भक्तपुर – भक्तपुरको ऐतिहासिक नगर मध्यपुरथिमीमा मनाइने बिस्केट जात्रा अन्तर्गतको ३२ खटसहितको सिन्दुर जात्रा मनाइएको छ । नेपाल भाषामा सुथः सिया भनिने जात्रा नयाँ वर्षको भोलिपल्ट आइतबार बिहान उल्सासका साथ मनाइएको हो ।

बिस्केट जात्राको अवसरमा मध्यपुरथिमीका बासिन्दाले हरेक वर्ष वैशाख २ का दिन विभिन्न देवी–देवताको ३२ वटा खटसहितको सिन्दुर जात्रा मनाउने परम्परा छ ।

केही वर्षअघिसम्म ३२ खट नगरपरिक्रमा गराउने गरिएको भएपनि पछिल्ला केही वर्ष खटको संख्या कम हुँदै गएको छ ।
सिन्दुर जात्रामा बालकुमारी, कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको छ ।

सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु हुन्छ । जात्रा सुरु भएपछि हातहातमा चिराग अर्थात बत्ति लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोल स्थित देवता घर परिक्रमा गराइन्छ ।

जात्रामा थिमीको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै बाजागाजासहित बिस्केट जात्रा मनाइएको छ ।

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बालेर अबिर जात्रा मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट अबिर छर्ने, फूल बसाएर स्वागत गर्ने प्रचलन छ ।

परम्परा अनुसार नै देवता लायू दरबार भित्र पस्न नपाउन भनेर लायकू प्रवेश द्धारमा बाटो छेकेर पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरु देवताका गणहरु बाटो छेकेर बस्ने परम्परा रहेको छ ।