एप्पलको चेतावनी कर्मचारीलाई–सूचना लिक गरे जागिर पाउनै मुश्किल होला

अमेरिकी प्रविधि कम्पनी एप्पलले आफ्ना कर्मचारीलाई आन्तरिक सूचना चुहावट नगर्न आग्रह गरेका छन् । कम्पनीको भावी योजना र आगामी कानुनी प्रक्रियासहितका बारेको जानकारी बाहिर चुहावट नगर्न निर्देशन दिएको हो ।

विश्वको ठूलो मध्ये एक प्रविधि कम्पनी एप्पलले आफ्ना गतिविधि सम्बन्धी जानकारी सुरक्षित गर्नका लागि चालेको यो अहिलेसम्मकै ठूलो कदम हो ।

गएको वर्ष कम्पनीको सूचना चुहावट गर्ने २९ जना पत्ता लागेको र १२ जनालाई पक्राउ गरिएको आइफोन निर्माता कम्पनी एप्पलले जनाएको छ । उनीहरुको जागिर जानुका साथै भविष्यमा जागिर खोज्नका लागि पनि कठिन हुने अवस्था आएको एप्पलले जनाएको छ ।

यो वर्षको सुरुमा भएको बैठकमा छलफल भएका कुरा बारेको जानकारी मिडियालाई दिएको आरोप केही कर्मचारीमाथि लागेको छ ।

उनीहरुले आइफोनको फिचर तथा आइफोन एक्स र एप्पल वाचका बारेमा सार्वजनिक नहुँदै विस्तृत जानकारी बाहिर ल्याएको आरोप छ ।

सार्वजनिक नभएको उत्पादनका बारेमा पहिले नै चुहावट हुने जानकारीले उत्पादनको बजारमा असर गर्ने कप्पनीको भनाई छ ।

बैशाख १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्