जो विदेशबाट आएका कफिन बोकेर घरघर पुर्‍याउँछन्

१३ वर्षदेखि गाउँगाउँ कफिन पुर्‍याउँदै आएका हिरालाल ढकाल। सबै तस्बिरहरु: बर्षा शाह

‘हाँसी खुशी जिन्दगी चल्छ, मेहनत गरे नेपालमै सुन फल्छ।’ काभ्रेको बनेपा ५ का हिरालाल ढकालले छानेका शब्द हुन् यी। उनको बा १७ च ३६२६ नम्बरको शववाहनमा लेखिएका यी शब्दले आफ्नै पीडा बोलेजस्तो लाग्छ। तर, हिरालालको लिला भने यही शव वाहनसँगै चल्दैछ।

उनको जिन्दगी यही शववाहनमा लाससँगै दौडिरहेको छ, १३ वर्षदेखि। २०६१ सालदेखि शव वाहन चलाउन थालेका हिरालालले कति शव ओसारे हिसाबकिताब छैन। शव वाहन नचलाएको दिन भने कमै छन्।

२०६६ सालदेखि त वैदेशिक रोजगारीमा ज्यान गुमाउने नेपालीका शव ओसार्ने जिम्मा नै पाएका छन्। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले विदेशमा ज्यान गुमाउने २४ वटा जिल्लाका नेपालीको शव घरसम्म पुर्‍याउने जिम्मा उनैलाई दिएको छ। अरु जिल्लाको शव ओसार्ने अरु तीन वटा कम्पनी छन्।

आफ्नो शववाहनमा लास बोकेरै लिलाराज ७० जिल्ला पुगिसकेका छन्। सुरुमा विदेशमा ज्यान गुमाउने नेपालीको शव घरसम्म पुर्‍याउने जिम्मा सरकारको थिएन। पीडितले आफैं लानुपर्थ्यो। बोर्डले जिम्मा दिनु पहिले नै शवसहितका बाकससँगको जीन्दगी सुरु भएको थियो उनको।

सुरु सुरुमा डराउँथे, अनुमान लगाउँथे, ‘यो बाकसभित्र शव कसरी राख्दा हुन्? यसभित्र साँच्चै लास होला त?’

जसको लास आउँथ्यो उनका आफन्तले पनि पहिलेपहिले नौलै मान्थे। खोलेर नदेखेसम्म विश्वस्त हुँदैनथे, ट्रलीमा गुडाउँदै बाहिरसम्म ल्याएका लास उनले नै लोड गर्नुपर्थ्यो। लास ओसार्ने क्रममा सङ्गालेका थरिथरिका अनुभव हिरालालसँग थरिथरिका छन्।

उनी पहिलोपल्ट २०६१ सालमा साउदीमा ज्यान गुमाएका एक युवकको लास बोकेर चितवन पुगेका थिए। त्यहिँबाट सुरु भयो उनको लास ओसार्ने दैनिकी। त्यतिबेला उनलाई पनि डर लागेको थियो। अरु सामान बोकेकोभन्दा छुट्टै अनुभव पनि। सडकमा हिँड्दा शव वाहनलाई जो कोहिले बाटो छाडिदिन्छन्, कति त डराउँछन् पनि। उनलाई भने लास बोक्दा सडकमा डर लाग्दैन, मनोबल नै उच्च हुन्छ। सडक उनका लागि खालि गरिन्छ। सबै गाडीले साइड दिन्छन्।

छोराछोरी पढाउन काभ्रेबाट काठमाडौं आएका थिए हिरालाल। सुरुमा उनी हाते ट्रयाक्टर चलाउँथे। पछि मेलम्चीसम्म यात्रुबाहक बस चलाए। त्यसपछि शव वाहन चलाउन थालेका हुन्।

उनले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट ल्याइएका शवमात्र बोक्दैनन्। कतिपय अवस्थामा बोर्डबाहेक मृतकका आफन्तले पनि उनलाई शव बोकिदिन अनुरोध गर्छन्। यस्ता धेरै शव हिरालालले ओसारेका छन्।

पछिल्लोपटक शव लिएर शुक्रबार झापा गएका हिरालाल शनिबार फर्किए। यो यात्रामा अर्को बेदना थपियो। जसको दुवईमा ज्यान गएको थियो, उनकी श्रीमतीलाई त श्रीमान बितेको पत्तै रहेनछ। झापा पुग्नुभन्दा सय किलोमिटर पहिले सप्तकोशी तर्ने बेलामा मृतकका आफन्तले उनकी श्रीमतीलाई घटनाबारे सुनाउँदा उनलाई वज्रपात परेको हिरालालले शववाहन चलाउँदै गर्दा थाहा पाए। हिरालाल भन्छन्, ‘कस्तो बिडम्बना छ हगि सर..! आफ्नै श्रीमानको मृत्यु पनि ढाँट्छन्।’

