सिरिया युद्ध

विष नमिसिएको सासको पर्खाईमा छौँ…

बाध्यता–सास फेर्नु पर्ने । अवस्था–बरु रोकिए हुन्थ्यो, सक्दै सकिएन । सास फेर्नु वा बाँच्नु रहर बन्नु पर्ने हो । अनि सपना पनि । तर दुवै बाध्यता जस्तो । रहर–त्यो पनि बाध्यताको, सास फेर्नु भन्दा रोकिए हुन्थ्यो कि भने जस्तो ।

भोग्नेले होइन भूगोलले पर रहेका देख्नेहरु धेरैले मन गुँड्याएर, निमोठेर भावनाहरु सोचेको कुरो हो यो । भोग्नेहरुको मनोदशा अर्कै होला । केही भन्छन्, यस्तो सास फेर्नु भन्दा मृत्यु सजिलो बनाइदिए हुने । अरु केही भन्छन्, झुण्ड्याउनु भन्दा रहर नै नलाग्दो रहरमा चुँडालिदिए हुने जीवन डोरी ।

गएको ८ वर्षदेखि युद्धको चपेटामा रहेको सिरियाली शहरका धेरै बासिन्दाले भोगेको जीवन सत्य यहि हो । न यो जीवन जस्तो छ न सत्य जस्तो ।

भएको भन्दा राम्रो तर सामान्य जीवनको माग गर्दै सन् २०११ को मार्चमा सुरु भएको आन्दोलनले वर्षका सात फेर काट्दा सिरियाली जीवनले धेरै भोगिसक्यो ।

बिद्रोही संगठन इस्लामिक स्टेट, स्थानीय लडाकु समूह, विदेशी सेना अनि त्यो भन्दा पनि बढी आफैले भर गरेको सरकारकै कारण सास फेर्नु भन्दा रोकिए हुन्थ्यो भन्ने अवस्थामा पुगेका छन् धेरै ।

पानी वर्षने, उज्यालो पस्कने आकाशबाट बम खसेको सहे । पत्तो नपाइ आउने गोली पनि भोगेकै हो । यति हुँदा पनि बाँच्ने जिजिविशा चुँडेको थिएन । जब सास फेर्ने हावामै विष मिसियो, बाँच्ने भन्दा जीवनको अन्त्य सजिलो भए हुने जस्तो लाग्न थालेको छ ।

सन् २०१३ को अगस्ट २१ मा पूर्वी गुटामा रसायन आक्रमण भयो । आक्रमण गर्ने बिद्रोही थिएनन् । नागरिकको सुरक्षाको जिम्मेवारी लिएको सिरियाली सरकारले नै हावामा विष मिसायो ।

बम र गोलीको आवाज अनि धुवाँमा डरमा डरजस्तै बनेर जीवन बिताइरहेका धेरैले सास फेर्न सकेनन् । घाँटी थिचिए जस्तो भयो । आँखामा पिरो पस्यो । मुखबाट फिँज निस्कन थाल्यो । डर भन्दा डर लाग्दो थियो त्यो अवस्था । त्यो डर बाचेर आएकोहरुको सम्झना अहिले पनि उस्तै छ ।

पछिल्लो पटक बिद्रोहीको कब्जामा रहेको पूर्वी गुटाकै एक शहर डुमाका बासिन्दाले उस्तै डरको सास फेरिरहेका छन् । रुसी सेनाको सहयोगमा सिरियाली राष्ट्रपति बसर अल–असदको सेनाले गएको फेब्रुअरीदेखि बिद्रोही विरुद्ध भन्दै कारवाही अभियान सुरु गरेको छ । निशाना बिद्रोहीलाई बनाउने भनिए पनि मर्कामा सर्वसाधारण नागरिक परेका छन् ।

पूर्वी गुटाको अधिकांश क्षेत्रमा सरकारी सेनाले आफ्नो नियन्त्रण कायम गरेको छ । अब बाँकी डुमा मात्रै हो । सरकारको जितको उत्सवका लागि बाधा बनेको डुमाका बासिन्दाको जीवन हार भन्दा भयानक बनेको छ ।

बाहिरी घेरामा हतियार बोकेका सरकारी सेना भित्र शहरमा उस्तै बिद्रोही । खाना छैन, पानीको पनि उस्तै हाहाकार । चोट लागेका ठाउँमा लगाउने औषधि पनि छैन । तैपनि बाँचेकै थिए । तर गएको शनिकार जेनतेन जीवन धान्न सास फेरिरहेको हावामा पनि विष मिसियो । नलिउँ बाँच्नु पर्ने बाध्यता लिउँ सास होइन मृत्यु बन्ने हावा ।

