खुट्टा नभएर के भो, जिउने तरिका सिकेको छु

चूडामणि राजवंशी आफ्नो पसलमा काम गर्दै। साथमा उनकी श्रीमती अनिता। तस्बिरहरु: सुलभ श्रेष्ठ

जिन्दगी यस्तै रहेछ, कहिले दुख कहिले सुख।

अधिकांशको मुखबाट निस्कने र सुन्दा सामान्यजस्तै लाग्ने भनाइ हो यो। झापाको बिर्ताबजारबाट आएर ललितपुरको सानेपामा कल चलाउँदै आएका चूणामणि राजवंशीलाई भने जिन्दगी दुःख भए पनि मेहनतको पाटो हो। सुख दुःख त आइरहन्छ।

उनले यसो भनिरहदा छेउमा रहेकी श्रीमतीको मौन समर्थन थियो यसमा, सामान्य हाँसोका साथ।

ललितपुरको सानेपा। व्यस्त बाटो। बाटोको छेउमा एक सानो सटर कोठा। सटरकै छेउमा १ जोडी बैशाखी। भित्र कपडा सिउने ३ वटा कल। २ वटा चुपचाप छन्। एउटा भने छेउमै रहेको रेडियोको गीतसँगै खरखरखर गरेर चलिरहेको छ। र, भित्ताभरि उनले नै बनाएका फरकफरक आकार र डिजाइनका झोला।

बिहान ७ बजे पसल खोलेदेखि नै झापाका चूणामणि राजवंशीको दिन यही कल र कपडासँग बित्ने गर्छ। उनलाई साथ दिन्छिन् श्रीमती अनिता राजवंशी। चाहे त्यो भान्सामा मिठो खुवाएर होस् वा पसलमा सघाएर। साथमा छन १२ वर्षकी छोरी चाँदनी र ७ वर्षका छोरा आयुष।

‘अनिता…ए अनिता। आएर यो धागो काट त,’ उनले यसोभन्दा भित्र अर्को कोठमा रहेकी श्रीमती अनिता सके आफैँ आउँथिन्, नभए छोरा वा छोरी आइपुग्थे सघाउन।

चूणामणिको दैनिकी हो यो, सम्मानपूर्वक जिन्दगी जिउने आधार।

बाटोमा गुड्ने गाडीको आवाजलाई छिचोल्दै छेउमै रहेको रेडियोबाट बज्ने गीत। त्यो गीतभन्दा सायद कलबाट निस्कने आवाज मिठो छ उनलाई।

सडकमा गुड्ने गाडी र कलबाट निस्कने आवाज भन्दा बुलन्द छ उनको मनको आवाज। अझ भनौँ आत्मबल।

सानै भएपनि उनीसँग आत्मबल त्यतिबेला पनि थियो जब १२ वर्षको हुँदा २०४५ सालमा झापा बिर्ताबजारबाट उनी काठमाडौं आए। उनकै शब्दमा “मात्र ८ कक्षा” सम्म पढे अनि काठमाडौं आए। त्यसपछि उनी र उनका दाइ मिलेर यही हस्तकलाको काम सुरु गरे, आफ्नै कम्पनी खोलेर।

सुरुमा आम्दानी राम्रो नै थियो तर त्यसले निरन्तरता पाउन सकेन। अझै बढी कमाउने आश र विदेश जाने रन्कोले उनको मनमा जरा गाड्यो।

आजभन्दा ७ वर्षअगाडि आफ्नै काका मार्फत ३ लाख ५० हजार तिरेर उनी साउदी अरब गए। तलव महिनाको ८० हजार। काम ठूलाठूला भवनमा रङ लगाउने।

परदेशको काम, गएको तीन महिना भएको थियो। सुरक्षाका उपकरणबिनै उनी भवनको ३ तलामा रङ लगाइरहेका थिए। उनि त्यहाँबाट खसे।

