हार्‍यो बार्सिलोना, च्याम्पियन्स लिगबाट बाहिरियो, रोमाले नतिजा उल्ट्यायो

यो सिजन लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको बार्सिलोना च्याम्पियन्स लिग फुटबलको महत्वपूर्ण खेलमा पराजित हुँदै प्रतियोगितबाटै बाहिरिएको छ ।

यो सिजन उपाधिमा ह्याट्रिक गर्ने अवस्थामा पुगेको बार्सिलोना च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा ४–१ के जित निकालेर पनि दोस्रो हाफमा पराजित भएर अघि बढ्न नसकेको हो ।

दोस्रो लेग अन्तर्गत मंगलबार राति इटालियन क्लब रोमाको मैदानमा भएको खेलमा बार्सिलोना ३–० ले पराजित भयो ।

पहिलो लेगमा ४–१ ले पराजित भएको रोमाले घरेलु मैदानमा स्टार खेलाडीले भरिएको बार्सिलोनालाई अवे गोल गर्न दिएन र समग्रमा ४–४ को बराबरी गर्दै अवे गोलका आधारमा अन्तिम ४ मा स्थान पक्का गर्न सफल भयो ।

बार्सिलोनाका लागि पहिलो लेगमा जित निकाले पनि रोमाले अवे गोल गर्नु र दोस्रो लेगमा पराजित भए पनि आफूले चाहिँ अवे गोल गर्न नसक्नु घातक बन्यो ।

दोस्रो लेगमा रोमालाई महत्वपूर्ण जित दिलाउने क्रममा इडेन डिजेको, ड्नियल डी रोसी र कोस्टास मानोलासले गोल गरे । छैठौँ मिनेटमा डिजेकोको गोलबाट रोमाले सुरुवाति अग्रता लियो ।

५८ औँ मिनेटमा पाएको पेनाल्टीमा डी रोसीले गोल गरे भने खेल सकिन ८ मिनेट बाँकी हुँदा रोमाका लागि मानोलासले महत्वपूर्ण तेस्रो गोल गरे ।

बार्सिलोनाले अवे मैदानमा गोल गर्ने प्रयास गरेको थियो तर त्यसमा सफल हुन सकेन । पहिलो लेगमा ४–१ को जित निकालेको बार्सिलोनालाई सेमिफाइनलमा पुग्ने बलियो सम्भावना भएको टिमका रुपमा हेरिएको थियो ।

तर रोमाले नतिजा उल्ट्याउँदै आफ्नो यात्रा तय गरेको हो । रोमा सन् १९८४ पछि कुनै पनि महत्वपूर्ण युरोपियन प्रतियोगिताको सेमिफाइनलमा पुगेको यो पहिलो पटक हो । यो खेलमा बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले गोल गर्न सकेनन् ।

चैत २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्