ज्योतिषीको आँखामा कस्तो छ नयाँ वर्ष २०७५?

यस वर्षको ग्रह गठनको अवस्था यसप्रकार रहनेछ। संवत्सरको नाम विरोधकृत हो। यो वर्षको राजा सूर्य र मन्त्री शनि बनेर वर्ष प्रवेश भएको छ। जग लग्न मिथुन, बर्ष प्रवेशको दिन चन्द्रमा मीन राशिमा, शनिको नक्षत्रमा रहेका छन्। शनि र सूर्यको परस्पर शत्रु भाव रहने भएकाले वर्षारम्भनै प्रतिकूल रहनेछ। शनि र मंगल एकसाथ हुनु एवं परस्पर दृष्टि हुनु त्यति राम्रो मानिन्न।

यस्तो हुँदा विमान दुर्घटनामा महत्वपूर्ण व्यक्तिको निधन हुने सम्भावनाको साथै अपसी विवादहरू बढ्ने, राजनीतिमा उतारचढाव आउनेछ। वाह्य हस्तक्षेप खुल्लमखुल्ला नै हुनेछ। ऐतिहासिक र प्रभावशाली व्यक्तिको निधन हुने सम्भावना यस बर्ष देखिन्छ। यसले गर्दा राजनीतिमा अस्थीरता पैदा गर्नेछ।

प्राकृतिक प्रकोप हुने मंगलको सम्बन्ध माटोसँग, शनिको सम्बन्ध पत्थरसँग रहने भएकोले समुद्री आँधी, हुरी, बतास र भूकम्पजस्ता घटना हुने सम्भावना रहन्छ। अति वृष्टि, खण्ड वृष्टि, सुख्खा खडेरीका कारण अन्न उत्पादनमा कमी आउने, वैदेशिक व्यापार घाटाले अर्थतन्त्रलाई प्रतिकूल प्रभाव पर्नेछ।

विकास निर्माणका कामहरू न्यून हुने, सेवा तथा सुरक्षा खर्चमा तीब्रता आउनाले राष्ट्रमा ठूलो आर्थिक संकट सिर्जना हुन सक्छ। ऋणभार बढ्नाले अप्ठ्यारो अवस्था आउनेछ। वैदेशिक सहयोग पाउन गाह्रो छ।

धार्मिक विवादहरू पनि बढ्न सक्छ। शनि, मंगलको युक्ति २०७५ वैशाख २६ गतेसम्म रहनेछ। नेपालको राजनीतिमा दक्षिण र पश्चिमाहरूको खिचातानी रहनेछ। नेपालका लागि शनि २०७६ फाल्गुन १३ सम्म र बृहस्पति २०७६ कार्तिक १२ सम्म प्रतिकूल रहनेछन्। २०७५ आषाढ २ गतेदेखि आषाढ ३२ सम्म शनि सूर्यको परस्पर दृष्टि रहने भएकोले यो समय प्रतिकूल रहनेछ।

यस्तो स्थितिमा राज्यका प्रमुखहरूले ग्रहशान्ति गर्दा अनिष्ट दोश कम हुन सक्छ। विशेष गरेर भैरव आरधनामा जोड दिनु राम्रो। ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद सर्वजनं मां वशमानाय स्वाहाः। यो मन्त्र सबै राशिहरूले जप गर्नुहोला, आफ्नो र राष्ट्रको कल्याणका लागि।

समयलाई मकर
पं. अाेजराज लाेहनी

आषाढ १३, १४, १५ शनि र चन्द्रमा धनु राशिमा एवं २७, २८, २९ मा सूर्य, चन्द्र मिथुन राशिमा रहनेछन्। यसले गर्दा सेवाग्राही र राज्यको बीचमा उत्पन्न हुने विवादले राज्यसत्तालाई परिवर्तनसम्म पुर्‍याउन सक्छ। बाढी पहिरोका कारण नेपालका पहाडी भाग भूक्षयमा र समथर भाग डुबानमा पर्नेछ।

पुस १ देखि २९ सम्म धनुराशिमा शनि सूर्य एकसाथ बस्ने भएकोले यो सयम अनिष्ठ रहनेछ। पुस ७, ८, ९ गते चन्द्र, सूर्य शनि एकसाथ रहने यो समय पनि अनिष्ट हो।

