वाणिज्यमन्त्री तथा माओवादी नेता मातृका यादवसँग अन्तर्वार्ता

‘बाम एकता गर्न हतार गर्नु हुँदैन’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव।

नयाँ दिल्ली: नेकपा एमाले र माओवादीबीच एकताको तयारी अन्तिम चरणमा पुगेको बताइरहेका बेला त्यसलाई लिएर आशंका उत्पन्न भएको छ। पार्टी एकतालाई आधार बनाउँदै गठबन्धन निर्माण गरी चुनावमा जित हासिल गरेका यी दुई पार्टीको संयुक्त रुपमा सरकार गठन भइसकेकोे र दुईवटा कार्यदलको प्रतिवेदनबाट एकताको आधार आइसकेको अवस्थामा एकता हुँदैन कि भन्ने अड्कलबाजी सुरु भएको छ। त्यसो त पार्टी एकताका लागि पटकपटक  मिति घोषणा गर्ने र सार्ने काम पनि उत्तिकै भएको छ। पछिल्लो समय वैशाख ९ गते पार्टी एकताको औपचारिक घोषणा गर्ने निर्णयमा वाम गठबन्धका नेताहरु पुगेका छन्। तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकताका लागि केन्द्रीय कमिटीमा ५०/५० प्रतिशत बाँडफाँट हुनुपर्ने अडान दोहोर्‍याउँदा र त्यो सम्भावना भएको जवाफ एमाले नेताले दिँदा पार्टी एकतामा प्रश्न उठेको हो।

यसैबीच माओवादीका नेता एवं वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले पार्टी एकता हतारमा गर्न नहुने बताएका छन्। प्रधानमन्त्री केपी ओलीसँग भारत भ्रमण गरेर स्वदेश फर्किएको भोलिपल्ट नै पुन मन्त्रीस्तरीय १६ औं अन्तर्राष्ट्रिय उर्जा सम्मेलनमा भाग लिन दिल्ली आइपुगेका यादवले त्यस्तो धारणा राखेका हुन्। पार्टी एकताका विषयमा देशसञ्चारकी संवाददाता दीपा दाहालले यादवसँग गरेको संक्षिप्त कुराकानी।

विज्ञापन

१) एमाले र माओवादीबीचको एकता तोकिएको मितिमा हुन्छ ?

त्यस्तो लाग्दैन मलाई। वास्तवमा भन्ने हो भने एमाले र माओवादीको पार्टी एकता हतारमा गर्न पनि हुन्न । पर्याप्त गृहकार्य र छलफलबिना एकताको लागि मिति तोक्नु उपयुक्त हुन्न। पार्टी एकता चुनाव आइसक्यो, अब गठबन्धन बनाइहालौँ भने जस्तो होइन। धेरै कुरा माझ्नु पर्छ। चुनावका बेला र त्यसयता भएका सहकार्यको पनि समीक्षा हुनुपर्छ । माओवादी केन्द्रबाट कहाँकहाँ त्रुटि भयो र एमालेबाट कहाँकहाँ त्रुटि भयो? त्यसको समीक्षा गर्नुपर्छ। हामी अझै धेरै ठाउँमा जित्न सक्थ्यौं किन हार्‍यौँ भन्नेमा पनि छलफल हुनुपर्छ।

२) वाम गठबन्धनभित्र पनि पार्टी एकता नचाहने पनि होला नि ?

एकता नचाहने पनि छन् पार्टीभित्रै पनि। हतारमा एकता गरेर बिग्रियोस् भन्ने पनि छन्। त्यसैले पार्टी एकताको मिति हतारमा तोक्नु हुन्न भन्ने मेरो आग्रह छ। बरु थप छलफल गरौं र एकतालाई सहज बनाऔं । तलदेखि माथिसम्म कसरी संरचना तयार गर्ने त्यसबारे पहिल्यै छलफल गर्राैं र राम्रो गृहकार्य गरौं भन्ने मेरो धारणा छ। माथि गरिहाल्ने तर तलको नमिलाउँदा समस्या देखिने छ। पहिला एकअर्काको व्यवहार पनि बुझ्नुपर्छ । त्यसो गर्दा को एकता प्रेमी हो, को विरोधी हो त्यसको पहिचान पनि हुन्छ । त्यसैले मलाई लाग्छ पार्टी एकताका लागि हतार गर्नु हुन्न । केही समय लिँदै सबै कुरा बिग्रन्छ भन्ने लाग्दैन । मिति नै तोकिहाल्नेतिर लाग्नहुन्न । तर त्यो भन्दैमा एकता नै नगर्ने भनेको होइन । एकता गर्दा विचार पुर्‍याएर, छलफल गरेर मात्र गरौं भन्ने मेरो धारणा हो ।

