहि मान्छेलाई अन्याय हुन सक्छ।

अलेक्ज्यान्डर फ्लेमिङले मान्छेमा जैविक संक्रमण रोक्ने एन्टिबायोटिकको आविष्कार नगरेको भए वा लुइ पास्चरले हैजा, टिबी वा दादुरा जस्ता सोतर पार्ने रोगको भ्याक्सिन पत्ता नलगाएको भए मान्छेको जीवन यति सुरक्षित कसरी हुनसक्थ्यो होला। न यिनीहरुका सालिक बनाइन्छन्, न त यिनका नाममा सडक वा भवनहरु निर्माण हुन्छन्। धेरै राम्रा मान्छेहरु संसारबाट निःशब्द विदा हुन्छन्। उनीहरुले आत्मामा जस खोज्ने व्याकुलता देखिदैन – बाँच्दा पनि; बित्दा पनि।

मलाई स्कुलमा पढेको म्याडम क्युरी र उनका श्रीमान पियर क्युरीको ‘रेडियम’ पत्ता लगाउँदाको कञ्चन संघर्ष यसै कोटीको लाग्दछ। यी वैज्ञानिकहरुको महत्व संसारमा कहिल्यै घट्ने सम्भावना छैन। तर उनीहरुलाई सम्झिने कमै होलान्।

आज संसारमा पढाइ-लेखाइ ‘मास कल्चर’ भइसकेको छ। तर कुरा उस्तै छ। संसारमा एड्स महामारीको रुपमा थियो। क्यान्सर लागेका मान्छे थाहा पाउँदापाउँदै बिदा हुन्थे। उपचार थिएन। हृदयाघात वा ‘स्ट्रोक’ ठूलो जोखिम थिए जीवनको। स्वास्थ्य समस्याहरुको ‘डायग्नोसिस’ चाँडो हुन सक्दैनथ्यो। डिएनए परीक्षण प्रविधि स्थापित भैसकेको थिएन। सामुदायिक स्वास्थ्य भन्ने कुरा राज्यको सोचमा थिएन। रक्सी पसल पाइन्थ्यो, ओखति पसल पाइन्थेन। रक्सी सस्तो थियो, ओखति महँगो थियो। यी विषयहरुमा उन्नति नभएको भए मानव जीवन अहिलेको अवस्थामा पुग्ने थिएन। प्रश्न उठ्दछ- को हुन् ति मान्छेहरु जसले मानव समुदायलाई यतिको गुन लगाए? हामीलाई सोच्ने बुझ्ने फुर्सद छैन। यस्ता मान्छेहरु जुलुस लिएर हिँडदैनन्। परिपञ्च गरेर ख्याति कमाउदैनन्। यिनलाई ठूलो बन्नु पनि छैन।

कानूनको शासन, मानव अधिकार, समाज सुधार, अनिवार्य शिक्षा प्रणाली, कृषि क्षेत्रको आधुनिकीकरण, सार्वजनिक आवास- यी सबै विषयहरुमा केही मान्छेले अस्वाभाविक रुपमा योगदान गरेको छन्। संसारमा युद्ध र अशान्ति स्वात्तै घटेको छ। खाद्यान्नको उपलव्धता बढेको छ। शिक्षामा भएका लगानीहरु अतुलनीय रुपमा वृद्धि भएका छन्। सञ्चार क्षेत्रले फड्को मारेको छ। आजका मान्छे सामाजिक सञ्जालबाट अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्प, वेलायती प्रधानमन्त्री टेरेजा मे वा जर्मन चान्सलर अन्जेला मर्केलजस्ता शक्तिशाली नेताहरुसँग सम्पर्क गर्न सक्छन्। अब नागरिक हैसियतमा सबैतिर वृद्धि भएको छ।

अहिलेको पारस्परिक सहिष्णुता संसारमा पहिले कहिले थिएन। कसैको योगदान बिना कसरी यी सबै कुरा सम्भव भए त? हामी त्यो योगदानलाई ‘टेकेन फर ग्राण्टेड’ मान्दछौं। त्यसैले तिनको चर्चा परिचर्चा कमै हुन्छ।