झापाको जयपुरमा त्यो शव खसालेर उनी फर्किए। शव पुर्‍याएपछि सुरु हुने रुवाबासीमा बस्न उनलाई पनि गाह्रो भयो। रुवाबासी सुरु भएपछि उनलाई पनि मन थाम्न गाह्रो हुन्छ। हिरालालले भने, ‘शव वाहन चलाए पनि हाम्रो पनि मनै न हो, अरु रोएको देख्दा मन थाम्नै गाह्रो हुन्छ। तर सधैं यस्तै हो पीडा लुकाउन चाहिँ बानिपरिसकियो।’

शव लिएर काठमाडौंबाट गएपछि सुत्न काठमाडौं नै फर्किनुपर्छ। टाढाका जिल्ला जाँदा साथी लिएर जान्छन् र पालैपालो गाडी चलाउँछन्। एउटाले गाडी चलाउँदा अर्को पछाडी कफिनसँगै सुत्छन्। कफिन (शव प्याक गरिएको बाकस) पुर्‍याएर स्थानीय प्रशासनले शव ल्याएको प्रमाणित गरेको पत्र लिएर फर्किन्छन्।

गफिँदै जाँदा हिरालालले सोधे– ‘यतिधेरै मान्छे कसरी मर्दा हुन्?’

तर मसँग भन्दा बढी जवाफ उनैसँग होला भनेर मैले यही प्रश्न सोधें उनलाई– ‘साँच्चै कसरी मर्दा हुन् दाइ?’

‘खै सर…बाकस बाहेक केहि देखिँदैन, बाकसको बाहिर लेखेको हुन्छ कुन देशबाट आएको रहेछ भन्नेसम्मचाहिँ थाहा हुन्छ,’ उनले भने।

हिरालालको काम नै गाडी जाने ठाउँसम्म पुर्‍याएर फर्किनु हो। शव झारिसकेपछि उनी आफ्नो प्रक्रिया (प्रमाणित गराउने) पूरा गर्नतिर लाग्छन्।

कहिलेकाहिँ त साह्रै पीडित परिवारसँग भेट्नु पर्छ। २०७१ सालतिरको कुरा होला! उदयपुरको नासु गाउँमा एउटा शव लिएर पुगेका थिए। परिवारको साह्रै विजोग देखे। परिवारसँग लास जलाउने खर्च समेत थिएन। फेरि उनीहरुले गुमाएको मान्छे अवैधानिक अवस्थामा बसेका कारण सरकारले दिने आर्थिक सहायता पनि पाएनन्। उनीहरुको त्यो अवस्था देखेर पनि सहयोग गर्न नसकेको सम्झिँदा अहिले पनि पछुतो लाग्छ हिरालाललाई।

‘फिल्डमा के के देख्नु पर्छ पर्छ सर, नसम्झिउँ होला !’ उनलाई पनि ती सबै सम्झिसाध्यै छैन अथवा सम्झेर आफ्नै मन गह्रौं बनाउन चाहेनन् उनले। उनको कम्पनीमा अरु ५ जना शव वाहन चालक छन्। उनीहरुले भने अरुको दुख सुनाउँदैनन्। आफ्नै दुख भने लिएर आउँछन्। उनीहरुको पनि पीडा हिरालालको भन्दा फरक हुँदैन।

कहिलेकाहिँ शव लिएर मध्यरातमा गन्तव्य पुग्छन् उनी। मृतकका आफन्तले उज्यालो नभई शव बुझ्न मान्दैनन्। सुत्ने ठाउँ नहुने र शव छाडेर जान नमिल्ने भए पनि उनलाई भने कतिबेला फर्किनु जस्तो हुन्छ। हिरालालले भने, ‘हाम्रा पनि दुख त कति छन् छन् नि सर के गर्नु, शव लिएर पुगेको मलामीलाई पनि उनीहरुले त्यस्तो ठान्दैनन्।’

‘सरकारले पठाएका मान्छे हुन् यिनीहरु, हामीले जे जे भने नि मान्नुपर्छ जस्तै गर्छन् मृतकका आफन्त’, लिलाराजले झापाको एउटा घटना सुनाए। भद्रपुरमा शव लिएर जाँदा मृतकका आफन्तले शव बुझ्न मानेनन्। दाह संस्कार गर्ने पैसा नभएसम्म शव बुझ्दैनौं भने। काजकिरिया गर्न २५ हजार नभएसम्म नछाड्ने भनेर हिरालाललाई निक्कैबेर अप्ठेरोमा पारे। त्यो घटना अझैपनि हिरालालको मनमा बिझेको छ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले हो आर्थिक सहायता दिने भन्ने सबै परिवारलाई थाहा छैन। हिरालालले भने, ‘मलाई नि के थाहा र, कसले कहाँ कहाँबाट कति पाउँछन् भन्ने’, गुनासो गर्दैगर्दा हिरालालले आफैं चित्त बुझाए, ‘मान्छे थरिथरिका हुन्छन् तर केही छैन।’