साउदीकै अस्पतालमा गए, डाक्टरले चोट सामान्य भने। काममा फर्किए। तर निको भयो भनिएको घाउ ७ महिनापछि फेरि बल्झियो, खुट्टा सुन्नियो। गएको १० महिनामा नै नेपाल फर्किए। नेपालमा आएर डाक्टरलाई देखाउँदा क्यान्सर भएको थाहा भयो। अनि घाउ भएको बायाँ खुट्टा काट्नु पर्‍यो। उनको बायाँ खुट्टा चारपटक काटियो।

दायाँ खुट्टा सग्लै छ। र, त्यो भन्दा सग्लै छ उनको आत्मबल र सम्मानपूर्वक जिन्दगी जिउने आधार, पेशा उही पुरानो कलमा झोलासँगै जीवन सिउने।

पाचँ वर्षअगाडि अन्तिम पटक खुट्टा काटेर अस्पतालबाट बाहिर आएको १७ दिनबाट नै उनले यो काम सुरु गरे। सुरुमा त गाह्रो भयो तर अस्पतालमा अरुको देख्दा मलाई मात्र होइन रहेछ भन्ने सोचले उनको आत्मबल बढ्यो। ‘केही हुँदैन हिम्मत नहार्नुहोस्’ खुट्टा काट्दा डाक्टरले भनेको यो कुरा अझै सम्झिन्छन् उनी।

हुन त खुट्टा काट्दा उनलाई डर नलागेको हैन तर बाँच्न पाए केही गर्छु भन्ने आँटले नै अहिले उनले यहाँ सम्मानपूर्वक जीवन जिएका छन्। र, अरुलाइ पनि सिकाएका छन उनले।

केटाकेटी सानै थिए। सुरुमा त दुख नलागेको हैन अनिता राजवंशीलाई। तर श्रीमानलाई साथ दरो खम्बाजस्तै गरी दिइन् उनले। र, अहिले पनि त्यो साथ बलियो एक खम्बाजस्तै छ।

त्यतिबेला त्यो साथ अस्पतालमा थियो र अहिले यो पसलमा छ। पूर्ण रुपमा सिलाउन त आउँदैन तर तुनतान गर्न र पसलमा आउने ग्राहकलाइ सामान बेच्न भने उनले सघाउँछिन्।

‘जे हुनु भइसक्यो अब त्यो सम्झेर के गर्नु,’ मन गरुंगो बनाएर उनले भनिन्, ‘सबै बिर्सिसकियो, अब खुशी छौँ।’

भन्दै गर्दा सानो तर अर्थपूर्ण हाँसोले त्यो कुरा बताउँथ्यो।

चूणामणि राजवंशीले आफ्नो जिन्दगी अर्थपूर्ण बनाएका छन्। परिवारका सबैको साथ पाएका छन्। छोरी अब ७ कक्षामा पढ्दै छिन्। छोरा २ कक्षामा। फुर्सदको बेला उनीहरु बुबालाई पसलमा सघाउन आइपुग्छन्।

आफू त पढ्न सकिएन। छोराछोरी पढाउँछु भन्ने अठोट बलियो छ उनको। ‘आम्दानी पनि राम्रो नै हुन्छ पसलबाट, अलिअलि बचाएको छु,’ उनले भने।जुन परदेशमा गएर उनले खुट्टा गुमाए, त्यस्तै परदेशका लागि उनी अहिले यहीँ बसेर झोला बनाउँछन्। यी झोला ठमेल हुँदै विदेश जान्छन्। यसको मूल्य उनको पसलमा १०० रुपैयाँदेखि १५०० रुपैयाँसम्म छ।

तर त्यो भन्दा मूल्यवान छ उनको त्यो हिम्मत जसरी उनले जिन्दगी जिउने तरिका खोजे। जिन्दगी जिउने तरिका सिकाए।

भिडियो: सुलभ श्रेष्ठ

बैशाख २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्