भाषा, साहित्य, सौन्दर्य या लालित्यको प्रयोगबाट संसारलाई शक्ति र शौर्य दिने मान्छे पनि छन्। खोज्नु पो गाह्रो काम हो। द्वितीय शताब्दी ई.पू. को महाराष्ट्र भारतमा भेटिएको अजन्ता गुफाहरूको वास्तु, बौद्ध धर्म चित्रण एवं शिल्पकारीताका बारेमा कसलाई जिज्ञासा नहोला? विपी कोइरालाले तिनका बारेमा उल्लेख गर्नुभएको छ। इतिहासमा ति कलाकारहरु आफ्नो कला छोडेर सधैँका लागि विलीन भएर गए। महाकवि लक्ष्म प्रसाद देवकोटाले खोज्न सके यहीं नेपालमा वाग्नर कोदाली खन्दै होलान, शेक्सपियर हलो जोत्दै होलान; टेन्निसन् र टर्नर भेडा चराउँदै होलान् वा सोक्रेटिज गुफामा घोत्लिरहेका होलान् भनेका छन्। देवकोटालाई यिनका कथा संसारले सुनेकै छैन, यहाँका साहित्य लेखिएकै छैनन भन्ने लाग्थ्यो। आजकै संसारको पनि यथार्थ यही नै हो।

केही अत्यधिक रुपमा चर्चा पाएका राम्रा मान्छेहरु पनि छन् संसारमा। माइक्रोसफ्टका संस्थापक बिल गेट्स वा व्यापारी र उद्योगपतिका रुपमा प्रशिद्ध वारेन बफेट दानवीर मानिन्छन्। उनीहरुको लगानीमा सामाजिक एवं आर्थिक रुपान्तरणका लागि संसारमा धेरै काम भएका छन्। शिक्षा र स्वास्थ्यमा उनीहरुको ठुलो सहयोग छ – खासगरी विकासोन्मुख मुलुकहरुमा। त्यसैले उनीहरुको धन र मन दुवैमा संसारले गौरव गर्दछ। स्टिभ जब्स चाँडै बिते। उमेर नपुग्दै उनले “फादर अफ डिजिटल रिभोल्युसन्” को सम्मान पाए। मार्क जुकर्वर्ग पनि “इन्टरनेट बुम” का लागि ठूला व्यक्ति मानिन्छन्। अब फेसबुकबिनाको संसारको परिकल्पना गर्न सकिँदैन। यो उनको सिर्जना हो। संसारले उनीहरुलाई दिएको आदर खेर गएको छैन।

राजनीतिमा मलाई लाग्छ अहिले बाँचेका नेताहरुमा बराक ओबामा सम्भवत: सबैभन्दा ठूला र सफल नेता हुन्। मैले क्षमताको मात्र कुरा गरेको होइन। मूल्य, मान्यता र चरित्रको पनि कुरा गरेको हो। परिवर्तनका लागि अर्कालाई पर्खेर हुँदैन। आफुले खोजेको परिवर्तनको वाहक आफै बन्न सक्नु पर्दछ भन्ने उनको विश्वासमा सबैको समर्थन हुनुपर्दछ। मैले उनलाई चिनेको सन् २००४ मा उनले डेमोक्रेटिक पार्टीको नेसनल कन्भेन्सनमा दिएको भाषणबाट हो। एउटा नेताले रास्ट्रको विवेक कसरी निर्माण गर्दछ- त्यसमा हेर्न सकिन्छ। ओबामा विवेकप्रधान शास्त्रप्रेरित आधुनिक व्यक्ति हुन्। यसै रोहमा उनी कथित कालाजातिका भए पनि अमेरिकाका राष्ट्रपति हुन सके। अमेरिकाले यस्तो दार्शनिक नेतृत्व अब पाउला नपाउला। तर उनी असल राजनीतिका ‘मोडेल’ रहिरहनेछन्।

