
फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले आफ्नो कम्पनी रुससँगको संघर्षमा रहेको बताएका छन् ।
रुसले आफ्नो सामाजिक सञ्जाललाई शोषण गर्न चाहेको र आफूहरु त्यस्तो हुन नदिनका लागि संघर्षमा रहेको अमेरिकी सिनेटरसँगको सार्वजनिक सुनुवाईको क्रममा फेसबुकका प्रमुख जुकरबर्गले बताएका हुन्।
उनले भने, ‘यो हतियारको दौड जस्तै हो, उनीहरु थप बलियो हुने क्रममा छन् ।’
क्याम्ब्रिज एनालिटिकाले झण्डै ९ करोड फेसबुक प्रयोगकर्ताको व्यक्तिगत जानकारी राजनीतिक उद्देश्य पूर्तिका लागि अवैध रुपमा प्रयोग गरेको घटनाका सम्बन्धमा भएको सुनुवाईको क्रममा जुकरबर्गले अमेरिकी सिनेटरको प्रश्नको जवाफ दिएका हुन् ।
क्याम्ब्रिज एनालिटिकाले फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा राजनीतिक उद्देश्य पूर्तिका लागि अवैध रुपमा प्रयोग गरेको सार्वजनिक भएपछि फेसबुक समस्यामा आएको छ ।
सिनेटरसँगको सुनुवाईको क्रममा जुकरबर्गले अमेरिकी चुनावमा रुसी दखलका बारेमा अनुसन्धान गरिरहेका विशेष काउन्सिल रोबर्ट म्युलरको टिमले आफ्ना कर्मचारीसँग पनि अन्तर्वार्ता गरेको खुलासा गरे । तर त्यस्तो अन्तर्वार्ता दिनेमा आफू भने नरहेको जुकरबर्गको भनाई छ ।
उनले भने, ‘म्युलरको टिमसँगको हाम्रो सहकार्य निकै गोप्य थियो र यो सार्वजनिक सेसनमा निकै गोप्य केही कुराहरु म सार्वजनिक गर्ने छैन ।’
गएको फेब्रुअरीमा म्युलरको टिमले १३ जना रुसी नागरिकले सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा दखल दिन खोजेको आरोप लगाएको थियो । त्यसमा तीन रुसी कम्पनी पनि थिए । यस्तो कम्पनीमा इन्टरनेट सर्च एजेन्सी पनि रहेको छ ।
जुकरबर्गले प्रयोगकर्ताको सुरक्षाका लागि फेक आइडी पत्ता लगाउनका लागि नयाँ टुल्सको विकास गरिरहेको बताएका छन् । जुकरबर्गले रुसमा त्यस्ता मानिस रहेको जसको काम नै फेसबुक र अरु इन्टरनेट सिस्टमलाई शोषण गर्नु रहेको बताएका छन् ।
सिनेटरले जुकरबर्गसँग सामाजिक सञ्जाललाई नजिकबाट कसरी नियमन गर्न सकिन्छ भनेर पनि सोधेका थिए । जुकरबर्गले आफूहरु सही नियमनकारी नीतिको पक्षमा सधैँ रहेको बताए ।
जुकरबर्गले प्रयोगकर्ताको जानकारी सुरक्षित गर्ने सवालमा आफूहरु चुकेको कुरा सुनुवाईको क्रममा स्वीकार गरे तर आफूहरु त्यो गल्ति सुधारका लागि प्रतिबद्ध रहेको पनि उनले बताएका छन् ।
यसअघि गएको हप्ता फेसबुकले औपचारिक रुपमा झण्डै ९ करोड प्रयोगकर्ताको व्यक्तिगत जानकारी अवैध रुपमा राजनीतिक उद्देश्य पूर्तिका लागि प्रयोग भएको हुन सक्ने स्वीकार गरेको थियो ।
८ करोड ७० लाख भन्दा बढी आफ्ना प्रयोगकर्ताको व्यक्तिगत विवरण राजनीतिक परामर्श दिने क्याम्ब्रिज एनालितिकाले अवैध रुपमा प्रयोग गरेको फेसबुकले जनाएको हो । यसअघि व्हिस्लेब्लोअर क्रिस्टोफर वाइलीले पाँच करोड फेसबुक प्रयोगकर्ताको जानकारी अवैध रुपमा प्रयोग भएको बताएका थिए ।
Senator Cortez Masto to Mark Zuckerberg: “I appreciate you being here, appreciate the apology, but stop apologizing and let’s make the change.” pic.twitter.com/yuLD8BeZZj
— BuzzFeed News (@BuzzFeedNews) April 10, 2018
फेसबुकका प्रमुख प्राविधिक अधिकृत माइकल श्रोएफरको ब्लगबाट यो आँकडा बाहिर आएको हो । फेसबुकका प्रमुख मार्क जुकरबर्गले आफूहरुले प्रयोगकर्ताको जानकारी सुरक्षाका लागि धेरै गरेको र अझै धेरै गर्न बाँकी रहेको बताएका छन् ।
सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको प्रचार प्रसार टिमले अनुबन्धित गरेको क्याम्ब्रिज एनालिटिका (सिए) ले फेसबुकका प्रयोगकर्ताको व्यक्तिगत विवरण लिएर त्यसलाई राजनीतिक प्रचारका लागि प्रयोग गरेको आरोप छ ।
बेलायतको लण्डनमा आधारित कम्पनी सिएले भने आफूले कुनै किसिमको गलत काम नगरेको दाबी गर्दै आएको थियो ।
बेलायती पत्रिका द गार्डियन र अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले फेसबुकका दशौँ लाख प्रयोगकर्ताको जानकारी अनधिकृत रुपमा प्रयोग भइरहेको र यसबारे फेसबुकले प्रयोगकर्तालाई जानकारी नदिएको भन्दै खबर छापेका थिए ।
यो खबर आएपछि फेसबुकले क्याम्ब्रिज एनालिटिकाको पेज बन्द गरेको थियो । एनालिटिकाले अनधिकृत रुपमा जानकारी संकलन गरेको र त्यसलाई डिलिट पनि नगरेको दाबी गरिएको छ ।
एनालिटिकाले बनाएको पर्सनालिटी क्वीज एप्लिकेशन मार्फत फेसबुक प्रयोगकर्ताको जानकारी संकलन गरिएको दाबी छ । यसरी संकलन गरिएको जानकारी सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको पक्षमा प्रचार गर्नका लागि प्रयोग भएको दाबी गरिएको छ ।