यस वर्षलाई विचार गर्दा मुख्य ध्यान दिनुपर्ने भनेकै वर्ष प्रवेश लग्नलाई हो। यस वर्षको जग लग्न मिथुन हो र त्यहाँ अवस्थित ग्रहहरूको प्रभाव यस्तो रहनेछ। मुख्यतः लग्नाधिपति बुध राज्यस्थानमा नीच बनेर बसेकोले राज्यसञ्चालकहरू दिग्भ्रमित हुनेछन्। न्याय क्षेत्रमा विषेश अधिकार राख्ने शनि, बृहस्पति र मंगल बलवान भएकोले यो वर्ष न्यायिक क्षेत्र सक्रिय भइ राजनीतिमा हस्तक्षेप गर्न सक्ने देखिन्छ। संयम नभएमा ध्रुवीकरण बढ्नेछ। समयमा बुद्धिको उपयोग नहुँदा राज्यले राम्रै काम गरेपनि नागारिकले अराजक महसुस गरी सुसङ्गठित भइ नेतृत्वलाई नै प्रहार गर्नेछन्। बुध, चन्द्रमा मीन राशिमा हुँदा नपुङ्सक योग बन्दछ। त्यसै योगका कारण राज्यशक्ति कमजोर हुने र जनशक्ति बलियो हुने अवस्था आउनेछ।

धन स्थानमा राहु बसेको हुँदा राज्यको ढुकुटी सखाप हुनेछ। आर्थिक क्षेत्र धराशायी बन्नेछ। वाणीभावमा राहु हुँदा राज्य सञ्चालकहरू जथाभावी बोल्न थाल्नेछन्। तृतीय भावको मालिक सूर्य पञ्मेशका साथ एकादश भावमा उच्च भइ बसेको हुँदा नागारिकहरू सक्रिय भई व्यक्तिगत लाभ र राज्य निर्माणको काममा दिलो ज्यानले लागि पर्नेछन्।

विदेशी नागारिकसमेत राष्ट्रिय भावना जागृत भई फर्कने प्रयासमा लाग्नेछन्। चतुस्थानमा बुधको उच्च दृष्टि पञ्चम भावमा शुक्रको स्वगृही दृष्टि र एकादश भावमा बृहस्पतिको मित्र दृष्टि हुनाले विज्ञानको उपयोगद्वारा आर्थिक उपलब्धि राम्रै हुने देखिए पनि द्वितीय चन्द्रमा नीच बुधका साथ दशमा भावमा रहेकोले श्रमशक्तिलाई उपेक्षा गर्दै नेतृत्व वर्ग आफू र आफन्तको भरणपोषणमा सक्रिय हुँदा निराश बनेका जनशक्तिलाई छिमेकीहरूले राज्यका विरुद्धमा भडकाउनेछन।

द्वन्द्वले राष्ट्रिय उत्पादकत्वमा ह्रास आउनेछ। मित्र राष्ट्रहरू अनुचित स्वार्थमा मरिमेटेर लाग्नेछन्। पञ्चमेष एकादश भावमा सप्तमेश पञ्चममा परस्पर शत्रु गृह भइ गुरु, शुक्रको घरमा परस्पर दृष्टिमा छन्। गुरु वक्र हुनाले धार्मिक अवरणमा पाश्चात्यलाई अँगाल्दै स्वधर्मको रुप देखाएर राज्य र जनताको शोषण गर्दै आएका कुतत्वहरू गतसाल नाङ्गिएर बाङ्गिएका मात्र थिए, यस बर्ष उदाङ्गिनेछन्।

पाश्चात्य र पौरस्त्यदर्शनको द्वन्द्वमा सेवामुखी धर्म मजवुत भएकाले सनातन धर्मको जगेर्ना गर्न विद्वत्वर्ग सक्रिय र सफल हुनेछन्।

यस्तो स्थितिमा बौद्धिक वर्गहरू दिग्भ्रमित हुने र ज्ञान विज्ञानको द्वन्द्वमा केही क्षण रुमलिए पनि अन्ततः मिलेरै शैक्षिक क्षेत्रलाई भने द्रुत गतिमा अघि बढाउनेछन्। विदेशीहरूबाट परम्परागत शिक्षामा आक्रमण हुँदाहुँदै पनि आफ्नो लक्ष्य पूरा गरेरै छाड्नेछ। षष्टेश मंगल भाग्येश र अष्टमेश शनिका साथ सप्तममा बसेको छ। शनिले पश्चिमको र मंगलले दक्षिणको प्रतिनिधित्त्व गर्ने भएकोले उनीहरूबीच द्वन्द्व हुनेछ। त्यसको माध्यम हामी हुने एवं राज्य एकपक्षमा जनता अर्काे पक्षमा उभिनेछन्।

