पूर्वराजाको नयाँ वर्ष सन्देश- शब्दजालको भुलभुलैयाले राष्ट्रिय अस्तित्व नै खतरामा

फाइल फोटो

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७५ अवसरमा नेपाली नागरिकहरुलाई शुभकामना व्यक्त गर्दै शब्दजालहरुको भुलभुलैयामा राखेर राष्ट्रिय अस्तित्व नै क्षतविक्षत तुल्याउने खतरा बढ्दै गएकोतर्फ सचेत गराएका छन्।

उनले आदर्श र अठोटबाट प्रेरित यो मुलुकको एकीकरण गरी जीवन्त राख्ने महान व्यक्तिहरुको स्मरण गर्दै स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई सुख, शान्ति तथा समुन्नतिको कामनासमेत गरेका छन्।

उनले सन्देशमा अगाडि भनेका छन्,

हाम्रा मौलिक धर्म, संस्कृति र परम्पराबिरुद्ध खडा गरिएका चुनौती अझै शिथिल भइसकेका छैनन्। सबै नेपालीहरुको सपना स्वाभिमान र आत्मसम्मान सहितको सम्बृद्ध नेपाल हो। विश्वका अधिकांश मुलुकले समुन्नत जीवन बाँचिरहँदा सबै नेपालीले सोही स्तरको जीवन जिउने आकांक्षा राख्नु स्वाभाविकै हो। तर, यहाँ शब्दजालहरुको भुलभुलैयामा राखेर अन्तत राष्ट्रिय अस्तित्व नै क्षतविक्षत तुल्याइने खतरा बढ्दै गएको जनताले महसुस गरेको वर्तमान अवस्था राष्ट्रको यथास्थिति हो। राष्ट्रियता जनताको हार्दिकतासँग गाँसिएको संवेदनशील प्राणतत्व पनि हो। राष्ट्रको मबाट हामी अनि मेरोबाट हाम्रो गन्तव्य हुनुपर्छ।

सत्यको आवाज कहिल्यै कमजोर र सानो हुँदैन। कहिल्यै पराजित पनि हुँदैन। हामी चाहन्छौँ, एक नेपालीले अर्को नेपाली देख्दा झस्कने या तर्सनुपर्ने परिस्थिति नबनोस्। शासक,  प्रशासकहरुको कार्य व्यवहार जनमुखी होस्, हरेक नेपालीको निम्ति स्वदेशभित्र नै रोजगारीको सुनिश्चितता होस्। वैज्ञानिक एवम् जीवनउपयोगी शिक्षाको व्यवस्था होस्। सुलभ स्वास्थ्य उपचारको सुविधा होस्। देश बनाउन उपयोग गर्नुपर्ने हातहरुलाई देश बचाउन उपयोग गर्नुपर्ने बाध्यात्मक अवस्थामा नपुर्‍याइयोस्।

नववर्ष २०७५ ले सबै अटाउने राजनीति, सबैको शिर ठाडो हुने राष्ट्रिय भावना, अटल सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, धीर राष्ट्रप्रेम तथा सबैको समुन्नति प्रदान गरोस्।

 

चैत ३०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्