के के काम गर्ने ?

‘जनप्रतिनिधि त भइयो, तर हामी नै अन्यौलमा छौँ’

दाङ – ‘हिंसाका घटनामा कमी आएको छ भनौँ कि घटना सार्वजनिक हुने क्रमम बढेको छ । हाम्रो प्राथमिकतामा लिंगका आधारमा हुने हिंसाका घटना कम गर्ने, सकेसम्म हुनै नदिनेमा छ । तर प्राथमिकता भएर पनि त्यस अनुसार अहिलेसम्म काम गर्न भने सकिएको छैन ।’

यो दाङको राजपुर गाउँपालिकाको वडा नम्बर ५ का अध्यक्ष नरेन्द्र भण्डारीको भनाई हो । नयाँ संरचना अनुसारको स्थानीय तहको चुनाव भएर स्थानीय बासिन्दाले जनप्रतिनिधि पाएको वर्षदिन पुग्न अब एक हातमै गन्दा पनि औँला बाँकी रहेन महिना छ ।

स्थानीय तहमा कानूनी रुपमा नै महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएकाले वडामा कम्तिमा दुईजना महिला जनप्रतिनिधि छन् । उनीहरुले गाउँका अरु समस्यासँगै विशेष गरी महिला तथा बालिकामाथि हुने हिंसा र बाधाहरुको विरुद्धमा आवाज उठाउने अपेक्षा गरिएको छ ।

तर अहिलेसम्म पनि प्रभावकारी रुपमा कामको सुरुवात हुन नसकेको कुरा राजपुर–५ का वडा अध्यक्ष भण्डारीको भनाईले प्रष्ट पार्छ ।

‘जनताका काम गर्न हामी निर्वाचित भएर आएपछि केही सहज त भएको छ । तर स्रोतको कमी र के गर्ने र कुन कुरालाई कस्तो प्राथमिकता दिने भन्नेमा रहेको अन्यौलको अवस्थाले अप्ठ्यारा पनि उत्तिकै छन्’ वडाध्यक्ष भण्डारीले भने, ‘महिलामाथि हुने हिंसा तथा उनीहरुको सवलिकरणका लागि गर्नु पर्ने काम हाम्रो प्राथमिकतामा छ । तर विकासका काम गर्नु पर्ने दबाबका कारण यस्ता काम ओझेलमा परेका छन् ।’

राजपुरमा महिला हिंसा न्युनिकरणका लागि काम गर्दै आएको साथी संस्थाको आस्था परियोजना र स्थानीय सामाजिक संस्था सिसा नेपालको सहकार्यमा काम भइरहेको छ ।

यसले गर्दा त्यहाँका महिला तथा स्थानीय जनप्रतिनिधिमा लैंगिक आधारमा हुने हिंसा विरुद्ध कामलाई प्राथमिकता दिनु पर्छ भन्ने थाहा छ । तर आपसी समन्वय र सहकार्यको पाटो भने फितलो हुँदा समस्या भएको स्थानीय जनप्रतिनिधि र काम गर्दै आएका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु नै बताउँछन् ।

थाहा छ तर थाहा छैन


स्थानीय तहमा चुनिएर आएका महिला जनप्रतिनिधिलाई आफूहरुलाई प्राप्त अधिकार र गर्न सकिने कामका बारेमा अहिलेसम्म जानकारी नहुनु मुख्य समस्याको रुपमा रहेको छ । संघसंस्थाका काम र स्थानीय निकाय अनि स्वयम् महिलाको जागरुकताका कारण हिंसा सहनु हुँदैन भन्ने थाहा पाउने क्रम बढेको छ ।

तर चुनिएका जनप्रतिनिधिलाई आफूहरुले के के गर्न सकिन्छ भन्ने थाहा नहुनु अनि महिलाहरुमा पनि उजुरी वा आफूमाथि भएका समस्या जनप्रतिनिधिलाई सुनाउँदा उचित समाधान पाइन्नछ भन्ने विश्वासको अवस्था नआउनु समस्याको रुपमा रहेको छ ।

‘जनप्रतिनिधि त भइयो तर के गर्ने भन्ने जानकारी त्यति छैन । हामी त अन्यौलमा छौँ’ राजपुर गाउँपालिका वडा नम्बर ५ कि महिला सदस्य राधा भण्डारीले भनिन्, ‘महिलाको अवस्था त पहिले भन्दा केही सुधार भएको छ तर हामीले जनप्रतिनिधि भएर फेरिँदै गरेको परिवेशलाई थप टेवा पुर्‍याउन भने त्यति सकेका छैनौँ । हामी आफै अन्यौलमा छौँ । केही तालिम पाए हुने थियो जस्तो लाग्छ ।’

आफूहरुमाथि आफ्ना लागि मात्रै नभएर गाउँका महिलाका लागि पनि बोल्नु पर्ने जिम्मेवारी आएको तर आफूहरु नै अहिले त्यति बलियो रुपमा बोल्न सक्ने नरहेको अनुभव राजपुर गाउँपालिका वडा नम्बर ५ की दलित महिला सदस्य मायादेवी नेपालीको अनुभव छ ।

समन्वयको खाँचो


राजपुर–५ मात्रै होइन त्यहि गाउँपालिकाको वडा नम्बर २ मा पनि अवस्था लगभग उस्तै छ । महिलामाथि हुने हिंसाका कुरा बाहिर आउने, महिला आफै बोल्न सक्ने र पुरुषले पनि त्यस्ता कुरामा बोल्नका लागि सहयोग गर्ने क्रम त बढेको छ तर जनप्रतिनिधि आइसकेपछि जे हुन्छ भन्ने अपेक्षा थियो त्यो भने पूरा हुन नसकेको अवस्था रहेको स्थानीय अधिकारकर्मी बालिका पोखरेलले बताइन् ।

आफूहरुले गर्दै आएको काम अब गाउँपालिकामा बनेको न्यायीक समितिले गर्ने हो कि भन्ने लागेर आफूहरु अहिले निश्क्रिय जस्तै बसेको महिला सञ्जालकी प्रतिनिधि पनि रहेकी पोखरेलले बताइन् ।

न्यायीक समितिका मानिसहरुले आफूहरुलाई नखोजेको पोखरेलसहितका महिलाको गुनासो छ । तर वडा नम्बर २ बेलाका अध्यक्ष दुर्गाप्रसाद शर्माले भने अब आफूले समन्वयका लागि पहल गर्ने बताउँछन् ।

चैत २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्