हुर्के बढेका, ठिटा तरुना तर भागे, मुख छोपे अनि पानी भए तिर लागे । हिँड्नकै लागि सहारा चाहिने अनि सास फेर्न पनि सिक्दै गरेका बालबच्चाको अवस्था भने दनिय बन्यो । रुँदै, कराउँदै, फिँज निकाल्दै केहीले पीडाले सास फेर्न छोडे । केहीले उस्तै समस्याले सास फेरे ।

गएको शनिबार डुमामा भएको रसायन आक्रमणमा ७० जना भन्दा धेरैको ज्यान गयो । यसमा बालबालिकाको संख्या धेरै छ । विश्वश्वास्थ्य संगठनले उपचार गराइरहेका पाँच सय जनामा रसायन आक्रमण भएको हुन सक्ने बताएको छ ।

सिरिया सरकारलाई सहयोग गर्दै आएको रुसले यो आक्रमण गरेको आरोप लागेको छ । तर रुसले आरोप अस्वीकार गरेको छ । आरोप प्रत्यारोपको खेलमा चेपुवामा परेका छन्, डुमाका निर्दोष बासिन्दा ।

रसायन आक्रमणपछिका तस्बिर र भिडियो सार्वजनिक भए । सिरियाबाट फैलिएर विश्वको नजर पर्‍यो त्यो पीडामा । रुँदै गरेका बालबच्चा । फिँज काडेका जीवन बिहीन मानिसहरु । देख्दा जीवनलाई जीवनकै भर लागेन ।

डुमामा भएको रसायन आक्रमणपछि विश्वको ध्यान त खिचियो । कुरा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा रसायन आक्रमणका बारेमा छानबिन गर्नु पर्ने भन्दै प्रस्ताव पेश भयो । तर यो प्रक्रियामा डुमा बासिन्दाले आश गर्ने उज्यालो भने देखिएको छैन वा संकेत नै पाइएको छैन।

डुमाको रसायन आक्रमण र त्यहाँका बासिन्दाको पीडा पछिल्लो समय बिग्रिँदै गएको अमेरिका–रुस सम्बन्धको पछिल्लो टकरावको माध्यम बनेको छ । रसायन आक्रमणपछि सिरिया मामिलामा रुस एकातिर अमेरिकासहितका पश्चिमा देश अर्को तिर भएका छन् । अमेरिकासहित पश्चिमा देशले रसायन आक्रमणलाई लिएर रुस तथा उसका सहयोगी जो सिरिया युद्धमा गठजोड गरिरहेका छन्, उनीहरुलाई चेतावनी दिँदै आएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस तथा उसका सहयोगीलाई चेतावनी दिँदै सिरियामा उनीहरुलाई लक्षित गरेर मिसाइल सुरु भएको घोषणा गरिसकेका छन् । यस्तै अमेरिकाले सिरियामा रुस तथा उसका सहयोगी विरुद्ध सैन्य आक्रमणसहितका सबै विकल्प खुल्ला रहेको बताएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले पनि सिरिया तथा रुसका रसायन अखडालाई लक्षित गरी आक्रमण भएको बताएका छन् ।

सिरिया युद्ध सुरु भएदेखि नै अमेरिकासहितका पश्चिमा देश कुर्दिस तथा स्थानीय लडाकु समूहको पक्षमा रहेका छन् । रुस भने राष्ट्रपति बसर अल–असदको पक्षमा रहँदै कारवाही अभियानमा साथमा रहेको छ ।

अहिले अमेरिकासहितका देशले सैन्य कारवाही सुरु गरेका छन् । रुस तथा सिरियाले अमेरिकासहितका देशको मिसाइल आक्रमण अन्तर्राष्ट्रिय कानुनको उल्लंघन रहेको बताएको छ ।

यो आक्रमणको चेतावनी र त्यो नगरे राम्रो नहुने भन्ने दुई पक्षको लडाईंमा चेपुवामा पर्ने उही रसायन आक्रमणको मारमा परेका डुमा बासिन्दा अनि त्यो भन्दा बढी सिरियाली नागरिक हुन् ।

उनीहरुलाई अहिले सजिलोसँग सास फेर्न पाउने अवस्थाको खाँचो छ । न कि अर्को युद्धको डर । त्यो पनि हुन नसके बाँचिरहने डर भन्दा शान्त बन्ने जीवन रहित जीवन यात्रा सिरियालीको रोजाई बन्न सक्छ । साँच्चै जीवन दिने हो भने, उनीहरुलाई खाना भन्दा पहिले विष नभएको सास चाहिएको छ ।
एजेन्सीहरुको सहयोगमा

बैशाख १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्