नयाँ वर्षको दिन दीपकराज गिरी बिहानै पशुपति, छक्कापञ्जा–३ सुपरहिट होस् भन्ने कामना

काठमाडौं – चर्चा र सँगै विवादमा तानिने कलाकारको रुपमा चिनिन्छन् दीपकराज गिरी ।

उनले बनाएका चलचित्रको चर्चा निकै हुन्छ । सफलता पनि पाउँछन् । तर चर्चा र सफलता जस्तै उनका प्रायः चलचित्रमा विवाद पनि हुने गर्छ ।
वर्ष २०७४ उनका लागि राम्रो रह्यो । छक्कापञ्जा २ र शत्रु गते राम्रो व्यापार गरे ।

तर विवादमा पनि दीपक उत्तिकै तानिए । विशेष गरी छक्कापञ्जा २ को गीत चोरी तथा चलचित्रमा देखाइएको विषयवस्तुका कारण आलोचना भयो । शत्रु गतेमा भने विवादको कुरा आएन ।

उनै दीपकराज गिरीले नयाँ वर्षको दिन शनिबार जन्मदिन पनि मनाउँदैछन् । बिहानै पशुपति परिषरमा भेटिएका दीपकले आफू नयाँ वर्ष र जन्मदिन राम्रो होस्, सबैको उन्नति भएको देख्न पाइयोस् भन्ने कामना गर्न आएको बताए ।

उनले भने, ‘गएको वर्ष मेरा लागि राम्रो रह्यो, दुवै चलचित्र सुपरहिट भए । देशमा पनि चुनाव भयो । स्थिर सरकार आएको छ । अब विकास हुन्छ कि भन्ने आश छ । सबैको राम्रो होस्, आफ्नो पनि जन्मदिन परेकाले मंगल कामनाका लागि पशुपति आएको हुँ ।’

श्रीमतीसँगै पशुपतिमा भेटिएका दीपकले अहिले आफूहरु छक्कापञ्जा ३ को तयारीमा रहेको र २०७५ आउने बताए । त्यो चलचित्र पनि सुपरहिट होस् भन्ने कामना र त्यसका लागि मेहनत पनि गरिरहेको बताए ।

बैशाख १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्