मलाई दलाइ लामा पनि राम्रो लाग्दछन। मैले ल्हासास्थित उनको पोटाला दरबार दुइपटक घुमेको छु। राजनीतिमा उनी कति सफल होलान हेर्न बाँकी छ। उनको उमेरले धुरी चढिसकेको छ। उनी असफल हुनुहुदैन। तर उनले ‘टिबेट्न बुद्धिज्म” लाइ सम्पूर्ण विश्वमा आध्यात्मिक नेतृत्व दिएका छन्। असल व्यक्तित्व र संस्कृतिका स्वामी हुन् दलाइ लामा। उनी मलाइ बुद्धदुत जस्ता लाग्छन्। उनको जीवनकालमै चीनसँगको उनको समस्याको समाधान हुन सकोस् भन्ने मेरो शुभेक्षा छ।

मलाइ रुसका भ्लादिमिर पुटिन पनि राम्रो लाग्दछन्। पुटिन बलिया नभएको भए रुसको मानचित्र कायम रहन सक्ने थिएन। युरोप अशान्त हुन सक्थ्यो। रुस तथा चीन बलियो हुनु संसारको राजनीतिक स्थिरताका लागि आवश्यक छ। चीनका सी चिन्पिंग त मलाई झनै पराक्रमी लाग्छन। पोहोर चिनिया राजदूतले मलाइ सीले लेखेको “द गभर्नांस अफ चाइना” भन्ने एउटा किताब दिनुभएको थियो। सीले लेखेका रहेछन “गभर्निंग ए बिग कन्ट्री इज एज डेलिकेट एज फ्राईङ्ग अ स्मल फिस।”

पुटिनको समस्या पनि त्यहि होला। उनीहरुले आफ्नो देस राम्रोसँग चलाएका छन्; तर ती दुवै नेता प्रजातान्त्रिक कित्तामा अलि कम्जोर देखिन्छन्। यसमा उनीहरुले प्रगति गरुन्। तर राष्ट्रवादको कुरा हाम्रा नेताहरुले उनीहरुसँग सिक्नु। देश बोक्ने विशाल व्यक्तित्वहरु।

हरिबहादुर रंजितले गाउनुभएको एउटा पुरानो गीत छ कसैलाई पनि आफ्नो तन्नेरी उमेर सम्झाई दिने खालको- “बालाजुमाथि हो नि नारान साइँली र माइलीका ताँती; एउटी आउँछु भन्थी रेशमी चुल्ठो बाटी।” रञ्जित को हुन् के हुन् मलाई कत्ति थाहा छैन। यो एउटै गीतको स्वरले मैले उनको राम्रो ‘रेटिङ्ग’ गरेको छु। उबेलाका जर्मन कम्पोजर बिथोवेन वा अस्ट्रियाका मोजार्टको संगीतको कुरा म जस्तोले के बुझ्ला। बुझ्ने त हरिभक्त कटुवाल वा रञ्जितजस्तालाई नै हो। राम्रो लाग्नु नलाग्नु नितान्त व्यक्तिगत कुरा पनि हुनसक्दो रहेछ नि त।

स्व. गणेश राज शर्मा नेपालको कानुन क्षेत्रको राम्रो मान्छे लाग्छ मलाई। उहाँको एउटा भनाइ थियो- “राम्रो मान्छे पाउने गार्‍हो! कुनै मान्छे हाम्रो सोचाइको कम्तीमा ६० प्रतिशत वा त्यो भन्दा बढी राम्रो छ भने राम्रो मान्नु पर्दछ, संगत गर्दा हुन्छ।’ यो व्यवहारोपयोगी सल्लाह हो। त्यस्तै मलाई कानुनमा ट्रेनिङ गर्ने अर्का असल मान्छे हुनुहुन्थ्यो- सुशील कुमार सिन्हा। ‘कोही नराम्रो भए आफूलाई छ; त्यस्तासँग परै बस्नु पर्छ किन टाउको दुखाउने?” भन्ने उहाँको सोच थियो।

अघिल्लोको व्यक्तित्व सार्वजनिक प्रकृतिको थियो; पछिल्लोले आफूलाई व्यवशायिक सीमाभन्दा बाहिर जान दिनु भएन। यसबाट के बुझिन्छ भने राम्रो भन्ने कुरा आफूलाई कहाँ उभ्याउने भन्ने दृष्टिकोणमा पनि भर पर्दो रहेछ।

(प्रस्तुति: उमेश गौतम)

चैत्र २७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्