एक वर्षमै साढे चार खर्ब गुम्यो, यो वर्ष कस्तो हुन्छ सेयर बजार?

काठमाडौं- गत वर्ष पहिलो दिन ४५.५२ अंकले घटेको सेयर बजार वर्ष भरिमा ४१९.५८ अंकले घटेको थियो।

बैशाख ३ गते १६९७.१३ अंकबाट कारोबार सुरु भएको नेप्से परिसूचक वर्षको अन्तिम कारोबार दिन चैत २९ गते १२७७.५५ अंकमा पुगेको हो।

२०७३ साउन १२ गते १८८१.४५ अंकबाट ओरालो लागिरहेको सेयर बजार निरन्तर घटिरहेको छ। निरन्तर नेप्से परिसूचक ओरालो लाग्दा बजार पुँजीकरणमा पनि गिरावट आएको छ।

बजार पुँजीकरणका आधारमा एक वर्षमा सेयर लगानीकर्ताको ४ खर्ब ५९ अर्ब बराबरको सम्पति गुमेको छ। अघिल्लो वर्ष चैत ३१ गते १९ खर्ब ५६ अर्ब रुपैयाँ रहेको बजार पुँजीकरण गत चैत २९ मा १४ खर्ब ९७ अर्ब पुगेको हो।

२०७४ सालमा घटेको बजारमा१ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भयो। वर्षभरि सेयर कारोबार भएका २ सय २३ दिनमा एकै दिन १ अर्ब ३८ करोड रुपैयाँ देखि १४ करोड रुपैयाँ सम्मको सेयर किनबेच भएको थियो।

बैशाख ७ गते नेप्से परिसूचक ३.६८ अंकले ओरालो लाग्दा १ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भयो भने कातिक १३ गते नेप्से परिसूचक ६.८९ अंकले उकालो लाग्दा १४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

वर्षभरिमा १८ दिन मात्र १ अर्ब रुपैयाँ भन्दा बढी रकमको सेयर किनबेच हुँदा ९२ दिन भने ५० लाख रुपैयाँ भन्दा कम रकमको सेयर खरिद बिक्री भएको थियो।

गत वर्ष साउन २३ गते सेयर बजार वर्ष भरिकै उच्च बिन्दुमा पुग्दा चैत १२ गते भने वर्ष भरिकै न्यून बिन्दुमा पुग्यो। साउन २३ गते नेप्से परिसूचक १६६७.९४ अंक र बजार पुँजीकरण १९ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको थियो। यस्तै चैत १२ गते नेप्से परिसूचक ११६८.५५ अंक र बजार पुँजीकरण १३ खर्ब ६८ अर्ब पुगेको थियो।

निर्वाचन अगाडि नयाँ सरकार बने पछि सेयर बजार स्थिर हुने विश्लेषण भईरहँदा बाम गठबन्धनको स्थिर सरकारले पनि नेप्से परिसूचक घट्ने क्रमलाई रोक्न सकेन। गत वर्षका अन्तिम दिनहरुमा श्वेतपत्रको अपवाह फैलाएर सेयर बजार बढाउन खोज्ने र अर्थमन्त्रीको भनाईलाई लिएर बजार घटाउन खोज्ने गिरोह सक्रिय हुँदा सेयर बजार तिब्र उतारचढाव देखिएको थियो।

बजारको वास्तविकता बुझेर भन्दा पनि हल्लाका भरमा लगानी गर्दा सेयर बजार उतारचढाव पूर्ण भएको स्वयम् लगानीकर्ताहरुले पनि स्वीकार गरेका थिए। अघिल्लो वर्षबाटै देखिएको तरलताको समस्या गत वर्ष पनि दोहोरियो। बैंकले ब्याजदर र मार्जिन कलमा कडाई गर्दा सेयर बजार बढ्न नसकेको एक थरिको आरोप थियो। अर्थमन्त्री डा. युवराज खतिवडा देखि नियामक निकाय धितोपत्र बोर्डले सेयर बजारमा सप्लाई बढ्दा बजार बढ्न नसकेको बताउँदा सेयर बजारका धेरै जानकारहरुले उनीहरुको भनाइमा सही थपेका थिए।

नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाको सेयर चार गुणाले बढाउँदा बजारमा सेयरको सप्लाइ बढेको थियो। सेयरबजारको सुक्ष्म अध्ययन र विश्लेषण गर्नेहरुले गत वर्षको सेयर बजारलाई केहि दिनको तिब्र उतारचढाव बाहेक स्वाभाविक भएको बताएका छन्।

बैंक वित्तीय संस्थाको बढ्दो ब्याजदर र सेयरको बढ्दो सप्लाइ कारोबार रकम र बजार बढ्न नसक्नुको कारण भएको उनीहरुको भनाइ छ।

अब के हुन्छ सेयर बजार ? 
अर्थमन्त्री र अर्थ सचिवले पुँजी बजारलाई उत्पादनमुलक क्षेत्रमा लागानीका लागी आवश्यक पर्ने पुँजी उपलब्ध गराउने गरी विकास गर्नु पर्छ भनिरहेका छन्। अर्थको उच्च नेतृत्व पुँजी बजारको पक्ष देखिए पनि सर्टटर्ममा हुने ट्रेडिङको विपक्षमा छ।

देशको वित्तीय अवस्थामा र कम्पनीको वित्तीय अवस्थामा सुधार नभई हल्लाका आधारमा बजारलाई बढाइने र घटाइने प्रवृतिमा अहिलेको सरकारले कडाइ गर्न सक्ने एक मर्चेन्ट बैंकरको भनाइ छ। ‘२०७३ साउनमा नेप्से परिसूचक १८८१.४५ अर्थतन्त्र धेरै राम्रो र गत चैतमा ११६८ अंक अर्थतन्त्र निकै खराब भएर पुगेको थिएन,’ उनले भने।

‘बजार बढ्नु मात्र पर्छ भन्ने समुहले बजार बढाएको थियो, नियामक निकाय र सरकार यस्तो प्रवृतिलाई रोक्न नसक्ने हो भने सेयर बजारको विकास हुन सक्दैन।’

बजारमा देखिएको तरलता समस्या समाधान नहुँदा सम्म सेयर बजार बढ्न नसक्नेमा सेयर लगानीकर्ताहरु पनि सहमत छन्। ‘सेयरमा कमाउनकै लागि लगानी गरेका हौँ, बजार बढोस् भन्ने चाहना त हुन्छ नै,’ एक लगानीकर्ताले भने।

केही दिनदेखि तरलता समस्या कम भएको समाचार सार्वजनिक भए पनि वास्तविक रुपमा तरलता सहज नभएको एक बैंकरको विश्लेषण छ। केन्द्र सरकारले स्थानीय तहमा पैसा पठाए पनि सरकारी खर्च बढ्न नसक्दा तरलता अभाव भएको उनको भनाइ छ।

अर्थमन्त्रालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको बजेट ५० प्रतिशत मात्रै खर्च भएको छ। चैत मसान्तमा सरकारलाई तिरिएको आयकरको तेश्रो किस्ताले पनि बजारमा तरलता अभाव हुने बैंकरहरुको भनाई छ।

सेयर बजार बढ्नु घट्नु सामान्य बिषय भए पनि अहिले बैंकले दिईरहेको ब्याज भन्दा बढी रकम सेयर बजारबाट कमाउने सुनिश्चित नहुँदा सम्म बजार बढ्न नसक्के एक मर्चेन्ट बैंकका उच्च अधिकारी बताउँछन्। उनको भनाइमा सहमति जनाउँदै एक ब्रोकरले भने, ‘हल्लाले बजारलाई एक तह सम्म बढाउन र घटाउन सक्छ तर दीर्घकालीन रुपमा बजार अर्थतन्त्रको अवस्था अनुसार नै चल्छ।’ उनी लगानीकर्ताको मनोबलले बजार उतारचढाव हुने बताउँछन्।

सरकारको सेयर बजार प्रतिको धारणा स्पष्ट भइसकेकाले लगानीकर्ताले एक लेभलको मानसिकता बनाएकाले पनि सेयर बजार तिब्र गतिमा बढ्नु पर्ने खासै कारण नभएको उनको भनाइ छ।

बैशाख १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्