पोखरा – पोखरा लेखनाथ महानगरपालिकाको दोस्रो नगरसभा बैठकले आवश्यक १७ वटा कानुन पारित गरेको छ ।

सभाले कृषि प्रसारको व्यस्थापन, संचालन र नियन्त्रण विधेयक, कृषि व्यवसाय प्रवर्द्धन विधेयक, न्यायिक समिति विधेयक, सार्वजनीक निजी साझेदारी विधेयक, स्थानीय सेवा नियमावली, विधायन समिति नियमावली, फोहोरमैला व्यवस्थापन नियमावली, सहकारी नियवमाली, शिक्षा नियमावली, शहरी योजना आयोगको गठन तथा संञ्चालन सम्बन्धी नियमावली, उपप्रमुखसँग महिला कार्यक्रम सञ्चालन कार्यविधि, महानगर भवन निर्माण तथा नक्सा पास निर्देशिका, बजार अनुगमन निर्देशिका, स्वास्थ्य नीति, पशु पक्षी पालन नीति, कृषि नीति विज्ञापन बोर्ड तथा प्रचार सामग्री नियमन गर्ने नीति पारित गरेको छ । १८ वटा विधेयक पेश भए पनि सार्वजनिक निजी साझेदारी नीति चाहिँ पारित भएन ।

तत्कालका लागि आवश्यक विधेयक पारित भएकाले महानगरलाई काम गर्न केही सहज हुने मेयर मानबहादुर जिसीले बताए । बैठकमा पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीले सभामा पेश गदै विधेयक, नीति, निदेर्शिका, नियमावली र कार्यविधिमा भएका भाषिक त्रुटिलाई सच्याएर राजपत्रमा प्रकाशन गरिने जानकारी गराउँदै नगर सभासदको मत विभाजनका आधारमा सर्वसम्मत रुपमा पारित भएको उपमेयर मञ्जु गुरुगले जानाकारी दिइन् ।

सभाका अध्यक्ष एवं मेयरले प्रस्ताव पेश गर्दा सभामा सर्वसम्मत पारित भएको र त्यसलाई छिट्टै राजपत्रमा प्रकाशन गरि लागु गरिने उनले बताइन् ।

विधायन समितिका संयोजक पोखरा वडा नम्वर १९ का अध्यक्ष शोभामोहन पौडेलले दफावार छलफल र विज्ञहरुसंगको लामो छलफलपछि तयार पारिएको बताउँदै त्यसमा भएका भाषिक त्रुटिलाई सच्याउँदै महानगरको कानुनका रुपमा ल्याउने जानकारी दिए ।

यसैबिच महानगरले २०७५ लाई सार्वजनिक सम्पत्ति संरक्षण वर्षको रुपमा मनाउने निर्णय गरेको छ । महानगर क्षेत्रमा रहेका सार्वजनिक जग्गा र प्राकृतिक श्रोतको संरक्षण गरी महानगरको दायराभित्र ल्याउने योजना अनुसार कार्यक्रम तय गरिएको मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले बताए ।

चैत २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्