पशुपति क्षेत्रमा नयाँ वर्ष मनाउनेको भीडभाड

काठमाडौं- नयाँ वर्षको पहिलो दिन पशुपति परिसरको दृश्य फरक थियो। पशुपति परिसरका पेटीहरु खाली थिए। स्पिकर बजाउँदै सहयोगको याचना गर्नेहरु थिएनन्। गौशाला प्रहरी बिटदेखि नै सडक पेटी सफा र व्यवस्थित थियो। पशुपतिलाई मगन्ते निषेधित क्षेत्र बनाईए पछि कारुणिक दृश्य देखाएर माग्नेहरु हराउँदै गएका छन्।

विवशताले माग्न बसेकालाई पशुपति क्षेत्र विकास कोषले विभिन्न संघसंस्थासँगको सहकार्यमा व्यवस्थापन गर्दा ‘माग्ने’ पेशा बनाउनेहरु पलाएन भएका छन्।

शनिबार पशुपतिमा भिड हुने दिन। त्यस माथि नयाँ वर्ष। पशुपति क्षेत्र विकास कोषलाई दर्शनार्थी व्यवस्थापन गर्न हम्मे हम्मे थियो।

गौशाला र जय बागेश्वरी तर्फको लाइन पशुपति परिसरको बाउन्ड्री भन्दा बाहिर पुगेको थियो। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकाल भन्दै थिए, हामीले अनुमान गरे भन्दा धेरै दर्शनार्थीहरु आए।’

दर्शनार्थीको चाप बढ्दै जाँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षाकर्मी थपिए। शनिबार पशुपति परिसरमा नेपाल प्रहरीका एक सय, सशस्त्र प्रहरीका साठी र पशुपति क्षेत्र विकास कोषका चालिस सुरक्षाकर्मी खटिएका थिए।

देश विदेशबाट नेपाली नयाँ वर्षको शुभकामना आउँदा २ घण्टा भन्दा बढी समय लाइन लागेर २ सेकेन्ड मात्र पनि भगवान् पशुपतिनाथको दर्शन गर्न दर्शनार्थी आतुर देखिन्थे। मन्दिर भित्र खटिएका सुरक्षाकर्मीले मुस्किलले २ सेकेन्ड मात्र दर्शन गर्न दिंदैं थिए। लाइन छिटो छिटो सरोस भन्ने उनीहरुको चाहना थियो।

नयाँ वर्षको पहिलो दिन भगवान् पशुपति नाथको दर्शन गर्दा वर्ष भरिनै राम्रो हुन्छ भन्ने मान्यताका साथ पशुपति दर्शन गर्न आएको लाईनमा लागेकाहरुको बताएका थिए। युवा, बृद्ध सम्पूर्ण उमेर समुहका मानिसहरु लाइनमा थिए।कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीले केहि वर्ष यता धर्म प्रति मानिसको आस्था बढेकाले अन्य दिन पनि पशुपति दर्शन गर्न आउनेको सख्याँ बढेको बताए।

नियमित भन्दा जुत्ता चप्पल व्यवस्थापन गर्न एउटा मात्र थप व्यवस्था गरिएकाले तिर्थालुलाई सकस भईरहेको थियो।

बिगतका वर्षहरु जस्तै पशुपतिमा माग्नेलाई दिन भनेर चामल ल्याएकाहरु माग्ने नभेट्दा सास्ती व्यहोर्दै थिए। सुरक्षाकर्मीको आखाँ छली माग्न बसेकाहरु नगण्य मात्रामा थिए।

प्रहरीलाई छली लाईन मिचेर दर्शन गर्न जान खोज्ने पनि थिए।लाइनमा लागेकाहरुले फितलो व्यवस्थापन भएको बताए। उनीहरुको भनाई थियो, ‘लाइनमा लागेका मानिस लाइन मै हुने, घुसपैठ गर्नेहरु भने मन्दिर भित्र पुग्ने भए।‘

विगतका वर्षहरुको अनुभवको आधारमा तयारी गरेकाले दर्शनार्थीलाई केहि असहज भएको सदस्य सचिव ढकालको भनाई थियो। ढकालले यस पटक दर्शनार्थीको सख्याँ उल्लेख बृद्धि हुँदा चुस्त व्यवस्थापन हुन् नसकेको बताए।

पशुपतिमा शिवरात्री, तिज, साउनको सोमबार, जनै पुर्णिमा, बाला चतुर्दशी, नयाँ वर्षका दिन बढी भिडभाड हुने गर्छ। यस्तै सोमबार, शनिबार र सार्वजनिक बिदाका दिन पनि नियमित भन्दा धेरै भिड हुन्छ।

बिहान देखि १ लाख ५० हजार भन्दा बढीले पशुपतिमा दर्शन गरेको उनको भनाइ छ। ‘हामीले १ लाखको हाराहारीमा दर्शनार्थी आउने अनुमान गरेका थियौं,’ उनले भने। उनले आगामी दिनमा दर्शनार्थी व्यवस्थापनका लागि पर्याप्त पूर्वतयारी गर्ने प्रतिवद्धता व्यक्त गरे।

बैशाख १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्