थारुहरुको पर्व 'सिरुवा पावैन' सुरु

शीरमा पानी र आशिर्वाद, उज्‍वल भविष्‍यको कामना गर्दै ‘जूर-शीतल’

काठमाडौं – हुन त नामबाटै थाहा हुन्छ, ‘शिरुवा’ अर्थात पहिलो पर्व, सुरुको पर्व। यो पर्व (पावैन) प्रत्‍येक थारु समुदायको महत्‍वपूर्ण चाड हो।

त्‍यो पनि थारु समाजमा जो हिन्दू धर्ममा आस्था राख्‍ने गर्दछन्, उनको लागि विशेष हो। किनकी यो पर्वमा खुशी, उद्गार तथा हर्षोल्लासका साथ धुमधामले मनाउने गरिन्छ।

थारु समुदायमा भनाई नै छ, ‘फगुवा उसारे आ सरुवा पसारे’ अर्थात फागुनको फगुवाले पर्वको समापन गर्छ भने वैशाखको सिरुवाले कुनै पनि वर्षको सुरुको पर्वलाई भव्‍य रुप स्वागत गर्ने गर्छ।

शिरुवा पर्वलाई विभिन्‍न संस्कृति अनुसार विभिन्‍न अर्थको रुपमा लिने गरिन्छ। जस्तो की वैशाख हुनुको कारण थारु भाषामा ‘वैशाखी’ अर्थात चैतमा पकाएको वैशाखमा खाने चलन (चैत ३० गते पकाएको खाने कुरा वैशाख १ गते खाने प्रचलन)।यसलाई वाइस अर्थात ‘बासी पर्व’ पनि भनिन्छ।

नयाँ वर्षको अवसरमा वर्षभरि सुखद, सुन्दर सौहार्दपूर्ण तथा शीतल र शान्त वातावरणमा परिवार र समाज अगाडि बढोस्। आफ्‍नो-आफ्‍नो कुल देवता तथा देवी, ग्राम देवता तथा अन्‍य देवीस्थल लगायत आफूभन्दा सानाको शीरमा उसको उज्वल भविष्‍यको कामना गर्न जुराएर पानी दिने परम्परा छ, यसैलाई जुरशीतल भनिन्छ।

त्‍यो दिन प्राय धेरैले आफ्नो विशेष दिन सम्झन योग्‍य, अविशमरणीय बनाउन चाहेका हुन्छन्। त्‍यही दिनलाई उसले एउटा इतिहास मानेको हुन्छ।शिरुवाके पहिलो काम क्रिया ठीक ढंगले गर्ने गर्दछ। यसको हरेक कारोबार नयाँ खातामा सुरुवात गरिन्छ।

यो पर्वमा थारु समुदायका मानिसहरु दश दिन अगावैदेखि आफ्नो घरआँगन लिपपोत गरी सफा राख्छन्। त्‍यो बेला सबैको घर आगनमा एउटा पनि फोहोरको थुप्रो देखिँदैन।लाग्छ, एउटा सुन्दर स्वर्गको आगनीमा आइपुगे जस्तो। बालबालिकादेखि बुढापाकाले यही समय र पललाई पर्खेर बसिरहेका हुन्छन्।

यसका साथै उनीहरु आधार राति देखि नै विभिन्‍न प्रकारको परिकार तयार पारेका हुन्छन्। गाउँको प्रत्‍येक घर-घरमा पुरी-तरकारी, बरी-कचौरी, लगायतका थुप्रै परिकारहरु पाक्‍न थालिसकेको हुन्छ।त्‍यकारण गाउँघर बास्नाले मगमगाइरहेका हुन्छन्।

गाउँमा यस्तो परिकार अरु बेला कुनै पनि बेला हुँदैन। बिहान सुतिरेका बालबालिकालाई उठाएर आमाबुवा, ठूलाबडाले उसको शीरमा पानी छर्किएर शुभ आशीश र उज्‍जवल भविष्‍यको कामना गर्ने गर्दछन्।

कसैले आफ्‍ना साथीहरुसँग गोबरमाटो खेल्‍ने गर्छन भने कोही खुसियालीमा रंगअबीर रमाइलो मानी खेल्‍ने गर्छन्। यसपछि नुहाएर अम्खोरामा  शुद्ध जल लिएर पहिला आफ्‍नो गृह देवता, ग्राम देवता तथा अन्‍य देव-देवी स्थलमा जल चढाउने गरिन्छ। त्‍यसपछि आफूभन्दा सानोलाई त्‍यही शुद्ध जल शीरमा छर्किएर आशिर्वाद दिने गर्छन भने आफूभन्दा सानाले ठूलाको गोडामा शुद्ध जल चढाउने गर्दछन्।

यो एउटा सहिष्णुता/ माया प्रेमको प्रतीक मानिन्छ। कुनै भेदभाव सानो ठूलो नमानी जो कोही पनि बाटोमा भेट्दा आफूभन्दा ठूलो भएर जल चढाएर आशिर्वाद लिने गर्छन् भने सानालाई शीरमा शुद्ध जल छर्किएर आशीर्वाद दिने गर्दछन्।

यही परम्परा बर्षौ पहिल्‍यैदेखि थारु समुदायमा चल्‍दै आएको छ। यो परम्परा बुद्ध धर्मको थेरावादमा पढाइ हुने भएकाले बुद्ध धर्म मान्‍ने देशहरु म्‍यानमार, श्रीलंका, सिंगापुर र थाइल्‍याण्डका बौद्ध मार्गीहरु पनि यस दिन भव्‍य रुपमा यो जूरशीतल मनाउने गर्छन्।

बैशाख १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्