यसले गर्दा उनीहरू दुवै हामीप्रति आक्रामक हुने हुँदा कूटनीतिक क्षेत्रमा ठूलै संकट आउनेछ। त्यही कार्यलाई सामना गर्दै केही समयदेखि निस्तेज पारिएका शक्तिहरू न्यायिक वर्ग सैन्य शक्ति र सेवाग्रही तथा विचलित जनतालाई सुसंगठित गर्दै आफ्नो उद्देश्य पुरा गर्न अग्रसर हुने र सफल पनि हुने योग छ।

सेनाधिपति मंगल तथा सेवाधिपति शनि परस्पर शत्रु एकै राशिमा बृहस्पतिको घर अर्थात् सप्तममा रहेकोले सैन्य र सेवाबीच तालमेल नमिल्दा विदेशी उक्सावटमा भड्किएको भीड नियन्त्रणको बहानामा पश्चिमाका विरुद्ध दक्षिणीहरूको बलमा सैन्यशक्तिले सिमा नाघ्न सक्छ। धर्म र विज्ञानलाई एउटै बाटोमा हिँडाउने प्रयास वौद्धिक वर्गको रहनेछ। अष्टम केतुले अर्थतन्त्रलाई जर्जर बनाए पनि एकादश सूर्य, शुक्र पञ्चम गुरुको परस्पर दृष्टिले अन्ततः सबै मिलेर यसको वचाउ गर्नेछन्।

बाह्रौ शुक्र एकादश भावमा बसेकोले राज्यले अनुत्पादक क्षेत्रमा ढुकुटी रित्याउने गरी खर्च गर्नेछ। त्यसको विरुद्धमा सचेत नागारिक पार्टी र समूह छोडेरै भए पनि नियन्त्रणमा लाग्नेछन्। अन्ततः मेलमिलाप नीति लिन सबैले बाध्य हुनुपर्नेछ। राष्ट्रियता र प्रजातन्त्रको रक्षाको लागि आमनागारिक विशेष गरेर महिला वर्ग एक हुनेछन्। उनीहरूकै शाक्तिशाली भूमिकाले अन्ततः विकृति र विसङ्गतिको अन्त्यको विजारोपण हुनेछ। समग्र ग्रहलाई मनन गर्दा चुनौतीपूर्ण वर्ष रहेपनि सुखद बिजारोपण हुनेछ। सुखद बाटोमा राज्यको गमन हुनेछ। राष्ट्रले संकटको सामना २०७६ साल फाल्गुन १३ गतेसम्म गर्नुपर्नेछ।

यस बर्ष भारत वर्षभरि नै भारत, बंगलादेश, भूटान, पाकिस्तान प्राकृतिक प्रकोप र राजनीतिक संकटको सामना गर्न बाध्य हुनेछन्। यसले ठूलै धनजनको नाश गर्नेछ। यस क्षेत्रमा सामुद्रिक आँधी आउन सक्छ। यस्तै समस्या युरोपियन मुलुकभर आउनेछ। जापानले पनि यो परिस्थितिको सामना गर्नुपर्नेछ। दैवी प्रकोप र आपसी द्वन्द्वले विश्वासलाई नै तरङ्गित पार्नेछ। हातहतियारको प्रयोग पनि धेरै हुनेछ।

बृश्चिक राशिलाई अन्त्य साढेसाति, धनु राशिलाई मध्य साढेसाति र मकर राशिलाई आद्य साढेसाति शनि चलेको छ भने बृष र कन्या राशिलाई पनि अढैया शनिको प्रभाव रहनेछ। साढेसाति शनिको प्रभाव जन्मकुण्डलीमा शनि राम्रो भएमा राम्रो फल नराम्रो भएमा नराम्रो फल मिल्नेछ। अढैया शनिले जन्मकुण्डलीमा शनि राम्रो भएमा विगार्न नगर्ने राम्रोभने कसैलाई पनि नगर्ने हुन्छ।

शनि साढेसाति वा अढैया लाग्दा सर्वप्रथम पीपलको पूजा गर्ने, भैरवको पूजा गर्ने। शनिबारको दिन भैरवको पूजा गरी भैरवको दायाँहातमा २ मिटर कालो कपडा राखी‘शनिको दशा नाश होस्’ भनेर दशकदम पछि हटे नहेरी फर्कने। भैरवको मन्दिर उपलब्ध नभएमा २ नदीको संगममा नदीको मूलतिर वा नदी आएको तर्फ फर्केर पूजा गर्ने, २ मिटर कालो कपडा आफूभन्दा पछाडिबाट बगाउने र ‘मेरो शनि दोष वगोस्’ भनी बगाउने। बगेकोलाई नहेर्ने यस प्रकारको उपाय गर्दा शनिको दोष कम हुन्छ। यो व्यवाहारिक प्रयोगले थाहा भएको हो।

 

चैत ३०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्