मातृका यादव।

३) एमाले पंक्तिबाट तपाईंहरुले खोजेजस्तो आधाआधा सम्भव छैन प्रष्ट जवाफ आइसकेको होइन र ?

प्रधानमन्त्री केपी ओलीबाट पार्टी एकताको विपक्षमा त्यस किसिमको अभिव्यक्ति आएको जस्तो लाग्दैन । हुन त नेताहरुलाई भविष्यको चिन्ता पनि छ । तर, अहिले बाहिर आएको जस्तो यति नै हुनुपर्छ र यसरी नै हुनुपर्छ भनेर तत्काल एकता गर्दा राम्रो नतिजा आउने छैन। त्यसैले दुवै तर्फको पूर्ण सहमतिमा एकता हुनुपर्छ, अर्थात एकताका लागि दुवैको एक मत हुनुपर्छ। समय लगाएर दुई पार्टीका शीर्ष नेताले बढी काम गर्नुपर्छ । संयोजन समितिमा पनि बढी छलफल हुनुपर्छ र आआफ्नो पार्टीमा पनि बहस हुन आवश्यक छ। सरकारमा भएका बेला पनि एकताको प्रदर्शन हुनुपर्छ ।

४) गाँठो कहाँ परेको हो त ?

सरकार पनि एउटै पार्टीको हो भन्ने पनि देखाउनु पर्‍यो नि। त्यो नदेखाई पार्टी एकता भयो भने त झनै समस्या आउँछ। नेताहरुको अघि राम्रो अवसर छ। जनताको सेवामा एकतावद्ध भएर काम गर्ने एउटा राम्रो अवसर छ। सरकार सञ्चालनमा छलफल गर्ने परिपाटी बसाल्नुपर्छ। तबमात्र पार्टी एकता सही ढंगले हुन्छ र त्यो दीगो पनि हुन्छ। र, जनमतको कदर पनि हुन्छ । यो माओवादीको मन्त्रालय हो, त्यो एमालेको मन्त्रालय भन्ने भावना विकसित भयो भने पार्टी एकतामा समस्या आउन सक्छ। सरकारले एकीकृत योजना बनाउनुपर्छ र त्यसमा बराबरी हैसियत दिएर काम गर्नुपर्छ। कुनै निर्णय वा काम गर्ने बेलामा पार्टी हेरियो भने त एकता अघि बढ्न सक्दैन।

५) त्यो सम्भव छ त ?

चुनावका बेला वाम गठबन्धन बनाएर सहजै टिकट वितरण गर्‍यो र नतिजा पनि राम्रो आयो । त्यसमा भएका कमीकमजोरी सुधार गरेर त्यो भन्दा पनि राम्रो नतिजा ल्याउन पार्टी एकता गर्नुपर्छ। पछि समस्या आउँछ भने अहिले किन हतारमा पार्टी एकता गर्ने? पार्टी एकताको गम्भीर विषय हो।

६) पार्टी एकता हुनेमा शंका व्यक्त हुन थालेको छ नि?

पार्टी एकीकरणलाई जनताले स्वीकारिसकेका छन्, त्यसको परिणामबाट हामी सरकारमा आइसकेका छौं । यो कुरा विर्सन हुन्न । म ठूलो पार्टीको हुँ भनेर कसैले पनि दम्भ राख्नहुन्न । यसो त म जति पनि बैठकमा सहभागि भएको छु, त्यसबाट कसैले पनि एकता नचाहेको जस्तो देख्दिन । तर पार्टी एकता सम्मानजनक नै हुनुपर्छ । चुनावका बेला निर्माण गरिएको गठबन्धनको एउटा कुरा हो, पार्टी एकता भिन्न कुरा हो। यी भिन्नभिन्न विषयलाई एउटै आँखाले हेर्न हुन्न ।


देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

चैत्र २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्