युनाइटेडको खेल हेर्नु भन्दा गल्फ खेल्दै म्यानचेस्टर सिटीका प्रशिक्षक

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवला र समग्र सिटीका खेलाडी तथा समर्थकका लागि प्रिमियर लिग फुटबलमा आइतबार राति हुने खेल निकै महत्वपूर्ण छ ।

शनिबार राति भएको खेलमा टोटनह्यामलाई ३–१ ले हराएको सिटीको खेल आइतबार राति छैन । तर उसका लागि आइतबार राति हुने म्यानचेस्टर युनाइटेड र वेष्ट ब्रोमबिचको खेल महत्वपूर्ण छ । यो खेलमा जोसे मोरिन्होको टिम युनाइटेड पराजित भएमा सिटीले प्रिमियर लिगको उपाधि पक्का गर्नेछ ।

युनाइटेड पराजित नभएमा उपाधिका लागि सिटीले आउँदो हप्ता पर्खनु पर्नेछ । सिटीलाई उपाधिका लागि कि म्यानचेस्टर युनाइटेडको हार चाहिएको छ कि त अब एक जित ।

तर यो महत्वपूर्ण खेल हेर्नुको साटो सिटीका प्रशिक्षक गार्डिवलाले आइतबार गल्फ खेल्ने भएका छन् । उनले भने, ‘म मात्रै गल्फमा जित चाहन्छु ।’

गार्डिवला आइतबार बेलुका छोरासँग गल्फ खेल्दै छन् । उनले भने, ‘हुन सक्छ म्यानचेस्टर युनाइटेडले जित्ने छ । हामी हाम्रै खेलमा भर पर्नु पर्छ ।’

सिटी दोस्रो स्थानको म्याचेस्टर युनाइटेड भन्दा १६ अंकले अघि रहेको छ । युनाइटेडले लिगमा ६ खेल खेल्न बाँकी छ । गार्डिवलाले अरुको नतिजामा आधारित भन्दा आफ्नै मैदानमा उपाधि जितेको खुशी मनाउन चाहेको बताए ।

बैशाख २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्