क्षेत्रप्रताप अधिकारीका नयाँ वर्षबारे तीन कविता

१. यसपालिको नयाँ वर्ष

थुप्रै वैशाखहरू आए
तर बाटोमा वसन्तको
खोरीया फाँडेर आए
र, हामीलाई –
फूलको सपना बाँडेर गए
यसपालिको नयाँ वर्ष –
लालीगुराँस फुल्न थालेको छ
लेकतिर बोटबोटमा
पन्छीहरू नाचेको देखिरहेछु
बेसीतिर ओठओठमा
कान्छीहरू हाँसेको सुनिरहेछु ।

आउन त के आएन र
यो पुण्यभूमिमा !
सुन्दर प्रजातन्त्र पनि आयो
तर भाषणले थुमथुम्याएर
त्यसको सौन्दर्यलाई
रासन बनाए भ्रष्टहरूले
बलात्कार गरे दुष्टहरूले
यसपालिको नयाँ वर्ष –
इमान फुल्न थालेको छ
फूलको परागमा
प्रजातन्त्र हेरिरहेछु ।

एउटा नयाँ वर्ष –
धमिजा भएर आयो
र, शानेवानि खायो
एउटा नयाँ वर्ष –
लाउडा भएर आयो
र, बचेखुचेको उडायो
फेरि एउटा नयाँ वर्ष –
कालीमा कालकूट बाढी आयो
र, टनकपुर बगायो
यसपालिको नयाँ वर्ष –
आशाखेती फुल्न थालेको छ
सहकाल पर्खिरहेछु ।

स्वयम्भूका परेवालाई
वनतिर खेदेर, सहरमा –
सत्ताको पासा र
भत्ताको भकुण्डो खेलिरहे शकुनिहरू
खलङ्गाहरू भत्किएर द्वन्द
दुख्नसम्म दुखिरहेछ देश
रोल्पाहरू रोएर युध्द
लाग्नसम्म लागिरहेछ ठेस
जति कोट्यायो त्यति दुख्छ
बरु नकोट्याउनु नै बेस
यसपालिको नयाँ वर्ष –
सञ्जीवनी फुल्न थालेको छ
वैद्यराज हेरिरहेछु ।

२. नयाँ नेपाल
अचेलभरि –
मान्छेको मुख मुखमा
नयाँ नेपाल झुन्डिएको छ
यतिसम्म कि –
पुराना अनुहार पनि
नयाँ नेपालकै कुरा गर्छन्
तर प्रष्ट भन्दैनन् –
त्यो नेपाल कस्तो हुने हो !
हाँस्ने हो कि रुने हो !
अचेल गाउँलेहरू –
यस्तै यस्तै बात मार्छन्
र, समय टार्छन् ।

नयाँ नेपाल भनेको –
पुरानो नेपालभन्दा
सानो होला कि ठूलो !
दरो होला कि लुलो !
नयाँ नेपाल भनेको –
हालको नेपालभन्दा
दुखी होला कि सुखी !
बिजुली होला कि टुकी !
अचेल गाउँलेहरू –
यस्तै यस्तै चिन्ता गर्छन्
र, बेसीतिर झर्छन् ।

नयाँ भन्नाले –
पहिले पहिले र
अहिलेकोभन्दा भिन्न
कुनै पनि रूप हुन सक्छ –
सिक्किम हुन सक्छ त्यो रूप
भुटान हुन सक्छ त्यो रूप
इराक र कम्बोडिया
अफगानिस्तान र सोमालिया
जस्तो पनि हुन सक्छ त्यो रूप
अचेल गाउँलेहरू –
यस्तै यस्तै ब्यङ्ग्यवाँण हान्छन्
र, चौतारीमा कक्कड तान्छन् ।

रोदीमा नयाँ मादल त आयो
तर मादलेहरू पुरानै छन्
त्यै पुरानो तालमा –
नयाँ नेपाल कसरी नाच्ने हो खै !
गोठमा जर्सीगाई त ब्यायो
तर गोपालहरू पुरानै छन्
र पहिलेजस्तै कदाचित् –
बिगौती बाँडिएन भने
त्यै पुरानो जालमा
नयाँ नेपाल कसरी बाँच्ने हो खै !
अचेल गाउँलेहरू
तितो विगत विर्सिएर
मीठो आगत पर्खिरहेछन् ।

अवकास प्राप्त मलाया लाहुरे
मानबहादुर मगर भन्दैथिए –
नयाँ नेपाल बनाउँने हो भने
हाम्रो माटोमा पनि
एउटा मोहमद महाथिर अथवा
लि क्वान यु अथवा
नेल्सन मन्डेला अथवा
त्यस्तै मान्छे उम्रिनुपर्छ
अचेल गाउँमा लाहुरेहरू –
यस्तै यस्तै गफसफलाई
रक्सीको चटनी बनाउँछन् ।

गाउँघरमा –
इतिहासबूढाको नामले चिनिने
नरनाथ बाजे भन्दै थिए –
नयाँ नेपाल निर्माणका कुरा त
सात सालमा पनि भए
सत्र साल र सैंतीस साल
छयालीस र साठी सालमा पनि भए
तर यी कुरा –
कहिल्यै पूरा भएनन्
जति जोगी आए
कानै चिरेका आए
अब नयाँ जोगीले
केही गर्छन् कि हेर्नुपर्छ
अचेल गाउँलेहरू –
नरनाथको अनुभव सुन्छन्
र, मनमनै खुसी हुन्छन् ।

यो खुसी पनि –
नरनाथहरूले देखेको
तर कसैले नलेखेको
इतिहास पो हुन्छ कि, थाहा छैन
नयाँ नेपालको प्रतीक्षा पनि
चलनचल्तीमा नआएर कतै
नरनाथसँगै पो मर्छ कि, थाहा छैन
अचेल गाउँलेहरू –
यस्तै यस्तै पीर गर्छन्
र, अन्योलमा पर्छन् ।

२०६३ माघ

३. नयाँखाले नववर्ष

वर्षैपिच्छे वसन्तमा
नयाँ फूलको सपना देखियो
तर वैशाखहरू
नयाँ बोतलमा
पुरानै जाँड आए
यसपालि त अलिक नयाँखाले
नववर्ष पर्खिरहेछु।

रगत आँसु र पीपहरूमा
वैतरणी बगिरहेछ देश
नववर्ष नदीहरूमा
पानी आइदिए हुन्थ्यो
नववर्ष फूलहरूमा
अमन फुलिदिए हुन्थ्यो
बाटो बथानेर बसिरहेछु ।

जाजरकोटेहरू भन्दै थिए
मतिभ्रष्ट केही वर्षहरू आए
र, हाम्रा सबै हर्षहरू खाए
हामीले त आयोनुन पनि खाछैन
हामीलाई त सीटामोल पनि थाछैन
जीवनको अँधेरो सुरुङमा
नयाँ किरणको सम्भावना खोजिरहेछु ।

यति धेरै मृत्यु रोपिएछ माटोमा
कि लासको कुन्यूँ देखेर
ज्यू सिरिङ्ग हुन पनि छोड्यो
मान्छे मर्दा मान्छे रुन पनि छोडयो
वृद्धहरूको दुखेसोले
बुद्धलाई छुन पनि छोडयो
दुखान्त नाटकको पटाक्षेप पर्खिरहेछु ।

बितेको दशकमा
थुप्रै साइलकहरू आए
शकुनि र दुःशासनहरू आए
अब आउने नयाँ वर्ष
दधीचि र कर्णहरू आऊ
म बिसेनगर्ची
साइतको दमाहा बजाइरहेछु।

बैशाख १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्