प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

काठमाडौं – राजनीतिक रुपमा २०७४ साल ऐतिहासिक बन्न पुग्यो । लामो राजनीतिक संक्रमण अन्त्य गर्दै राजनीतिक स्थिरताको बाटोमा देश अघि बढेको छ । २०७४ सुरु हुँदा राजनीतिक क्षेत्रमा मडारिएका बादल वर्षको अन्त्यसम्म पूर्ण रुपमा हटिसकेका छन् ।

वर्षको सुरुमा संविधान कार्यान्वयनका लागि गर्नै पर्ने स्थानीय तहको चुनावको मिति घोषणा भए पनि तोकिएकै मितिमा चुनाव हुन्छ कि हुँदैन भन्ने आशंका व्याप्त थियो । २०७४ सुरु हुँदासम्म २०७२ साल असोज ३ गते जारी भएको संविधानको भविष्य के हुन्छ भन्ने प्रश्न व्याप्त थियो ।

०७४ सालमा तीन ठूला दलहरु सत्ता विपक्षी कित्तामा विभाजित भए पनि संविधान कार्यान्वयनका मामिलामा उत्तिकै गम्भीर र जिम्मेवार देखिए । एउटै वर्ष स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव हुनु आफैमा महत्वपूर्ण कडी हो ।

०७४ सालले अनेकौं आशंका चिन्तालाई दूर गर्न सफल रह्यो । यो वर्षमा संविधान कार्यान्वयन सफलता पूर्वक भएको छ । संविधान कार्यान्वयनकमा लागि हुनुपर्ने तीन तहको चुनाव सम्पन्न भएर वर्षको अन्त्यसम्म नागरिकले तीन तहका अधिकार सम्पन्न सरकार पाएका छन् ।

प्रदेशसभाको चुनावसँगै संघीयताको व्यवाहारिक अभ्यास पनि २०७४ मै हुन पुग्यो । यद्यपी संघीयता परीक्षणकै चरणमा छ । जसप्रति जनप्रतिनिधि स्वयम् र आम नागरिकसमेत सन्तुष्ट हुन सकेका छैनन् ।

देशले राजनीतिक स्थायित्व र संवृद्धिको दिशा पक्रे पनि नेपाली कांग्रेसका लागि भने २०७४ साल सुखद रहन सकेन । यही वर्ष भएको तीनै तहको चुनावमा पराजय भोग्दै कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुग्यो ।

दुई तिहाई बहुमतसहित पटक पटक जनताबाट बहुमत पाएको कांग्रेस यति बेला निक्कै कमजोर प्रतिपक्षको भूमिकामा खुम्चिएको छ ।

तीनै तहको चुनावमा पराजय भोगेको कांग्रेस आन्तरिक रुपमा पनि झन कमजोर बनेको छ । पार्टीभित्र गुट उपगुटको गतिविधि र एक अर्कालाई निषेध गर्ने गलत अभ्यासको चंगुलमा यो वर्ष कांग्रेस झन नराम्रोसँग फस्यो ।

२०७४ सालमा दुई फरक धारको नेतृत्व गर्दै आएका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी चुनावी तालमेल हुँदै पार्टी एकीकरणको अन्तिम कसरतमा जुटेका छन् ।

जुट्नभन्दा फुट्नमा माहिर भन्दै आलोचित हुँदै आएका दुई ठूला कम्युनिष्ट अनअपेक्षित रुपमा एकीकरणको प्रक्रियामा जुटेका छन्, जसले नेपालको राजनीतिलाई दुई कित्तामा धुव्रीकरण गरेको छ ।

एमालेका लागि भने २०७४ अति नै फलिफाप वर्षका रुपमा दर्ज भएको छ । तीनै तहको चुनाव एमालेले अभूतपूर्व सफलता हात पार्न सफल भयो ।

प्रतिपक्षमा रहेर वैशाख ३१, असार १४ र असोज २ गते भएका स्थानीय तहको चुनावमा पहिले दल बनेको एमाले प्रदेश र प्रतिनिधिसभाको चुनावमा माओवादीसँग गठबन्धन गर्दा अझ धेरै लाभ लिन सफल भयो ।

संविधान घोषणापछि भारतीय नाकाबन्दी विरुद्ध उभिएर एमाले अध्यक्ष केपी ओलीले आर्जन गरेको लोकप्रियता २०७४ सालमा थप बढ्यो । जसलाई उनले भोटका रुपमा रुपान्तरण गर्न सफल भएसँगै आफूलाई सर्वशक्तिमान प्रधानमन्त्रीका रुपमा स्थापित गरे ।

स्थानीय तहको चुनावमा कांग्रेससँग गठबन्धन गरेर उपस्थिति देखाउन सफल भएको माओवादी केन्द्र प्रदेश र प्रतिनिधिसभाको चुनावमा एमालेसँगको गठबन्धनका कारण निर्णायक शक्तिका रुपमा स्थापित बन्यो ।

२०७४ साल सुरु हुँदा राजनीतिमा देखिएको आशंका र थप संक्रमणको भयलाई पन्छाउँदै देश स्थिरता र संवृद्धिको मागतर्फ अघि बढेको छ ।

बैशाख १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्