चितवनको माडीका एक युवाको शव साउदीबाट २ वर्ष २२ दिनपछि आएको थियो। नेपालीले नै आगो लगाएर मारेका रहेछन्। उसको हाड मात्रै बोकेर गए हिरालाल। त्यो शवचाहिँ हेरेर मात्रै फर्किन मन लाग्यो उनलाई। बाकस खोलेर हेर्दा मान्छेको आकृति नै थिएन। हिरालालले सोचे, ‘त्यो शव उसैको थियो त, कसरी चिन्छन् होला हड्डी मात्रै हेरेर?’ आफैं अनुमान लाए, ‘कतिले त अर्काको शव पनि आफ्नो ठानेर जलाउँदा हुन्।’

१३ वर्ष शव ओसार्दा उनले खुसीको अनुभव नगरेका भने हैनन्। गएको तिहारतिरको यस्तै घटना याद छ उनलाई। इलामको एउटा शव बुझेर आफन्त जहाजमा गए। परिवारले घरको फोन नम्बर मात्रै दिएका थिए। हिरालाल एक्लै शव लिएर घर सोध्दै पुगे। घरमा शव पुर्‍याउनासाथ आफन्तले हिरालाललाई घेरे र प्रशंसा गर्न थाले, ‘एक्लै काठमाडौं देखि लास बोकेर आउने कस्तो आँटिलो ड्राइभर रहेछ।’

चिया खाजा खान पनि आग्रह गरे। शव बोकेर पुग्दा परिवारसँग मज्जाले कुरा गरेका घटना बिरलै छन्। धेरै ठाउँमा शव लिएर पुग्दा कागजात प्रमाणित गर्न समेत सहयोग नपाएका हिरालालले नयाँ ठाउँमा गएर कागजात प्रमाणित गराउन र बाटोमा प्रहरीले सोधेर हैरान पार्ने गरेको दुखेसो पनि गरे।

जब वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट फोन आउँछ, पत्र बुझेर विमानस्थलतिर लागिहाल्छन् उनी। शव वाहनको अगाडि चालक बाहेक दुई जना मात्रै बस्न मिल्छ। तर, शव बुझ्न आउने आफन्त धेरै जना हुन्छन्। उनीहरु कफिनसँगै पछाडि बसेर जान्छन्। उनले भने, ‘त्यस्तो अवस्थामा भएका मान्छेलाई कसरी हुन्न भन्नु आफैं जिम्मेवार हुनुस् भनेर लान्छु।’

घरिघरि त हिरालाल पनि बहकिन्छन्, अनि सोच्छन्, ‘मलाई त के लाग्न थाल्यो भने नि, अब त नेपालमा मान्छे नै रहँदैनन् जस्तो। चार वटा कम्पनीले मान्छे ओसारेका ओसारै छन् बाकसमा। यी कम्पनीले कहिल्यै खालि बस्नु पर्दैन। एउटा शव पुर्‍याएर आउँदा अर्को शव आइरहेको हुन्छ।’

विदेशबाट आउने शव केहीले मात्रै पशुपतिमा दाहसंस्कार गर्छन् नत्र धेरैले घरमै पुर्‍याउँछन्। र, आफ्नै ठाउँबाट अन्तिम विदाइ गर्छन्। यसरी विदा हुनेमध्ये यो महिनामात्रै हिरालालको कम्पनीबाट २५ वटा शव घर पुर्‍याए। यसरी शव ओसार्ने काम हिरालाललाई धर्म पनि हो भन्ने लाग्छ।

त्यसो त अरुका शव ओसार्दा ओसार्दै आफ्नो र परिवारको पीडा पनि भुल्नु परेको छ। २०७२ सालको भूकम्पमा हिरालालका हजुरवुवाको निधन भयो। तर हिरालालले हजुरवुवाको अन्तिम बसाइ गर्न र मलामी जान पनि पाएनन्। त्यही दिन हिरालाल विदेशबाट आएको शव लिएर इलामतिर लागे। फर्किंदा अर्को शव ठिक्क परेको थियो। फेरि त्यो पुर्‍याउन गए। तर आफन्त गुमाउँदा आफू नभएकोमा पनि उनलाई गुनासो छैन।

‘जिन्दगीमा मलाई कुनै गुनासो छैन, दिनरात लास बोक्नु परेको छ जस्तो पनि लाग्दैन’, हिरालाल भन्छन्, ‘तर नेपाली विदेशमा नमरे हुन्थ्यो जस्तोचाहिँ लाग्छ।’

चैत २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्