खेल राजनीतिको मारमा खेलाडी

काठमाडौं – जिम्बाबेमा केही हप्ताअघि भएको एकदिवशीय विश्वकप क्रिकेटको विश्वस्तरको छनौटमा नेपालले ऐतिहासिक सफलता हात पार्‍यो ।

नेपालले पहिलोपटक एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाए पनि यस उपलब्धीबाट सबैभन्दा बढी खुशी हुनुपर्ने नेपाली क्रिकेटको अभिभावक नेपाल क्रिकेट संघ विगत केही वर्षदेखि निलम्बनको अवस्थामा छ । नेपाली क्रिकेट खेलाडीले बारम्बार भन्दै आएका छन्– संघ र संरचना चाहियो, प्रतियोगिता हुनुपर्‍यो ।

घरेलु क्रिकेट संघ निलम्बन भएको अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपाली क्रिकेटको व्यवस्थापनमा प्रत्यक्ष हस्तक्षेप गर्दै आएको छ ।

आजका दिनसम्म पनि नेपाल क्रिकेट संघमाथी कहिले फुकुवा हुन्छ, निश्चित छैन । यस्तो अवस्थामा नेपालले पाएको एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता अर्थपूर्ण हुनेमा शंकैशंका छ ।

नेपालमा घरेलु फुटबल लिग नभएको केही वर्ष भइसकेको छ । ए डिभिजन क्लबहरु फेरि लिग सुरु हुँदा टिम नै बनाउन गाह्रो हुने बताइरहेका छन् । घरेलु लिगको असर खेलाडी पलायनमा मात्र देखिएको छैन, भविष्यमा नेपालको अन्तर्राष्ट्रिय प्रदर्शन र नतिजामा पर्ने निश्चित छ ।

लिग नभएको केही वर्ष भइसक्दा पनि फेरि लिग कहिले सुचारु हुने ? मिति निश्चित छैन । मोफसलमा हुने प्रतियोगितामा सिमित ए डिभिजन क्लबहरु सहभागी भईरहेपनि खेलाडी ‘बेवारिसे’ अवस्थामा छन् ।

राष्ट्रिय टोलीका कप्तान सागर थापासहितका करिब आधा दर्जन पूर्व तथा वर्तमान खेलाडी म्याच फिक्सिङमा पर्नु र अखिल नेपाल फुटबल संघ–एन्फाका अध्यक्ष गणेश थापा विश्व फुटबल महासंघ– फिफाबाट प्रतिबन्धित हुनुले नेपाली फुटबल चरम संक्रमणको स्थितीमा थियो ।

त्यसमा पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नतिजाहरु नआइरहेको अवस्थामा भएका यी घटनाले फुटबलप्रेमी र फुटबलकर्मी दुवै निराश देखिन्थे । तर पनि नेपाली फुटबलले माथि उठ्ने प्रयाश गर्‍यो, सबै बिर्सेर ।

युवा खेलाडीले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा लगातार उपाधि जिताए । तर घरेलु लिगलाई पुन सुचारु गर्ने विषयमा एन्फा नेतृत्वले ध्यानै दिएन । तर नयाँ नेतृत्व चयनमा एन्फामा चरम राजनिती सुरु भएको छ । यही राजनीतिका कारण नेपाली फुटबल अनिर्णयको बन्दी भएको छ ।

पूर्वनिर्धारित समयमा निर्वाचन गर्न नसकेपछि यतिबेला फिफाको सम्भावित निलम्बनको संघारमा छ । संघमा आउने लडाईंका कारण समग्र फुटबल र फुटबल कर्मीलाई अन्धकारतर्फ धकेलिँदै छ ।

यी त भए पछिल्लो समय नेपालमा सर्वाधिक लोकप्रिय दुई खेलको अवस्था । खेलाडी र खेलको अन्यौलपूर्ण अवस्था भएका यी दुई मात्र संघ होइनन् ।

तेक्वान्दो, कराँते, जिम्न्याष्टिक , कुुस्ती लगायत खेलमा समानान्तर संघ छन् । एउटै खेलका दुईवटा संघको अवस्थाकै कारण राष्ट्रिय टोलीको छनौट, अन्तर्राष्ट्रिय सहभागितामा पटक पटक विवाद रहँदै आएको छ ।

यसको सबैभन्दा बढी चपेटामा खेलाडी र उनीहरुको भविष्य छ । युवराज लामा सदस्यसचिव रहेका बेला राष्ट्रिय खेलकुद परिषद–राखेपले कराँते महासंघलाई विघटन गरी दावा गुरुङको नेतृत्वमा तदर्थ समिति गठन गरेको थियो ।

तर नेपाल ओलम्पिक कमिटीमा सदस्य रहेका पुरानो महासंघका अध्यक्ष पुरेन्द्रविक्रम लाखेले राखेपको निर्णय मानेनन् । घरेलु कराँतेमा दावाको समितीले काम गरेपनि अन्तर्राष्ट्रिय सहभागितामा लाखे नै निर्णायक हुन्छन् । वर्षौं बित्दा पनि यो विवाद समाधान भएको छैन ।

यतिबेला एसियाडमा नेपालले सहभागिता जनाउने तयारी गरिरहँदा राष्ट्रिय टोलीको निर्माणका लागि कराँतेको छनौट हुन सकेको छैन । युवराज लामा नै सदस्यसचिव रहेका बेला उनले तेक्वान्दो युनियनलाई दर्ता गरिदिए ।

माओवादीबाट सदस्यसचिव बनेका लामाले माओवादीकै दबाबमा यो संघ दर्ता गरेका थिए । यतिबेला तेक्वान्दो युनियनले नेपाल तेक्वान्दो संघकै हैसियत खोजि रहेको छ । यता नेपाल तेक्वान्दो संघले भने आफू मात्र आधिकारिक संघ भएको दाबी गर्दै आएको छ ।

एसियाडका लागि दुवै संघले आ–आफ्ना टोली बनाएका छन् । एसियाडमा भाग लिने नेपाली तेक्वान्दो टोली कसरी छनौट हुन्छ ? निकै अन्यौलपूर्ण छ । कुस्ती र जिम्न्याष्टिकको अवस्था पनि उहि छ ।

राजनितिक दलले खेलकुदलाई कार्यकर्ता भर्तिकेन्द्र र भातृ संगठनभन्दा माथिको व्यवहार गर्न नसक्दा यो अवस्था देखिएको छ । राजनितिक भागबन्डामा चल्ने राखेप बोर्डमा आउने जो सुकै पनि विभिन्न संघमा छिर्ने र संघहरुमा आफ्नो पार्टीको पकड बनाउने योजनामा देखिन्छन् ।

विगतमा मात्र होइन अहिले पनि राखेपका धेरै पदाधिकारी बोर्डमा आएयता विभिन्न संघमा छिरि सकेका छन् ।

आफ्नो समयमा खेलकुद कब्जा गर्ने यही प्रवृतीका कारण नेपाली खेलकुद राजनीतिकै मात्र हिस्सा रहँदै आएको छ, खेलकुदकै हैन । आफू अनुकुल सरकार, सत्ता र शक्ति हुँदा मनपरी गर्ने प्रवृतीका कारण खेलाडीहरु अध्याँरोमै हिड्न बाध्य छन् ।

राखेपमा आउने पदाधिकारी संघमा छिर्ने र नेपाल ओलम्पिक कमिटीले पुरानालाई संरक्षण गर्ने प्रवृतिका कारण समग्र नेपाली खेलकुद नै राष्ट्रिय मान्यताप्राप्त र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भन्नुपर्ने अवस्थामा छ ।

बैशाख १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्