पत्रकारिता दिवसको नारा तय

काठमाडौं – राष्ट्रिय पत्रकारिता दिवसको यस वर्षको नारा ‘समृद्धि र सुशासनका लागि आमसञ्चारको अभियान’ तय गरिएको छ ।

‘तेस्रो राष्ट्रिय पत्रकारिता दिवस’ मनाउने सन्दर्भमा गठित मूल समारोह समितिको सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधबार बसेको बैठकले सो नारा तय गरेको हो ।

आगामी वैशाख २४ गते पत्रकारिता दिवस मनाउन सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको थियो ।

बैठकमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

वैशाख २३ देखि २५ गतेसम्म मनाइने सो दिवस अवधिभर पत्रकारिताबारे विभिन्न गोष्ठी, कार्यपत्र प्रस्तुत तथा विभिन्न सञ्चारमाध्यमबाट प्रचारात्मक अभियान सञ्चालन गरिनेछ ।

चैत २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्