डिपिएल : उद्घाटन खेलमै खेलेका टिम उपाधिका लागि प्रतिस्पर्धा गर्दै

धनगढी – सर्वत्र चर्चा र चासोको विषय बनेको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको उपाधिका लागि साविक विजेता तथा घरेलु टिम धनगढी चौराहा र काठमाडौं गोल्डेन्स शुक्रबार प्रतिस्पर्धा गर्दैछन् । खेल दिउँसो साढे १२ बजेदेखि धनगढीको संघीय ईकाई प्रहरी कार्यालयको मैदानमा सुरु हुनेछ ।

काठमाडौं गोल्डेन्सलाई हराउँदै टिम चौराहा धनगढी फाइनल पुगको थियो भने काठमाडौंले बिहीबार महेन्द्रनगर युनाईटेडलाई पराजित गर्दै चौराहासँगको भेट पक्का गरेको हो ।

उपाधिका लागि खेल्न लागेका दुई टिमबिच संयोग के परेको भने उनीहरुले उद्घाटन खेलमा खेलेका थिए । काठमाडौं गोल्डेन्सले टिम चौराहा धनगढीलाई पराजित गर्दै उद्घाटन खेलमा विजयी सुरुवात गरेको थियो भने टिम चौराहा धनगढी काठमाडौंमाथि सनसनीपूर्ण जित निकाल्दै फाईनल प्रवेश गरेको थियो ।

काठमाडौं गोल्डेन्सले उद्घाटन खेलमा ७ विकेटले हराएको बदला टिम चौराहा धनगढीले क्वालिफायरको पहिलो खेलमा लियो । उसले निकै रोमाञ्चक र सनसनीपूर्ण खेलमा १ विकेटको जित मात्रै निकालेन फाइनलमा स्थान सुरक्षित बनायो ।

जारी प्रतियोगितामा फाइनलमा पुगेका दुई टोली तेस्रो पटक भिड्न लागेका हुन । यसअघि भएका खेलमा एक/एक जित निकालेका छन् ।

प्रतियोगितामा काठमाडौं ७ खेलमध्ये ६ खेलमा जित निकाल्दै ९ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ भने चौराहा ६ खेलमध्ये ४ जित्दै ६ अंकका साथ अक तालिकाको दोस्रो स्थानमा छ ।

प्रतियोगितामा काठमाडौं गोल्डेन्सका खेलाडीहरुले राम्रो प्रदर्शन गरिरहेका छन् ।

राष्ट्रिय टोलीका उपकप्तान समेत रहेका काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ल केही लयमा फर्केका छन् ।

डिभिजन टु देखि विश्वकप छनौटमा खराब प्रदर्शन गर्दै क्रिकेट पे्रमीलाई निराश बनाएका मल्लले डिपिएलमा त्यो गल्ती गरेका छैनन् ।

उनले अहिलेसम्मका खेलमा कप्तानी पारी खेलका छन् । उनीसँगै नरेश बुढाएर, ललित राजवंशी, अमित श्रेष्ठले पनि राम्रो प्रदर्शन गरिरहेका छन् ।

काठमाडौंको जितका लागि विदेशी खेलाडी सुबोध भाटी र सन्नी पटेल महत्वपूर्ण सदस्य हुन् । उनीहरुले बिहीबार भएको खेलमा प्रतियोगितामै कीर्तिमान समेत कायम गरेका छन् ।

भाटीले आक्रामक पारी खेल्दै १८ बलमा ५२ रन बनाए भने पटेलले ६ विकेट लिए । उनी १७ बलमै ५० रन बनाउँदै प्रतियोगितामै सबैभन्दा छिटो अर्धशतक हान्ने खेलाडी बनेका छन् भाटी । पटेल जारी प्रतियोगितामा एकै खेलमा ६ विकेट लिने पहिलो खेलाडी हुन् ।

उता, पहिलो पटक कप्तानी सम्हालेका सोमपाल कामीले पनि आफ्नो टिमलाई फाइनलसम्म ल्याएका छन् ।

प्रतियोगितामा सोमपालसँगै सुनिल धमाला, सोनु तामाङ, राजेश पुलामी, राजु रिजालले राम्रो प्रदर्शन गरिरहेका छन् ।

(युएई) का रोहन मुस्तफा र भारतका पुनित मिश्रा पनि भरपर्दा खेलाडी हुन् । अहिलेसम्म खेलका खेलमा दुई विदेशी खेलाडीले राम्रो प्रदर्शन गरिरहेका छन् ।

प्रतियोगितामा दुवै टिमले राम्रो प्रदर्शन गरिरहेका कारण यो टिम नै जित्छ भन्न कठिन रहेको खेल विश्लेषक बताउँछन् ।

प्रतियोगितामा यसअघि चल्न नसकेका ब्याट्सम्यान फर्ममा आएका र नयाँ खेलाडी समेत राम्रो प्रदर्शन गरिरहेका कारण नजिताको अनुमान गर्न गाह्रो छ ।

बिहीबारको खेलपछि पत्रकारले सोधेको प्रश्नमा दुवै टिमका कप्तानले आफनो टिमले जित्ने दाबी गरेका हुन् ।

सबै खेलमा राम्रो खेल प्रदर्शन गरेका कारण आफनो टिमले जित्ने काठमाडौंका कप्तान मल्लले दाबी गरेका बेला टिम चौराहा धनगढीका कप्तान कामी पनि आफनो टिम पनि कमजोर नभएको बताउँछन् ।

घरेलु मैदान समेत भएकाले दर्शकको समर्थनले पनि आफनो टिले उपाधि जित्ने कामीको दाबी थियो ।

चैत ३०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्