चलचित्र

सुस्त तर दुरुस्त कल मि बाइ योर नेम

बुझेको छु भन्नेहरुले पनि सहज रुपमा नलिएको सम्बन्धको कथा सरल रुपमा प्रस्तुत गरिएको चलचित्र। पर्दामा उतारिएको फरक मानिएको सम्बन्धको अरु जस्तै बनाउन सक्ने मिठो प्रस्तुति।

धेरै पुस्तक, संगीत वा साहित्य आउँछन् अनि केही समयको बसाइ तय गरेर जान्छन्। अझ चलचित्रको सवालमा आउने र जाने क्रमको भर हुँदैन। अंग्रेजी वर्षको २०१७ अनि नेपाली वर्ष २०७४ मा आएका केही टिकिरहने चलचित्र मध्ये एक बनेको छ ‘कल मि बाइ योर नेम’।

आउने र जाने उद्योगमा यो चलचित्रलाई आउने तयारी गरेपछि १० वर्ष लाग्यो। सन् २००७ मा आन्द्रे एकिम्यानले लेखेको उपन्यासमा आधारित चलचित्रले दर्शकको आँखासम्मको यात्राका लागि १० वर्षको लामो समय पर्खनु पर्‍यो।

पर्खाई जति लामो थियो उसको बसाइ त्योभन्दा स्थायी र पट्यार नलाग्दो वा भनौँ रहर लाग्दो बन्न सक्यो।

इटालियन निर्देशक लुका ग्वार्डनिनोलाई सरल तर स्वादिलो प्रेमलाई पर्दामा जीवन भर्ने मन थियो। त्यसको माध्यमको रुपमा आयो कल मि बाइ योर नेम।

जेम्स आइभरी, जो आफूले पनि यस्तो प्रेमको भरमा जीवनको लामो समय बिताए जसको अरुलाई त्यति स्वाद लागेन होला तर उनले अहिले पनि विगतको सम्झनाको स्वादमा बिताइरहेका छन् भरिलो जीवन।

आइभरीको स्क्रिन प्ले अनि ग्वार्डनिनोको निर्देशनमा प्राण बनेर आए आर्मी ह्यामर, तिमोथी सालामे अनि अरु कलाकार। अनि बन्यो कल मि बाइ योर नेम।

परिचय वा आफू हुनुको सक्लो रुप ‘नाम’। आफूलाई सुहाउने आफ्नो भन्दा अर्कोको नाम बन्छ कहिले काँही, सायद जीवनमा विरलै मात्र। तर त्यो पराजय होइन, विजयको माथिल्लो स्वरुप हो। आफूले माया गरेको मान्छेको नामबाट आफू बोलाइनु सम्बन्धको सबैभन्दा स्वादिलो पाटो।

लुका ग्वार्डनिनोले यही स्वादिलो पक्षलाई अधिकांशले वितृष्णाको नजरले हेर्ने समलैंगिक सम्बन्धबाट देखाएका छन्।

१७ वर्षको वयस्क हुँदै गरेको एलिओ र २४ वर्षको ओलिभरबीचको रसिलो सम्बन्धको जीवन्त रुप बेनेको छ चलचित्र। कथा आजभन्दा ३५ वर्ष अघिको भएपनि अहिले र आउने लामो समयका लागि सान्दर्भिक बन्ने छ।

सम्बन्धको यो पाटोलाई लिएर वा यस्तै पेरिफेरिमा यसअघि पनि धेरै चलचित्र बनेका थिए। अधिकांशमा यौनको पाटोलाई मात्रै बढी प्राथमिकता दिएको देखिन्थ्यो।

तर कल मि बाइ योर नेमले यौनलाई भन्दा प्रेमलाई देखाएको छ। र निर्देशक ग्वार्डनिनो एलिओ र ओलिभर मार्फत प्रेमलाई प्रेमकै रुपमा प्रस्तुत गर्न सफल भएका छन्।

जेम्स आइभरीको स्क्रिन प्लेमा एलिओ र ओलिभरको भूमिकामा रहेका तिमोथी र आर्मीले न्याय गरेका छन्। पात्रको कुरा गर्दा एलिओका बुवाको भूमिकामा रहेका माइकल स्टुब्लबर्ग अनि आमाको भूमिकामा रहेकी अमिरा क्यासरले एलिओ–ओलिभर वा ओलिभर–एलिओ सम्बन्धको स्वादमा थप मिठास भरेका छन्।

जरुर, चाँडो बग्ने कथाको बानी परेकालाई यो चलचित्रको कथाको गति केही सुस्त अवश्य लाग्न सक्छ। साइकलमा एलिओ र ओलिभरको यात्रा। संगीत र पुस्तकको कुरा अनि एक अर्काका बारेमा विरलै हुने गफ। तर सबैमा एलिओ र ओलिभर एक अर्कामा देखिन्छन्। चलचित्रको बलियो पक्ष भनेकै धेरै कुरा नगरेरै पात्रलाई एक अर्कामा व्यक्त गराउन सक्नु बनेको छ।

चलचित्रको अन्त्यमा केही यस्ता घटना छन् जसले कथाको मन्द गतिलाई सही बनाउँछ।

चलचित्रको अधिकांश अवधिभर एलिओ–ओलिभर सम्बन्धमा चुप बसेका एलिओका बुवाको अन्तिमको मनोलगले एलिओ जस्तै धेरैलाई उनमा आफ्नो अभिभावकको कल्पना आउँछ । यसले एलिओ–ओलिभर प्रेमलाई यि दुईको मात्रै होइन प्रेमकै बनाएर छोडिदिन्छ।

बैशाख १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्