मिथिलाञ्चलमा काँचो आप र चनाको सातु खाएर मनाइयो नयाँ वर्ष, भोलि जुडशितल

तस्बिरहरु: प्रतिभा झा

जनकपुरधाम- प्रत्येक वर्ष वैशाख १ गतेको दिन मनाइने नयाँ वर्षमा तराई मधेशमा काँचो आप र सातु खाने परम्परा छ।

मिथिलाञ्चलमा नयाँ वर्ष वैशाख १ गतेका दिन घरको कूल देवतालाई सातु र काँचो आँप (टिकुला) चढाएर खाने गरिन्छ। नयाँ वर्षको अवसरमा सातु, गुड(सख्खर) र आँपको आचार खानाले वर्षभरि स्वस्थ्य रहने जनविश्वास छ। यस्तै, वैशाख १को दिन पानी भर्ने भाँडो, सातु, र घैँटो दान गर्ने परम्परा छ ।

भोलि जुड शितल

वैशाखको दोस्रो दिन घरको ज्येष्ठ व्यक्ति तथा अग्रजको हातबाट टाउकोमा पानी छर्केर जुडशीतल मनाइने छ । श्रेष्ठको हातबाट टाउकोमा पानी राख्नाले वर्षभरि नै शीतलता प्राप्त हुने विश्वास छ ।

जुडशितलमा वटवृक्ष, फलफूल र बाटोमा पनि पानी छ्याप्ने गरिन्छ । तामा वा पित्तलको भाँडोमा बासी पानी राखेर वैशाख २ गते एकाबिहानै बासी भात, करी, बरी, सख्खर लगायतका सामग्री घरको मूल ढोकामा चढाउने र बासी पानी मानिस, पशुधन, रुख, खेत, विभिन्न अन्नबाली, भकारी सबैतिर छर्केर जूडशीतल मनाउने परम्परा रहेको पूर्व प्राज्ञ रामभरोस कापडि भ्रमर बताउँछन्।

शीतलता प्रदान गर्ने उद्देश्यले वैशाख २ का दिन चुलोलाई विश्राम दिदैं उक्त दिन वासी खाना खाने परम्परा छ । वैशाख २ को लागी अनिवार्य रुपमा दहीवडी( दही र वेसन बाट बनाइएको परिकार), मुनगा(सजिना)को तरकारी, काँचो आपको अचार बनाएर १ गते नै राखिने छ । यस्तै, २ गते वैशाखमा मिथिलाञ्चलमा एकअर्कामाथि माटोको हिलो छ्यापेर खेल्ने परम्परा समेत छ ।

पोखरी, इनार, जलाशय, नाला लगायतको पानीको मुहानलाई सफा गरी हिलोयुक्त पानी सडक र वृक्षमा फाल्ने चलन रहेकाले मुख्यरुपमा पानीको महत्व दर्शाउने पर्वको रुपमा जूडशीतल रहेको ज्योतिषआचार्य नरेश मिश्र बताउँछन्। मिथिलाञ्चलमा वैशाख १ र २ लाई लोकसंस्कृतिको निकै महत्वपूर्ण पर्वको रुपमा लिइएको छ ।

तराई मधेसमा आधुनिक रुपमा नयाँ वर्ष मनाउने प्रचलन बढे पनि परम्परालाई भने ग्रामीण समुदायले नबिर्सेको संस्कृतिसँग सम्बन्धित व्यक्तिहरुको भनाइ छ । मैथिली भाषा तथा संस्कृतिमाथि कलम चलाउने साहित्यकार तथा संस्कृतिविद् डा. राजेन्द्र विमलले तराई मधेसको लोकजीवनमा नयाँ वर्षलाई मौलिक रुपमै मनाउने चलन रहेको बताउँछन् ।

नयाँ वर्षः जानकी मन्दिरमा भीड

नयाँ वर्षको दिन जानकी मन्दिरमा पुजा गर्नेहरुको भीड देखिएको छ । नयाँवर्षको अवसरमा बिहानैदेखि मन्दिरमा भीड शुरु भएको पुजारी ऋषिकेश झाले बताएका छन् । जनकपुरको मात्र नभई बाहिर बाहिरबाट पनि श्रद्धालुहरु जानकीजीको आशिर्वाद लिन यहाँ पुगेको झा बताउँछन्।

नयाँ वर्षको दिन पूजाअर्चना गर्न सिन्धुलीबाट जनकपुर पुगेकी रोजलिन तामाङ भन्छिन्। वैशाख १ गते पूजा गर्नाले घरमा वर्षभरि नै सुखशान्तिको प्राप्त हुन्छ । अर्को श्रद्धालु श्रेया बच्छार भन्छिन्, ‘वर्षको पहिलो दिन नै पूजा गरे शुरु गरियो भने वर्षभरि नै माताको आशिर्वाद भेटिन्छ ।

बिहान पूजा गर्ने समय भएकाले अरु दिन पनि भीड रहँदै आएको जानकी मन्दिरमा अपराह्न ३ बजेको चर्कोघाममा पनि पूजा तथा दर्शन गर्नेको संख्यामा कमी आएको देखिएको छैन । अझ साँझतिर विशेष भीड रहने पूजारीहरु बताउँछन् । नयाँ वर्षको अवसर पारेर मन्दिरमा सत्यनारायणको पूजा गरिएको पनि देखिएको छ ।

बैशाख १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्