बार्सिलोना : गएको वर्ष ऐतिहासिक कमब्याक, अहिले अप्रत्यासित एक्जिट

गएको वर्ष च्याम्पियन्स लिगमै ऐतिहासिक कमब्याक गरेको बार्सिलोना यो वर्ष भने पराजित भयो ।

गएको वर्ष अन्तिम १६ को पहिलो लेगमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँग ४–० ले पारतिज भएर पनि दोस्रो लेगमा ६–१ को जित निकाल्दै बार्सिलोनाले अन्तिम ८ मा स्थान बनाएको थियो ।

तर यो वर्ष बार्सिलोनाका लागि च्याम्पियन्स लिगमा नमिठो अनुभव लिनुपर्‍यो । पहिलो लेगमा घरेलु मैदानमा दुई उपहार गोल पाएर रोमामाथि ४–१ को जित निकालेको थियो ।

पहिलो लेगको फराकिलो जितले बार्सिलोनालाई सेमिफाइनलमा पुग्ने टिमको सूचिमा अग्रस्थानमा पनि राखियो । तर मंगलबार राति भएको अवे मैदानको खेल बार्सिलोनाका लागि बिर्सन लायक बन्यो ।

इटालियन क्लब रोमासँग ३–० ले पराजित हुँदै बार्सिलोना अवे गोलमा पछि परेर प्रतियोगिताबाट बाहिरिन बाध्य भयो । गएको वर्ष बार्सिलोनाले गरे जस्तै कमब्याक यो वर्ष बार्सिलोनामाथि रोमाले गर्न सफल भयो ।

यसअघि सन् २००३–०४ को सिजनमा इटालियन क्लब एसी मिलान क्वाटरफाइनलको पहिलो लेगमा ४–१ कै जित निकालेर पनि अन्तिम चारमा पुग्न सफल भएको थिएन ।

त्यसबेला पहिलो लेगमा हारेको स्पेनिस क्लब डिप्रोटिभो डी ला कोरुनाले दोस्रो लेगमा ४–० को जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको थियो ।

मंगलबार रातिको हार बार्सिलोनाका लागि धेरै अर्थले नमिठो रह्यो । रोमालाई पहिलो लेगमा अवे गोल गर्न दिनु र आफूले अवे गोल गर्न नसक्नु, पहिलो लेगमा उपहार गोल त्यो पनि दुईवटा पाएर पनि दोस्रो लेगमा अग्रता जोगाउन नसक्नु बार्सिलोनाका लागि गएको वर्षको ऐतिहासिक कमब्याक बिर्साउने माध्यम बने ।

च्याम्पियन्स लिगमा बार्सिलोनाको पछिल्ला सिजनमा उपस्थिति खराब छ । बार्सिलोना लगातार तीन सिजन क्वाटरफाइनलबाट अघि बढ्न सकेको छैन ।

रोमासँगको पराजय क्याटालान जाइन्ट बार्सिलोनाको पछिल्लो इतिहासमा सबैभन्दा अत्यारिलो हार हो । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा रोमाका खेलाडी मैदानका सबै कुनामा पुग्न भ्याए, यसले उनीहरुलाई प्रायः असम्भव मानिएको नतिजा उल्ट्याएर अघिको यात्रा तय गर्न सफल बनायो ।

बार्सिलोनाको यो हारलाई च्याम्पियन्स लिगमा उसको ओरालो लाग्दो अवस्थाका रुपमा पनि चित्रित गरिएको छ ।

चैत २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्