विर्तामोड – पूर्वी नेपालमा बसोबास गर्न आदिवासी समुदायले नयाँ वर्षको अवसरमा सिरुवा पर्व धुमधामका साथ मनाइरहेका छन् ।

राजवंशी, धिमाल, ताजपुरिया लगायतका आदिवासी समूदायले वैशाख १, २ र ३ गते पानी, हिलो र रंग छ्यापछ्याप गरेर सिरुवा सालिन्ने मनाउँछन् ।

के केटाकेटी, के युवा, के वयस्क, के बृद्धबृद्धा, सबै पानीले हिलाम्मे भएका छन् । सिरुवाको दोस्रो दिन कादो अर्थात हिलो सिरुवा उनीहरुले भोलि मनाउँदैछन्।

आदिवासी समूदायका बाजागाजा सहित नयाँ सालको आगमनसँगै पूर्वी नेपालका आदिवासी समुदायका मानिसहरुले सिरुवा पर्व धुमधामका साथ मनाइरहेका छन् ।

झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने राजवंशी, धिमाल, ताजपुरिया लगायतका आदिबासी समुदायले मनाउने सिरुवामा पानी, हिलो र रंग छ्यापाछ्याप गर्ने परम्परा रहेको छ ।

एकजना पत्रकार ईन्द्रसिंह राजवंशी भन्छन्, ‘अब गर्मीको मौसम आएका कारण पानीले शीतलता प्रदान गर्ने विश्वास छ । हामी प्रकृतिका उपज हौं त्यसैले माटोसँग हाम्रो नाता गाँसिएको छ भनेर दोस्रो दिन हिलोसँग खेल्ने प्रचलन छ । र अन्तिम दिन रंग दलेर रमाउने प्रचलनका साथ सिरुवा मनाउने चलन छ ।’

सिरुवा पर्वकै अवसर पारेर युवा युवतीको बिहेको साईत समेत जुराइन्छ ।

खोलामा गएर कुल देवताको पुजा गरेर परम्परागत खानेकुरा गाजी मुरी समेत खाने प्रचलन छ । आफ्नै प्रयासमा सँस्कृति जोगाउने प्रयास गर्दै आएका यी आदिवासीहरु सरकारी स्तरबाट समेत संरक्षणको प्रयास थालिनु पर्नेमा जोड दिन्छन् ।

 

बैशाख १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्